Comments Add Comment

निर्माण व्यवसाय छाडेर मौरीपालन गर्दै कृष्णबहादुर

वार्षिक १० लाख आम्दानी

२७ भदौ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ वेथानका कृष्णबहादुर खड्काको दैनिकी फेरिएको छ । १८ वर्षसम्म निर्माण व्यवसायको काम गरेका खड्का अहिले माहुरी चराउन व्यस्त छन् ।

माहुरीसँग रमाउँदा उनलाई छुट्टै आनन्द त आएकै छ, त्यो भन्दा पनि बढी उनले मौरीपालनबाट नसोचेको आम्दानी प्राप्त गरेका छन् । माहुरीपालनबाट उनले वार्षिक झण्डै २० लाख रुपैयाँ बराबरको आर्थिक कारोवार गरि १० लाख रुपैयाँ बचत गर्ने गरेका छन् ।

कृष्णबहादुर उमेरले अहिले ४८ वर्षका भए । उनले २०५४ सालदेखि लगतार १८ वर्षसम्म निर्माण व्यवसायको काम गरे । निर्माण व्यवसाय अर्थात् ठेक्कापट्टाबाट त्यति राम्रो कमाइ नभएपछि उनले २०७२ सालमा न्यायिक संसार नामक एक सामाजिक संस्थाले दिएको १० दिने माहुरीपालन सम्बन्धी तालिममा सहभागि हुने मौका पाए । सो तालिम पछि भने उनको जीवनमा नयाँ मोड आयो ।

तालिम लिएपछि ३ घार माहुरी पालेर उनले यसको व्यवसाय सुरुवात गरे । अहिले उनले ४७ घार माहुरी पुर्याएका छन् । खड्काको रामेछापको वेथानमा सेरेना जातका १५ घार माहुरी छन् । सिन्धुलीको दुम्जामा उनको मेलिफेरा जातका ३२ घार माहुरी छन् ।

एकघार माहुरीबाट वार्षिक ४० किलोसम्म मह उत्पादन हुने उनले बताए । महको बजार मुल्य अहिले प्रतिकिलो १ हजार रुपैयाँ छ । उनको अहिले १ हजार ८ सय किलो भन्दा बढी मह उत्पादन हुने गरेको छ । जसबाट उनले वार्षिक १८ लाख रुपैयाँ भन्दा बढी कमाउँछन् । त्यस्तै माहुरीको घार बिक्रीबाट पनि उनले बार्षिक २ लाख जति आम्दानी लिने गरेका छन् । यस वर्ष १० हजारका दरले १८ घार माहुरी बिक्री गरेर एक लाख ८० हजार रुपैयाँ आम्दानी गरेको उनले बताए ।

वार्षिक २० लाख रुपैयाँ जतिको कारोबार हुने गरेको र सबै खर्च कटाएर १० लाख रुपैयाँ आम्दानी लिने गरेको उनले बताए । उनले श्रीकृष्ण मौरीपालन केन्द्र नामको फर्म दर्ता गरेका छन् । उनको फर्मबाट उत्पादन हुने मह सुनापति अर्गानिक ब्राण्डको महको रुपमा बजारमा बिक्री हुने गरेको छ । उनले उत्पादन गरेको महको बजार काठमाडौं, सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्ला भएको उनले बताए । उनले उत्पादन गरेको मह जापान, अमेरिका, इजरायल लगायतका देशमा समेत पुग्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment