Comments Add Comment

तिलोत्तमा लगानी सम्मेलन : ७ प्रदेशकै मुख्यमन्त्री र अर्थमन्त्री सहभागी हुने

२६ भदौ, बुटवल । स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु रुपन्देहीको तिलोत्तमामा जमघट हुने भएका छन् ।

आउँदो असोज ९ गते तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीबीच लगानी भित्र्याउने सम्बन्धमा संयुक्त छलफल गर्न जम्मा हुने कार्यक्रम तय भएको हो ।

सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यलगायतको पनि सहभागिता रहने छ ।

‘सम्मेलनको अघिल्लो सांझ सबै मुख्यमन्त्रीहरुबीच संयुक्त छलफल हुन्छ, पाँचजना मुख्यमन्त्री आउने निश्चित भइसक्यो,कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीसँग पनि सम्पर्क हुँदैछ,’ लगानी सम्मेलनका संयोजक बासुदेव घिमिरेले भने, ‘सम्मेलनको दिन संघीय अर्थमन्त्री, पर्यटन मन्त्री र सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुबीच छलफल हुन्छ ।’

सम्मेलनका दिन हुने छलफलमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो,२ का विजयकुमार यादव, ३ का कैलाश ढुंगेल, गण्डकीका किरण गुरुङ, ५ का शंकर पोखरेल, कर्णालीका प्रकाश ज्वाला र सुदूरपश्चिमका झपट बोहराले भाग लिनेछन् ।

समूहगत छलफलमा संघीय सरकारका अर्थमन्त्री खतिवडा र पर्यटनमन्त्री भट्टराईसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, एशियाली विकास बैंकका पूर्वाधार योजना विज्ञ कमल पाण्डे, लगानी बोर्डका पि्रन्सिपल म्यानेजर घनश्याम ओझा र लगानी बोर्डकै सहसचिव बलराम रिजाल लगायत नीजि क्षेत्रका उद्योगी व्यवसायीहरु पनि सहभागी हुने लगानी सम्मेलन सचिवालयका संयोजक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

सम्मेलनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री युवराज खतिवडा, संघीय सांसदहरु घनश्याम भुसाल, विष्णु पौडेल, बालकृष्ण खाँणलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतीका समूहगत छलफल हुने छ ।

छलफलमा प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेललगायत सहभागी हुनेछन् ।

सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पांच सय जना लगानीकर्ता सहभागी हुने लक्ष्य राखिएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

लगानी सम्मेलनलाई लक्षित गरी ६ लेन सडकको दायाँबायाँ सरसफाइलगायतका तयारीका काम अन्तिम चरणमा पुगेको प्रवक्ता श्रीले बताए ।

सम्मेलनबाट ५० अर्ब लगानी भित्रिने आयोजकको लक्ष्य छ ।

सम्मेलनमा कृषि,पर्यटन,उद्योग,यातायात,फोहोरमैला व्यवस्थापन लगायतका २२ वटा परियोजनाका स्टल रहनेछन् ।

लगानीकर्तालाई नीतिगत सहयोग, जग्गा उपलब्ध गराउनेदेखि आयकरमा निश्चित अवधिसम्मका लागि शतप्रतिशतसम्म छुटको व्यवस्था गरिएकाले उत्साहजनक लगानी भित्रिने अपेक्षा गरिएको सम्मेलनका सहसंयोजक दुर्गाप्रसाद पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment