 
																			२४ भदौ, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका केही पदाधिकारीहरुलाई बिरोधकै बीच शपथ ग्रहण गराइएको छ ।
पदाधिकारी चयनप्रति असन्तुष्टी जनाउँदै बिरोध गरेका नेता÷कार्यकर्ताहरु घर फर्केपछि नेकपाले केही पदाधिकारीहरुलाई राति शपथ ग्रहण गराएको हो ।
नेतृत्व वर्गले सदस्य नै नभएका व्यक्तिहरुलाई पदाधिकारीसम्म बनाएको भन्दै शपथ ग्रहण स्थलमा नाराबाजी गर्दै कुर्सी तोड्फोड गरेका थिए । आक्रोशित नेता÷कार्यकर्ताले प्रदेश अध्यक्ष प्रभू साह र सचिव सुमनराज प्याकुरेलमाथि हातपातको प्रयास समेत गरेका थिए । दुईतर्फी झड्प नियन्त्रण गर्न आएको प्रहरीले लाठी चार्ज गर्दा सप्तरी निवासी प्रदेश सदस्य देबनाथ यादवको टाउको समेत फुटेको थियो ।
दुईतर्फी झड्पपछि असन्तुष्ट नेता÷कार्यकर्ताले शपथ ग्रहणस्थलमा साँझ ६ः३० बजेसम्म धर्ना दिएका थिए । उनीहरु धर्ना सकाएर घर फर्के लगत्तै उपस्थित पदाधिकारीलाई शपथ ग्रहण गराइएको छ ।
‘प्रदेशका नेतृत्व वर्ग पार्टीको नीति, निर्देशन बमोजिम शपथ ग्रहण गराउन लाग्दा हामीले बिरोध गरेका हौं’ नेकपा सप्तरीका सचिव गोबिन्द न्यौपानले भने, “हाम्रो बिरोधलाई वेवास्ता गर्दै गरिएको शपथ ग्रहणको कुनै अर्थ छैन् ।”
प्रदेश सांसद समेत रहेका न्यौपानेले साँझ अबेरसम्म पनि शपथ ग्रहण हुन नदिएको र आफूसहित सप्तरी जिल्ला कमिटिका ८५ जना सदस्य फर्केपछि शपथ ग्रहणको आयोजना गरिएको बताए ।
सप्तरीका नेकपा अध्यक्ष अशोक मण्डल ‘अमर’ भने शपथ ग्रहण समारोहमा सहभागी भएका छन् । राति अबेर भएको शपथ ग्रहणमा सहभागी हुँदै आफूले शपथ ग्रहण गरेको प्रतिकृया दिएका छन् ।
सिरहाका जिल्ला अध्यक्ष रामकुमार यादव पनि शपथ ग्रहणमा सहभागिता जनाउँदै शपथ लिएको बताए । उनले कुनै पनि ठाउँमा बिद्रोही रहने गरेको भन्दै पछि सबै कुरा मिल्ने बताए ।
शपथ ग्रहणका निम्ति आयोजना गरिएको कार्यक्रममा प्रदेश इन्जार्च सत्यनारायण मण्डलले पदाधिकारीलाई शपथ ग्रहण गराएका छन् । प्रदेश अध्यक्ष प्रभू साहको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुमनराज प्याकुरेलले संचालन गरेका थिए ।
नेकपाले प्रदेश २ को आठै जिल्लाका पदाधिकारीहरुको शपथ मंगलबार बर्दिवासमा गराउने कार्यक्रम तय गरेको थियो । पछि विवाद हुँदा ६ जिल्लाको स्थगित गरेर सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने जनाएको थियो ।
जिल्लास्तरका नेताहरुले सम्बन्धित जिल्लामै शपथ ग्रहण गर्नुपर्नेमा नगरी बाहिर गर्नुले जिल्लालाई वेवास्ता गरेको समेत बताएका छन् । पूर्व मन्त्री उमेश यादवले जिल्लास्तरमा शपथ ग्रहण नगरेपछि जिल्लाको बैठक कहाँ गर्ने ? भनी प्रश्न गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4