Comments Add Comment

भू-क्षय रोक्न विश्वव्यापी अभियान थालौं : वनमन्त्री बस्नेत

२६ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू-क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

भू-क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्ने उनको जोड छ । भूमियोग्य जमिनको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौं मानिसहरुको जीविकामाथि गम्भीर असर परिरहेको चर्चा गर्दै बस्नेतले यो चिन्ताको विषय भएको उल्लेख गरे ।

उनले भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमीकरणबाट जोगाउन सामूहिक रुपमा दीर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गर्नुपर्ने विचार व्यक्त गरे । कुनै एक मुलुकले चाहेरमात्र मरुभूमीकरणको विकराल अवस्थासँग जुध्न नसकिने भन्दै त्यसका लागि सामूहिक प्रयास र सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।

सेप्टेम्बर २ मा सुरु भएर १३ सम्म चल्ने बैठकको उच्चस्तरीय सत्रमा नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको सम्मेलनमा नेपालसहित विश्वका ८९ मुलुकका वन तथा वातारणमन्त्री तथा केही मुलुकका राष्ट्र र सरकार प्रमुखसमेत सहभागी छन् ।

नेपाल सन् १९९७ मा ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्र’ को सदस्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment