Comments Add Comment

तरुण दलमा अध्यक्ष र महासचिवद्वारा एकले अर्काको निर्णय बदर

२५ भदौ,काठमाडौं । महाधिवेशनबाट निर्वाचित भएको ३ वर्षसम्म चार पदाधिकारीमा सीमित कांग्रेस भातृ संगठन तरुण दलभित्र कार्यकाल समाप्ति हुने बेला निषेधको राजनीति शुरु भएको छ ।

तरुण दल अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकले अर्काको अस्तित्व अस्वीकार गर्दै तल्लो तहमा अलग अलग परिपत्र पठाएका छन् । बस्नेतले महासचिव शाहीले गरेका निर्णय र सर्कुलर अवैध घोषणा गरेलगत्तै महासचिव शाहीले विज्ञप्ति जारी गरी अध्यक्ष बस्नेतका अवैध निर्णय अस्वीकार गर्न आह्वान गरेका छन् ।

अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निटक हुन् भने महासचिव शाही रामचन्द्र पौडेल समूहका हुन् । त्यस्तै उपाध्यक्ष उत्तम चापागाई कृष्ण सिटौला समूह र कोषाध्यक्ष विद्वान गुरुङ खुमबहादुर खड्का समूहका हुन् । तीन वर्षअघि भागबण्डाबाट पदाधिकारी चयन भए पनि ९५ सदस्यीय केन्द्रीय समिति अहिलेसम्म मनोनयन भएको छैन ।

कार्यकाल सकिन एक महिना बाँकी रहँदासम्म तरुण दल अध्यक्ष बस्नेतले कुनै काम नगरेको र तरुण दलको गरिमा समाप्त पारेकाले भ्रष्टाचारबिरुद्ध अभियान चलाउन आफूले देशब्यापी सर्कुलर गरेको शाहीले बताए । अध्यक्ष बस्नेतले भ्रष्टाचारबिरुद्ध अभियान चलाउन अस्वीकार गरेकाले आफूले नेतृत्व लिनु परेको उनको भनाइ छ ।

तर अध्यक्ष बस्नेतले भने शाहीलाई आफ्नो पदीय जिम्मेवारीमा परिधीमा रहन र संगठनको हित विपरीत अशिष्ट व्यहवार तथा क्रियाकलाप नगर्न सचेत गराएका छन् । उनले पनि विज्ञप्तिमार्फत शाहीले आफ्नो पदिय काम, कर्तव्य विपरीत अनधिकृत रुपमा गरेको निर्णय अस्वीकृत भएको जनाएका छन् ।

यसबीचमा शाहीले महासचिवको हैसियतले तरुण दल सिन्धुपाल्चोकका तत्कालिन उपाध्यक्ष गुण्डा नाइके सगुन श्रेष्ठको निश्कासनको कारवाही फिर्ता गरेका थिए । त्यस्तै तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई मनोनयन गरेका थिए । अध्यक्ष बस्नेतले दुवै निर्णय बदर गरेका छन् ।

यता शाहीले बुधवारै विज्ञप्ति जारी गरी तरुण दल अध्यक्षको हवाला दिएर अबदेखि कुनै पनि अवैधानिक र एकल निर्णय गर्ने अधिकार बस्नेतलाई नरहेको बताएका छन् । उनले अध्यक्षले एकलौटी गरेका सम्पूर्ण निर्णयहरु आजैदेखि खारेज गरिएको जनाएका छन् ।

महासचिव शाहीले अध्यक्ष अराजनीतिक ढंगले प्रस्तुत हुने र कतिपय साथीहरुलाई हातपात समेत भएको भन्दै छलफलको वातावरण समेत नबनेको बताएका छन् । पार्टीले तीन वर्षसम्म तरुण दललाई पूर्णता दिन नसकेकोमा सभापति शेरवहादुर देउवाको नालायकी झल्किएको भन्दै उनले पार्टीका भातृ संगठन लथालिंग पारेर जागरण अभियान चलाउनुको कुनै औचित्य नरहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment