Comments Add Comment

प्रदेश सांसदले सोधे : प्रधानमन्त्रीको उपचार खर्चको स्रोत के हो ?

२५ भदौ, विराटनगर । प्रदेश १ को प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्चबारे प्रश्न उठाएका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद केदार कार्कीले प्रधानमन्त्रीको स्वास्थ्य उपचार खर्चको स्रोत के हो भनी प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर फर्कनुभयो । उहाँको स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रदेश सांसद कार्कीले भने, ‘सुनिदैछ, प्रधानमन्त्रीको सिंगापुरमा उपचारका लागि तस्करहरु पैसा बोकेर सिंगापुर पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य उपचारको खर्चको स्रोत के हो ? प्रधानमन्त्रीको उपचार गर्दा कराडौं रुपैया कहाँबाट आयो ?’

सांसद कार्कीले सानालाई ऐन र ठूलालाई चयनको अवस्था आउन नहुने तर्क समेत गरे ।

सत्तापक्षका सांसद विमल कार्कीले खेतीको सिजनमा मल उपलब्ध गराउन नसक्ने कृषि सामाग्री संस्थान, साल्ट ट्रेडिङलगायतका संस्थानलाई अनुदान दिनुको औचित्य नभएको भन्दै खारेजीको माग गरे ।

सांसद कुलप्रसाद साम्बाले उर्लाबारी नगरपालिकामा मेयर र उपमेयरबीचको द्वन्द्वले नगरपालिकाको काम कारवाही प्रभावित भएको भन्दै स्थानीय तहमा देखिएको विवाद समाधानका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।

बैठकमा पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे जबेगुले समितिको बार्षिक प्रतिवेदन पेश गरेकी छन् ।
त्यसैगरी प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि सत्तापक्ष र प्रतिपक्षका प्रदेश सांसदहरुले संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिएका थिए ।

सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एकल तथा संयुक्त रुपमा १० जनाले विधेयकमाथि संशोधन दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment