Comments Add Comment

नागरिकता विधेयक : शीर्ष नेताको फोनले रोकियो मतदान

२८ भदौ, काठमाडौं । मतदान नै गरेर भएपनि नागरिक विधेयक पास गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको प्रयास असफल भएको छ । अब यो विधेयकको वैवाहिक अंगीकृत नागरिताबारे शीर्ष तहमा सहमति खोजिनेछ ।

शनिबारको बैठक सुरु हुनुुपूर्व सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु मतदान गरेरै भएपनि नागरिकता विधेयक पास गर्ने पषमा देखिएका थिए । उनीहरु विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने पक्षमा छन् ।

त्यसको संकेत पाएको प्रमुख विपक्षी नेपाली कांग्रेसले समिति सभापति शशी श्रेष्ठले अंगीकृत नाकगरितासम्बन्धी प्रस्ताव पढ्ने वित्तिकै लिखित रुपमै फरक मत राख्यो । फरक मतबारे समित सदस्यहरुलाई जानकारी दिँदै कांग्रेस सांसद अमरेशकुमार सिंहले नागरिकता विधेयकमा सरकारले ल्याएको प्रस्तावले संवैधानिक संकट आउने चेतावनी दिए ।

कांग्रेसको फरक मतपछि समिति सभापति श्रेष्ठले आधा घण्टाका लागि बैठक स्थगित गरिन् ।
पुनः बसेको बैठकको माहोल फेरियो । नेकपाका सांसदहरु नै सहमतिको पक्षमा देखिए ।

शीर्ष नेताहरुको फोन

भएछ के भने बैठक स्थगित भएपपछि सत्तारुढ र विपक्षी सांसदहरुले पार्टी नेतृत्वसँग टेलिफोन सम्वाद गरेछन् । त्यही सम्वादका आधारमा मतदान नगर्ने निर्णयमा पुगे । बैठकमा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले को नेता कहाँ छन ? र कहिले काठमाडौं आइपुग्छन् भन्नेबारे जानकारी गराए ।

उनकाअनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ इलाममा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा दाङमा छन् । तीनै जना शनिबार काठमाडौं आइपुग्छन् ।

यस्तै राष्ट्रिय जनता पार्टीका संयोजक राजकिशोर यादवले प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा गरेछन् । प्रधानमन्त्रीसँग आफ्नो कुरा भएको जानकारी गराउँदै राजपा संयोजक यादवले भने, ‘उहाँले एक दुई दिनमा कुरा मिल्छ भन्नुभएको छ ।’

बैठकमा नेकपा सांसदद्धय जनार्दन शर्मा र पम्फा भुसालले कांग्रेसको फरकमत आएको अवस्थामा नागरिकता बिधेयकमाथि थप छलफल गर्नुपर्ने देखिएको बताए । ‘कांग्रेसको फरक मत आएको छ । यो विषयमा राजनीति गर्ने नभई राष्ट्रिय सहमति कायम गर्नुपर्छ । अब समिति र बाहिरबाट शीर्ष नेताहरुसम्म यो विषयलाई पुर्याऊँ’ सांसद भुसालले भनिन् ।

सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई

यससँगै मतदानबाटै भएपनि नागरिकता विधेयक पास गर्ने तयारी हाललाई रोकिएको छ । र, विधेयकमा सहमति जुटाउन जिम्मा शीर्ष नेतालाई दिइएको छ ।

समिति सभापति श्रेष्ठले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरेर २४ घण्टाभित्र निकास निकाल्ने गरी पहल गर्न समिति सदस्यहरुलाई आग्रह गरेकी छन् ।

तर लामो समयसम्म निर्णय नगरी परिपत्र र निर्देशनके भरमा देश चलाउन नहुने उनले बताइन् । नागरिकता विधेयक समितिमा छलफलमै रहेको बेला गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गरेको परिपत्र गरेको थियो ।

चुनाव प्रभावित हुने नेकपाको चिन्ता

नेकपाकै नेताहरुकाअनुसार अंगिकृत नागरिकलाई सिधा असर पर्ने विषय भएकाले यसबारे तत्काल निर्णय नगर्न शीर्ष नेताहरुले आग्रह गरेका छन् । १४ मंसिरमा उपचुनाव हुँदैछ । त्यसको पूर्वसंध्यामा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गर्दा तराई मधेसको जनमत भडि्कने र स्थानीय चुनाव प्रभावित हुने नेकपाको डर छ ।

यस्तै ज्वाइँलाई १५ वर्षपछि नागरिकता दिने विषयमा पनि राजनीति हुनसक्ने उसको डर छ । समिति बैठकमै राजपाका संयोजक यादवले तत्लको राजनीतिक फाइदा र बेफाइदालाई हेरेर निर्णय गर्न नहुने बताएका थिए ।

तर नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमाथि अनावश्यक राजनीति नगर्न अरुदललाई आग्रह गरेका छन् । ‘यो राष्ट्रियतासँग जोडिएको विषय हो । नागरिकता विधेयकमा कांग्रेसको फक मत छलफल सुरु भएकै आउनुपर्थ्यो । तर, आज आयो’ श्रेष्ठले आक्रोश पोखे, ‘देश जल्यो भने कम्युनिस्ट जल्छ, कांग्रेस बच्छ भन्ने कसैले नठाने हुन्छ ।’

गुठी विधेयक फिर्ता भएको प्रसंग कोट्याउँदै उनले भने, ‘हामीले कति बुझाउन सक्यौं सकेनौं आफ्नेा ठाउँमा छ, तर गुठी विधेयक फिर्ता हुने अवस्था बन्यो । राजधानी जल्यो । अब देश जल्ने अवस्था बन्न दिनु हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment