Comments Add Comment

‘संविधान दिवसमा विरोध कार्यक्रम गर्छौं’

'एक हातले ताली बज्दैन, पार्टी एकताका लागि लाइन मिल्नुपर्छ'

२८ भदौ, जनकपुरधाम । मधेसकेन्दि्रत राजनीति गर्ने विभिन्न ६ वटा दल एक भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि ती ६ वटै दलका तत्कालीन अध्यक्षहरु संयोजक बनिसकेका छन् । अहिले छैठौं नम्बरको संयोजक राजकिशोर यादव छन् । यसअघि ५ अध्यक्षले चक्रीय प्रणालीअनुसार संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रदेश २ को सरकारमा सहभागी भएको राजपाले संघीय सरकारलाई समर्थन दिए पनि केही महिनाअघि त्यो समर्थन फिर्ता लिइसकेको छ । सरकारले गरेको सहमतिअनुसार संविधान संशोधन नगरेको, सांसद रेशम चौधरीसहित जेलमा रहेका नेता/कार्यकर्तालाई नछाडेको भन्दै समर्थन फिर्ता लिइसकेको राजपाले अहिले पनि संविधान संशोधनमा जोड दिँदै आएको छ ।

पछिल्लो समयमा राजपा र समाजवादीबीच एकताको चर्चासमेत चलेको छ । सँगै महाधिवेशनमा पनि केन्दि्रत हुन चाहेका बेला पार्टीभित्र विवाद पनि देखा परेको छ ।

राजपाको राजनीतिक मुद्दा, संविधान दिवस लगायतका विषयमा संयोजक राजकिशोर यादव जनकपुर आएका बेला गरिएको कुराकानी:

संविधान दिवस आउनै लागेको छ, त्यो दिन राजपाले के गर्छ ?

संविधान अधुरो छ । यो संविधानमा मधेसीलगायत आदिवासी-जनजाति दलितको ठूलो असन्तुष्टि छ । यो असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधन हुनुपर्छ भन्ने राजपाको स्पष्ट अडान छ । जबसम्म यो हुँदैन, तबसम्म हाम्रो असन्तुष्टि रहिरहन्छ । त्यसैले यसपटक पनि हामी विरोध दिवसका रुपमा मनाउँछौं । शान्तिपूर्वक विरोधका कार्यक्रमहरुको आयोजना गर्‍छौं । यो संविधानमा हाम्रो पनि अपनत्व हुनुपर्छ भन्ने देखाउन बिरोध दिवस मनाउँछौं ।

तर, तपाईंकै दल सहभागी प्रदेश २ सरकारले त संविधान दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ नि ?

सरकारको यस्तो बुझाई हुँदैन जस्तो मलाई लाग्छ । बिभिन्न अनौपचारिक कार्यक्रममा उनीहरुले पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । तर, उनीहरुसमक्ष केही बाध्यता पनि छ । सरकारमा भएका कारण मनमा राख्ने एउटा कुरा अनि भन्ने अर्काे कुराको स्थिति छ । तथापि राजपा यसमा स्पष्ट छ । राजपाका मन्त्रीहरु बिरोध दिवसमा सहभागिता जनाउनेछन् ।

यही संविधानको मातहतमा रहेर सत्तामा पनि रहने अनि संविधानको बिरोध पनि गर्ने, यो कुन नीति हो ?

हो । बाहिर यो चर्चा छ । तर, हामी संविधान पूर्णरुपेण खारेजै होस अथवा पूर्णरुपेण मान्दैनौं भनेका छैनांै नि । संविधानको केही विषय जो विभेदमा आधारित छन्, त्यसलाई संशोधन गरेर पूर्ण बनाउन भन्दै आएका छौं । सबैको अपनत्व बोध गराएर संशोधन गरी पूर्ण बनाउन भन्दै आएका छौं । संविधानमा राम्रा कुराहरु पनि छन्, जसलाई हामीले मानेर अघि बढिरहेका छौं ।

त्यसैकारण हामी यसलाई मान्दैनौं त्यो पनि भनिरहेका छैनौं । या यसलाई पूरै मान्छौं त्यो पनि भनेका छैनौं । संविधानमा केही असहमति छ । र, त्यो असहमतिलाई संशोधन गर्नुस् भनेर हामीले बारम्बार सरकार, राज्यसत्तालाई भन्दै आएका छौं ।

त्यसैकारण शपथ ग्रहण गर्ने संविधानको धारालाई जसरी मानेर अघि बढेका छौं, त्यो धारामा यो प्रश्न उठाउने सवाल छैन । सरकारमा पनि यो प्रकृया छ । कमीकमजोरी छ । जसरी कुनै प्रकृया पूर्ण छैन, त्यही प्रकृयाभित्र बसेर त्यसलाई पूरा गर्नुपर्ने अवस्था छ । त्यही कारण हामी प्रदेश सरकारमा सहभागी छौं र केन्द्रमा सरकारलाई समर्थन दिने बेलामा पनि हामीले यो यो बुँदामा असहमति छ, त्यसलाई संशोधन गरी पूर्ण बनाउनुस्, त्यसपछि हामी साथ साथै जान्छौं भनेका थियौं ।

राजनीतिमा ‘यस’ या ‘नो’ मा उत्तर खोज्नुभयो भने सही ठाउँमा पुग्न सकिन्न । संविधानमा केही असहमतिसहित यो संविधानलाई मानिरहेका छौं । जुन दिन पूर्ण हुन्छ हाम्रो असहमति रहँदैन, त्यसैमा टेकेर हामी प्रदेश २ को सरकारमा सहभागी भएका छौं । हामी त केन्द्रमा पनि चाहन्छौं, केन्द्र सरकारले यो असहमति असमझदारी हटाएर समझदारी कायम गरोस् र राष्ट्रिय एकताका लागि, राष्ट्र निर्माणको ऐतिहासिक प्रकृयालाई पूर्ण बनाओस् । मधेसी, आदिवासी, जनजाति, दलित सबैले यो संविधान हाम्रो हो, राष्ट्र हाम्रो हो, राष्ट्र निर्माणका लागि हाम्रो पनि सहभागिता होस् भन्ने चाहेका सबैलाई सहमतिमा ल्याइयोस् ।

यसको मतलव, संविधान संशोधनको मुद्दा आगामी चुनावसम्म रहिरहने भयो ?

राजनीति, समाजमा बिभिन्न प्रकारको चिन्तन हुन्छ । यही मुद्दा बोकेर जान्छ जस्तो लाग्छ भने यो मुद्दालाई समाप्त गर्न राज्यसत्ताले संविधान संशोधन गरिदियोस् न । सबैभन्दा उपयुक्त यही हुनेछ । तर, हामीलाई बदनाम गराउन हाम्रो बारेमा यस्तो चर्चा चलाइएको छ । राज्यद्वारा सञ्चालित निकायहरुले आगोमा पेट्रोल हाल्ने काम गरिरहेका छन् । राज्य संयन्त्रकै सबै थोक उनीहरुसँगै छ । मिडियाहरुमा पक्कड उनीहरुकै छ । उनीहरुले जस्तो जनमत निर्माण गर्न चाहन्छन्, गरिरहेका छन् । आफ्नो निकायद्वारा जनतामा भ्रम छराउन हुँदै नभएका कुराहरु पनि उचाल्न लगाइदिन्छन् ।

तर, वास्तविकता के छ भने शोषण, उत्पीडनमा परेका जनतालाई सम्मानसहित अधिकार छैन । हामीले यो सम्मान र अधिकार दिलाएर यो राष्ट्रलाई एकताबद्व गराउन चाहेका छौं । त्यसैले हामी एउटा चुनावका लागि मात्रै यो मुद्दा उठाएका होइनौं । यो मुद्दा हाम्रो लागि जीवनमरणको सवाल हो । समग्र मधेसका लागि आत्मसम्मानको सवाल हो । मधेसको भविष्यको सवाल हो । यो विषयलाई त्यति हल्का ढंगले, सतहीरुपले बुझ्नु ठीक होइन ।

म आग्रह गर्न चाहन्छु, नेपालको इतिहास गहिरो गरी अध्ययन गर्दै तथ्यका आधारमा एउटा विचारको निर्माण गरी राज्य निर्माणको ऐतिहासिक प्रकृयामा लाग्न जरुरी छ । यसका लागि राज्य सत्ता मजबुत समुदाय छ, त्यसको पनि त्यत्तिकै जिम्मेबारी छ । किनभने यो मधेसी दलको मात्रै जिम्मेवारी होइन ।

के संघीय सरकारले संविधान संशोधन गरिदिन्छ जस्तो लाग्छ ?

म त आशावादी छु । देशका बारेमा सोच्ने, भविष्यबारे सोच्ने व्यक्तिको यो प्रमुख कार्यभार हुनुपर्छ । यदी अहिलेको सरकार देश र जनताप्रति जम्मेवार छ भने संविधान संशोधन गर्छ र गर्नैपर्छ ।

गरेन भने हामी बसेर समय सापेक्ष निर्णय गरेर अघि बढ्छौं । तर, अहिलेसम्म विश्वास छ संविधान संशोधन हुन्छ ।

हामी त आन्दोलन गरी प्रमाणित गरेर आएका हौं । आन्दोलनमा हामी अभ्यस्त भइसकेका छौं । तर, हामी अहिले पनि चाहन्छौं आन्दोलन मधेस र देशकै लागि राम्रो होइन । यो निर्णय अपि्रय हुन्छ । तर, बाध्यताक अवस्थामा गर्नैपर्छ । सबै बाटो बन्द भएपछि यो गरिन्छ । त्यसैकारण हामी अहिले आशा गर्दै सरकारसँग यो देशका सम्पूर्ण जनतालाई सरकार छ भनेर अनुभूति गराउनु जरुरी छ ।

यसका साथै रेशम चौधरीको रिहाइ, आन्दोलनको समयमा लागेको मुद्दा फिर्ता, जेलमा रहेकाहरुको रिहाइ, आन्दोलनको समयमा भएको जनधनको क्षतिको उचित सम्मान गर्न राजपाले माग गर्दै आएको छ । तर, भएन भने जनताको भावलाई समेटेर अघि बढ्छौं ।

प्रदेश २ सरकारमा तपाईंको दल सहभागी छ । यहाँको सरकारको कामबारे कतिको सन्तुष्ट हुनुहुन्छ ?

राजनीतिक संघर्षको उपलब्धीका रुपमा एउटा प्रदेशमा हाम्रो गठबन्धनको सरकार छ । यो सरकार कुनै सामान्य अवस्थामा बनेको सरकार होइन । यो सरकार ऐतिहासिक परिघटनाको उपलब्धी हो । तर, सरकारलाई जनताको अपेक्षा अनुसार जुन किसिमले काम गर्नुपर्ने हो, त्यसमा कतै न कतै त्रुटी भइरहेको छ ।

एक त संघीय सरकारले जसरी सहयोग गर्नुपर्ने हो, त्यो गरिरहेको छैन । कर्मचारीतन्त्रबाट सहयोग छैन । वातावरण पनि अनुकुल छैन । तर, यसको बावजुद पनि सरकारमा रहेका साथीहरुको विशेष किसिमको योगदान हुनुपर्ने, काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । पार्टीले पनि यो कुरालाई बुझिरहेको छ । हामी यो कमीकमजोरीलाई सच्चाएर अघि बढ्छौं ।

प्रदेशका मन्त्रीहरुको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

यो नितान्त आन्तरिक कुरा हो । यो कुरा तत्काल मिडियामा भन्दिनँ । आन्तरिक बैठक बसेर समग्रतामा छलफल गरेर पार्टीको नीति, सिद्धान्तलाई लागू गर्छाैं ।

अब राजपाको आन्तरिक अवस्थाबारे कुरा गरौं । अहिले राजपाको गतिविधि केमा केन्द्रित छ ?

अहिले हामी महाधिवेशनको तयारीमा छौं । राजपा ६ पार्टी मिलेर बनेको छ । उसको पहिलो महाधिवेशन आगामी कात्तिक २८, २९ र ३० गते निर्धारण गरिएको छ । अहिले यसैको तयारी भइरहेको छ ।

तर, महाधिवेसनअघि नै समाजवादीसँग एकता हुन्छ भन्ने चर्चा आएको छ त ?

मुलुकमा जुन परम्परावादी शक्ति छ, यो शक्तिले नेपाली जनताको भावना अनुसार विकास गर्न सक्दैन । राष्ट्रिय एकता कायम गर्न सक्दैन । त्यसैले हामीले विगतमा ६ वटा पार्टी एकजुट भई राजपा निर्माण गरेका हौं । यो देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यक्ता महसुस भएको छ । यो महसुस गरेरै अघि बढिरहेका छौं । यो शक्तिलाई मजबुत बनाउन सिद्वान्त, विचार मिल्ने पार्टीसँग एकता, एकीकरण, सहकार्य मोर्चाबन्दी गरेर हिँड्नुपर्ने राजपाले नीतिगत निर्णय छ । यही निर्णयअनुसार समाजवादीसँग पनि एकताको कुरा भइरहेको छ । समाजवादीसँग मात्र होइन, विचार मिल्ने जनमुक्ति, लिम्बुबान, खम्बुबानसँग पनि कुराकानी भइरहेको छ ।

योबीचमा समाजवादीसँग एकीकरणको कुरा जसरी चर्चा भएको छ । त्यस्तो केही छैन । दुई चरणमा औपचारिकरुपमा चर्चा भएको छ । जसमा समाजवादीले केही कुरा अगाडि बढाएको छ र राजपाले पनि केही कुरा अगाडि बढाएको छ । एकता र एकीकरण छुट्टाछुट्टै प्रकृया हो । यो निरन्तर चलिरहने कुरा हो । तर, राजपामा अन्तरिक जीवनलाई गतिशील बनाउन, कार्यकर्तालाई क्षमता अनुसार व्यवस्थापन गर्न पार्टीलाई एक ढिक्का बनाउन महाधिवेशन त्यत्तिकै जरुरी छ । यो सँगसँगै वैकल्पिक शक्ति निर्माण गर्न एकता एकीकरणको कुरा भइरहेको छ ।

पार्टी एकता हुन्छ त ?

एकै हातले ताली बज्ने कुरा होइन । यसका लागि दुबै पार्टीको रणनीतिक र कार्यनीतिक लाइन मिल्नुपर्‍यो । साझा उद्देश्य बनाउनुपर्‍यो । अनि साझा उद्देश्य प्राप्तिका लागि अपनाउनुपर्ने विधि प्रकृयाको भाष्यलाई परिभाषित गर्नुपर्‍यो । त्यस कारण यो आफैंमा जटिल र लामो प्रकृया हो । यो पनि चलिरहन्छ अनि महाधिवेसनको काम पनि चलिरहन्छ । तर, जसरी बाहिर चर्चा चलिरहेको छ एकताको बिषयमा त्यो गलत हो । एकता भए महाधिवेशन नहुने अनि महाधिवेशन भए एकता नहुने यो एक किसिमको गलत बुझाई हो ।

भन्नाले एकताका लागि चर्चा मात्रै भएको हो ?

जसरी हल्ला चलाइएको छ त्यो निराधार हल्ला मात्रै हो । मलाई थाहा छैन, औपचारिक रुपमा शीर्ष नेता या अध्यक्ष मण्डलका सदस्यले यसबारेमा केही बोलेका छन् । केही व्यक्ति हल्लाका पछाडि लागेर नेता बन्न खोजेका छन् । उनीहरु विनातथ्य, विनाआधार हल्लाका पछाडि लागिरहेका छन् ।

तर, विदेशी शक्तिले जसरी पनि एकता गराउन खोजेको पनि चर्चा छ नि ?

यो पनि हल्ला नै हो । निराधार नै हो । म पार्टीको संयोजक हुँ । कतैबाट कुनै चलखेल भएको भए मलाई पनि थाहा हुन्थ्यो नि केही कुरा । मसमक्ष कतैबाट त्यस्तो केही कुरा आएको छैन । देशी या विदेशीले शक्ति एकता गर्नु या नगर्नु भनेका छैनन् । मान्छेको आ-आफ्नो बुझाइ छ । यसको विश्लेषण पछि हुन्छ ।

अहिले राजपाभित्र विवाद देखापरेको छ । के एकताको विषयलाई नै लिएर विवाद भएको हो ?

राजपा लोकतान्त्रिक जीवन्त पार्टी हो । ६ दल मिलेर बनेको पार्टी हो । यसमा वैचारिक बहस हुन्छ । दृष्टिकोण आ-आफ्नो राखिन्छ । हामी साझा दृष्टिकोण राख्दै अघि बढ्छौं । सबै पार्टीमा हेर्नुहुन्छ भने यस्तै छ । बादविवादभन्दा बढी साझा दृष्टिकोणमा बहस हुन्छ ।

अहिले सामाजिक सञ्जालको युग छ, आफ्नो मनमा लागेको कुरा लेख्छन् । तर, यो विवाद होइन् । हामी लोकतान्त्रिक प्रकृयामा हुने वैचारिक बहस बुझिरहेका छौं । यसलाई अझ व्यवस्थित, अनुशासित र पार्टीलाई एकढिक्का बनाउनका लागि म प्रयासरत छु । त्यस कारण महाधिवेशनपछि पार्टीले जसरी अलग-अलग लिगेसी बोकेको छ त्यसको अन्त्य हुन्छ ।

विवाद त त्यसलाई भनिन्छ, जहाँ मुद्दामा अलग-अलग विचार हुन्छ । एजेन्डा आएपछि हामी सबै एकै हुन्छौं । तर, त्यो बाटोमा पुग्ने क्रममा सबैको आ-आफ्नो सोच हुन्छ । काम गर्ने तरिका फरक हुन्छ । जुन एक किसिमको विविधता पनि हो । एकतालाई लिएर होस् या अन्य कुनै बिषयमा पार्टीमा विवाद छैन ।

तपाईंमाथि नै आरोप छ नि, अध्यक्ष मण्डललाई कुनै जानकारी नै नदिई आफ्नै मनले बैठक बसाउँदै काम गरिरहेको ?

यो त एउटा चर्चाका लागि हो । कुनै छलफल गर्नुछ, बैठकबारे जानकारी गराउनुछ भने त्यो छलफल बैठकमै हुन्छ नि । बैठक बोलाउने अधिकार संयोजकको हो । बैठक बोलाएपछि मात्रै सबैले आ-आफ्नो विचार राख्छन् । बैठकअघि नै सहमति खोज्न थालियो भने बैठक केका लागि हुन्छ ? यो लगाइएको आरोप मात्रै हो । बुझाइमा फरक परेकाले यस्तो चर्चा बाहिर आएको हो ।

संयोजकको जिम्मेवारी म राम्रोसित बुझिरहेको छु । पार्टी मधेस र देशका लागि गर्नुपर्ने जिम्मेवारी मलाई थाहा छ । कुन व्यक्ति खुशी भए र को दुःखी भए, त्यो मेरो लागि कुनै मतलव राखिँदैन । जनता, पार्टी र मधेस र देशको हितका लागि कसरी काम हुन्छ, त्यो प्रमुख विषय हो । कुनै व्यक्ति खुशी या दुखी हुँदैमा म आफ्नो मिसनलाई छाडिदिन्छु, त्यो किमार्थ हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment