Comments Add Comment

नेपाली सेनाको क्यान्सर निको पार्न अझ कठोर हुन्छु

२४ भदौ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा देखिएको क्यान्सर निको पार्ने बताएका छन् । यसका लागि आगामी वर्ष आफू अझ कठोर हुने भन्दै उनले सकल दर्जालाई पहिल्यै सचेत गराएका छन् ।

नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले आफ्नो एक वर्षे अनुभव सुनाए । जर्जर महलको तीन वर्षे हाकिम भएर विदा हुनुभन्दा सुरुमै आवश्यक मर्मत सम्भार गर्नुपर्छ भनेर आफूले सुधार अभियान थालेको उनले बताए ।

‘परम्परागत शैलीबाट संगठन चलायौं भने हामी त सेवानिवृत्त भएर जान्छौं तर निकट भविश्यमा कुनै एक दिन फर्किन नसक्ने गरी समस्याहरुको भूमरीमा परी टाउकोमा हात राखेर बस्नुपर्छ अवस्था तपाईंहरुले भोग्नुपर्नसक्छ,’ उनले भने । सुधार अभियान सुरु गर्दा एक वर्षको अवधि धान्न चुनौतीपूर्ण होला भन्ने आफ्नो विश्लेषण रहेपनि संगठनमा देखिएको उत्साह र सकारात्मक प्रभावले थप एक पाइला अगाडि बढ्न हौसिएको बताए ।

शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण तर सेनामा घट्दो आकर्षणलाई रोक्न एक मात्र विकल्प भएको उनले बताए । यसले सेवारत जर्साबहरुलाई बाधा पुगेको हुनसक्ने भए पनि सबैले सहयोग गरेको थापाले बताए ।

संगठनको समस्याका रुपमा भर्ना प्रक्रियामा भनसुन, घरकाज, अपारदर्शी खर्च, कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गर्ने विषयलाई  पहिल्याएको उनले बताए । ‘जहाँ समस्या छ, त्यहाँ औषधि सर्जरी गर्दैनौं भने निको कसरी हुन्छ ?’, सेनापति थापाले भने, ‘केही समस्या नियमित अभ्यासले संस्थागत भएको होला । र, यो समाधान गर्न केही समय पनि लाग्न सक्छ ।’

उनले अघि भने, ‘केही घाउ खटिरा हुनसक्छन् । घाउका रुपमा केही अवशेष र क्यान्सर बाँकी रहृयो भने त्यसले नेपाली सेनालाई सदा दुःख दिइरहने छ ।’

यो पनि पढ्नुहोस पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक

तर, आफूले हिरो बन्न वा सस्तो लोकप्रियताका लागि प्रणाली र पद्धतीमा सुधार प्रयास नथालेको उनले बताए । ‘मसँग धेरै सहज बाटाहरु पनि थिए र, अझै पनि छन् । तर मैले कठिन भएपनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु,’ उनले भने, ‘बाधा व्यवधानहरु पच्छाएर, गलत पद्धती विकास हुन नसक्ने गरी सम्भावित उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु ।’

यसका लागि आफू अझ कठोर हुने उनले बताए । सेनापति थापाले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु ।’

‘शल्यक्रिया गर्नुपर्ने घाउलाई हृयाण्डिप्लास्ट वा टालोले छोप्न खोज्नु समयको बर्बादीमा मात्र हो । त्यसैले ओखती मात्र होइन, शल्यक्रिया आजबाट सुरु गरौं ।’

उनले अरुले गरेको गल्ती, कमजोरी वा अनैतिक लाभको पापको भारी मैले किन बोक्ने ? एकाध व्यक्तिले गरेको अपराधका कारण सेनाको प्रतिष्ठामा आँच आउन किन दिने ? एकाध व्यक्तिका कारण संगठन किन बद्नाम हुने ?’ भन्ने प्रश्न गरे ।

अझै पनि सच्चिनेहरुलाई कुर्न धर्य आफूसँग रहेको भन्दै उनले प्रश्न गरे, तर कहिलेसम्म ?

प्रधानसेनापति थापाले कार्याकालको अन्तिम वर्ष नेतृत्व हस्तान्तरणमा केन्द्रित रहने भन्दै त्यसअघि नै संगठनको क्यान्सर निको पार्ने आफ्नो लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment