Comments Add Comment

प्रदेश २ को नाम र राजधानीमा कुन दलको प्रस्ताव के ?

संशोधन दर्ताको समय सकियो

२५ भदौ, जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानीका विषयमा संशोधन प्रस्ताव दर्ता गर्ने समय सकिएको छ । यस अवधिमा दलगत रुपमा र सांसदहरुले व्यक्तिगत र समूहगत रुपमा विभिन्न प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा ५ भदौमा प्रदेशसभामा रहेका दलहरुले दलगत रुपमा प्रस्ताव दर्ता गराएका थिए । प्रदेशको नामको सवालमा सत्तारुढ समाजवादी–रावपाले मधेश, नेकपाले जानकी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा र कांग्रेसका केही सांसदले मध्य मधेश राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।

स्थायी राजधानी राख्ने बिषयमा सत्तारुढ समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्व पश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको छ ।

नेकपाले प्रदेशको राजधानी पुरै धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेको छ भने कांग्रेसले स्थायी राजधानी जनकपुर उप–महानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

वीरगंजका सांसदहरुले भने पार्टीको निर्णय विपरीत आफ्नो छुट्टै प्रस्ताव दर्ता गराउँदै वीरगंज महानगरपालिकालाई राजधानी बनाउनुपर्ने माग गरेका छन् । वीरगञ्जबाट प्रतिनिधित्व गर्ने समाजवादी पार्टीका सात जना र विपक्षी नेपाली कांग्रेसका चार जना सांसद पार्टीको निर्णय विपरीत प्रस्ताव दर्ता गराएका हुन् ।

सांसदहरुको व्यक्तिगत प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टीका सांसद शारदा थापा र सीता गुरुङले भने प्रदेशको नाम जानकी हुनुपर्ने भन्दै संशोधन दर्ता गराएका प्रदेशसभा सचिवालयका प्रबक्ता अवधकिशोर कुसवाहले जानकारी दिए ।

यस्तै नेकपाका सांसद रामचन्द्र मण्डलले प्रदेशको राजधानी जनकपुरधाम मात्र रहने भन्दै संशोधन दर्ता गराएका छन् । नेकपाकै अर्का सांसद किशोरी साह ‘कमल’ ले जनकपुरधाम सोको क्षेत्र परिक्रमा मार्ग, ढल्केवरसहित सम्पूर्ण धनुषा जिल्ला राजधानी बनाउनुपर्ने भन्दै संशोधन दर्ता गराएका छन् ।

दल र सांसदहरुले आ–आफ्नो अनुकुलको नाम प्रस्ताव गरे पनि नाम र स्थायी राजधानीका लागि चाहिने दुई तिहाई कसैसँग छैन । सत्तारुढ समाजवादीको ३०, राजपाको २५, नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादीका एक जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment