Comments Add Comment

पुस्तक व्यापारीको गुनासो- युवाले पढ्न छाडे

'साइन्स पढेको मान्छे पुस्तक ब्यापारी बनें'

२८ भदौ, काठमाडौं । नेपालमा पुस्तक व्यापारको कारोबार वार्षिक चार अर्बको हाराहारीमा छ । सरकारी तथ्याङ्कहरुले पनि यसलाई पुष्टि गरेका छन् । यसको अर्थ हो, एउटा नेपालीले एक वर्षमा करिब १४० रुपैयाँ मात्र पुस्तक किन्नमा खर्च गर्छ ।

यी पुस्तकहरुमा विद्यालय र कलेजका पाठ्यक्रम, लोकसेवा आयोगका गाइड र व्यवसायिक पुस्तकहरु प्रमुख छन् । अनुसन्धानमूलक पुस्तक, साहित्यिक पुस्तक र शोधहरुमा भने एउटा नेपालीले २० रुपैयाँभन्दा कम खर्च गरेको देखिन्छ ।

आश्चर्यको कुरा के छ भने मुलुकमा पाठ्यपुस्तक र गाइडको बिक्री एक दशकयता झण्डै दुई गुणा बढेको देखिन्छ, तर अनुसन्धानमूलक र साहित्यिक पुस्तकको बिक्री भने एक दशकयता घटेको घट्यै छ ।

यो तथ्याङ्कले नेपालमा साक्षरताको सङ्ख्या बढे पनि अध्ययनशील व्यक्तिहरुको सङ्ख्या घटेको देखाउँछ । देश संघीयतामा गएपछि गाउँ-गाउँमा अध्ययनशील र शिक्षित व्यक्तिहरुले जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा केवल सर्टिफिकेट बोकेका व्यक्तिहरु बढेको स्पष्ट हुन्छ । गम्भीर पुस्तक बिक्री नहुने, तर सामान्य साहित्यिक पुस्तकले बजार ओगटिरहनुले पनि यही कुरा पुष्टि गर्छ ।

यसैबेला अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट आयात हुने पुस्तकहरुमा १० प्रतिशत भन्सार दर निर्धारण गरेपछि बौद्धिक व्यक्तिहरु चिन्तित भएका छन् । उनीहरुको विचारमा बौद्धिक जमात फैलाउने सबैभन्दा सजिलो माध्यम नै विदेशबाट आउने यिनै पुस्तकहरु हुन् । यिनै पुस्तकहरुमा कर लगाएपछि नेपालमा गम्भीर पुस्तक पढ्नेहरु अझ घट्ने उनीहरुको विश्लेषण छ ।

अहिले नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको नेतृत्वमा विभिन्न किसिमका विरोध कार्यक्रम भइरहेका छन् । यही सन्दर्भमा हामीले संघका अध्यक्ष लिखतप्रसाद पाण्डेसँग कुराकानी गरेका छौं ।

पाण्डेको काठमाडौंस्थित न्युप्लाजाको पाँचतल्ले पुस्तक पसलमा हामी पुग्दा उनी पुस्तकहरुमा लागेको धुलो पुछिरहेका थिए । भृकुटी प्रकाशनका प्रमुख रहेका पाण्डेको त्यो पुस्तक पसल देशका ठूला पुस्तक पसलमध्ये एक मानिन्छ ।

यति ठूलो पुस्तक पसलमा एकजना पनि ग्राहक देखिएनन्, किन होला ?

देशका अगुवा, न्यायाधीश, नेता, लेखक, पत्रकार, वकिल, प्राध्यापक र शिक्षकहरुले पुस्तक पढ्न छाडेपछि यस्तो दृष्य देखिनु स्वाभाविक नै हो । पुतलीसडकजस्तो व्यस्त ठाउँमा पनि मानिसहरु पुस्तक पसलभित्र पस्दैनन् भने, अरुतिरको अवस्था कस्तो होला, तपाईं अनुमान लागाउन सक्नुहुन्छ ।

यति भव्य बिल्डिङ्भरि, सिँढीमा समेत पुस्तकहरु बिक्रीमा राख्नुभएको छ, यहाँ कति मूल्य बराबरका पुस्तक होलान् ?

करोडौंका होलान् । तर यति मूल्यका पुस्तक छन् भनेर मख्ख पर्नुको अब कुनै तूक छैन । पुस्तक प्रकाशन र बिक्री गर्नु पनि सरकार र समाजको सेवा हो भन्ने लाग्यो तर यसको महत्व कसैले बुझेनन् । घरजग्गा जोडेको भए त्यसको महत्व हुन्थ्यो होला, पुस्तक जोडियो, त्यही भएर एक्लै छु ।

भनेपछि दुःखी हुनुहुन्छ ?

दुःखी छु भन्न मिल्दैन । कसैले मलाई घोक्राएर तैंले यो काम गर्नैपर्छ भनेर लगाएको होइन, आफ्नै रहरले, लेख्ने पढ्ने लोभमा यता लागियो । देशका सबै पढन्तेहरुसँग संगत छ । विश्वभरिका ज्ञानहरुका बीचमा छु । ग्राहक हुँदा पुस्तक बिक्री गर्छु, नत्र पढ्न बाँकी सयौं पुस्तक छन्, पढ्छु बस्छु । यत्ति हो, यो देशका विभिन्न अवयवहरु अध्ययनबिना, चिन्तनबिना, योजनाबिना कसरी चल्छन् होला भन्ने सोचेरचाहिँ अनौठो लाग्छ ।

मेरो यो पसल देशका पाँच-दश ठूला पुस्तक स्टोरमध्येमा  पर्छ ।  यस्ता सबै पसलहरुमा वर्षौंदेखि युवा उमेरका मानिस पसेको मैंले देखेको छैन । किन्न मात्र होइन, पुस्तक हेर्न पनि आउँदैनन् । आखिर भोलि देश चलाउने त उनीहरु हुन् । यो सोचेरचाहिँ आश्चर्य लाग्छ ।

आखिर के कारण होला, त्यसको अध्ययन पनि गर्नुभएकै होला । तपाईं अध्यक्ष रहेको संस्थाले पनि गरेकै होला । युवाहरुमा पुस्तक अध्ययनको रुती नदेखिनुको कारण के हो ?

अध्ययन गर्ने भनेको जिज्ञासु, प्रतिभाशाली र भोलिको भविष्य उज्ज्वल बनाउन चाहनेहरुले हो । यस्ता मानिस यो देशमा बस्नै चाहँदैनन् । एकथरि युवा प्लस टु पास गर्नेवित्तिकै विदेश जान्छन् । बाँकी रहेकाहरु स्नातकपछि उड्छन् । केही मास्टर डिग्री र पीएचडीका लागि जान्छन् र उतै हराउँछन् । खासमा यिनै व्यक्तिहरु, जसले देश बनाउन सक्थे, नयाँ चिन्तन दिन सक्थे, उनीहरु हिँडेपछि पढ्ने जमात पनि हिँड्यो ।

जो मध्यम वर्गका मानिस थिए, उनीहरु युवा हुनेवित्तिकै कमाउन खाडीमुलुक जान थाले । यस्ता समूहका बीच केही साह्रै प्रतिभाशाली र अध्ययनशील युवा निस्कन सक्थे । तर, खाडी मुलुकमा भासिनु उनीहरुको बाध्यता बन्न पुग्यो । केही अपवाद बाहेक, पढ्नुपर्छ भन्ने युवा नेपालमा निकै कम छन् ।

पढेर के हुन्छ ? पुस्तक किन पढ्ने ?

धेरैले सूचना लिनुलाई नै पढेको भन्ने ठान्छन् । बिहान उठेर पत्रिका पढ्ने, दिउँसो अनलाइनहरुमा चाहार्ने र बेलुका टेलिभिजन हेर्नुलाई कतिपयले समाज बुझेको भन्ने ठान्छन् । खासमा त्यो त सूचना लिएको मात्र हो । गुगलमा केही कुरा खोज्यो, पत्रिकामा केही कुरा पढ्यो वा कसैको भाषण सुन्यो भने त्यसैका आधारमा धारणा बनाउनु भनेको कसैको कार्यकर्ता हुनु मात्र हो । यो त माथिका मानिसले आफूलाई कस्तो बनाउन चाहेका हुन्, त्यस्तो बन्ने प्रपञ्चमा आफूलाई सामेल गराउनु मात्र हो । ती यथार्थमा आधारित हुँदैनन् । आजभोलि मानिसहरुको धेरै समय फेसबुक र युट्युबका भाइरल विषयहरुमा समय खेर गइरहेको छ । खासमा यो समय बिताउने सबैभन्दा तल्लो कार्य हो ।

त्यसोभए पढ्नु भनेको के हो त ?

पढ्नु भनेको कुनै कुरामा गहिरिँदै जानु र एउटा निष्कर्षमा पुग्नु हो । यस्ता हजारौं विषय छन्, जसले मानिस भएर जन्मेपछि बुझ्नुपर्छ । समाज कता जाँदैछ, देश कता जाँदैछ, मलाई कसले कतातिर डोर्‍याउँदैछ, म कसैको ग्राहक, कसैको अनुगामी वा भक्त मात्र बन्दैछु कि मेरो स्वतन्त्र अस्तित्व छ भन्ने बुझ्नु हो । बुझेर नयाँ गोरेटो कोर्नु हो । ठीकलाई ठीक र गलत लाई गलत भन्ने अवस्थामा पुग्नु हो । यो बुझ्न नै पढ्नुपर्छ भनिएको हो । हामी अहिले पनि कुनै कुरालाई गलत र कुनै कुरालाई ठीक भनि रहेका त छौं । तर, नपढिकन, नबुझिकन । किनभने तपाईंका नेताले, तपाईंका पत्रपत्रिकाले, तपाईका अगुवाले त्यसलाई ठीक वा गलत भनेका छन् । ती कुरा सही मानेमा ठीक हुन् कि होइनन् भन्ने बुझ्नु, चिर्नु नै पढ्नु हो । सजिलो भाषामा भन्ने हो भने इन्फरमेसन पाउनु पढ्नु होइन, ज्ञान प्राप्त गर्ने स्तरमा डुब्नुचाहिँ पढ्नु हो । जुन अहिलेको पुस्तामा असम्भव देखिँदैछ ।

नयाँ पुस्तामा मात्र यो रोग हो कि पुराना पुस्तामा पनि ?

म अरुका कुरा भन्न सक्तिनँ । तर, म जुन परिवेशमा हुर्किएँ, पढेँ, जसको संगत गरेँ, त्यसबाट भन्न सक्छु, पुराना पुस्तामा ज्ञानको हुटहुटी थियो । सबैले पढ्न कर गर्थे । जोसँग अध्ययनशील बानी थियो, उसँग मानिस आकर्षित हुन्थे । अहिले जसरी पैसा भएको मानिसलाई महान भन्ने गर्छन्, त्योबेला चाहिँ पढेलेखेको मानिसलाई महान मानिन्थ्यो ।

विशेष गरी म विद्यार्थीकालमा वामपन्थी राजनीतिबाट प्रशिक्षित थिएँ । मभन्दा माथिका नेताहरु, मेरा  समकालीन साथीहरु कसैमा पनि पैसा कमाउने धुन थिएन । केवल देश र समाज कसरी बनाउने भन्ने चिन्तन हुन्थ्यो । सामूहिक चिन्तन थियो । त्यसका लागि अध्ययनशील हुन सिकाइन्थ्यो ।

म सम्झन्छु, त्योबेला साहित्यकार नारायण ढकाल, पत्रकार तथा नेता रघुजी पन्त, संगीतकार आभासहरुको संगतमा थिएँ । यी कसैमा पनि व्यक्तिवादी प्रवृत्ति मैले देखिनँ ।  त्योबेला हाम्रा नेताहरु मोदनाथ प्रश्रित, सुरेन्द्र पाण्डे, जीवराज आश्रितहरुले हामीलाई कहिल्यै कार्यकर्ता बन्न सिकाउनु भएन । केवल अध्ययन गर, चिन्तन गर र तिम्रो ब्रम्हले जे ठीक लाग्छ, त्यो नै सही हो भन्ने सिकाउनुभयो । आजको जस्तो गुट, उपगुट थिएन । कसैको चाकडीमा जाने चलन थिएन, अवस्था पनि थिएन ।

आज सामाजिक चिन्तन नै फरक भएको छ । समूहमा भन्दा व्यक्ति-चिन्तन बढी छ । ज्ञानमा भन्दा पैसामा मानिसको ध्यान गएको छ । हिजो कसरी समाज परिवर्तन गर्न सकिन्छ भन्ने चिन्तन थियो, आज कुन व्यक्तिलाई माथि पुर्‍याउने भन्ने चिन्तन देखिन्छ । आज म पार्टीमा छैन । तर, त्यस्तो देख्छु ।

जब माथिबाटै यस किसिमको चिन्तन सुरु हुन्छ, त्यो सामाजिक संस्कार बन्छ । आज यही संस्कारका कारण अध्ययन गर्ने प्रचलन हराएको हो ।

तपाईं त नेता बन्ने मान्छे, पुस्तक व्यापारमा कसरी आउनुभयो ?

म पनि छक्क पर्छु । साइन्स पढेको मानिस कसरी पुस्तक ब्यापारी भएँ भनेर अनौठो मान्छु ।

खासमा म विद्यालय पढ्दादेखि नै साहित्यमा रुची राख्थेँ । विद्यालयमै केही महत्वपूर्ण साहित्यिक पुरस्कार जितेको थिएँ । विद्यालयले निकाल्ने भित्ते पत्रिकाको सम्पादन गर्थें । आइएस्सी पढ्दापढ्दै नारायण ढकालले प्रकाशन प्रारम्भ गर्नु भएको ‘लहर’ पत्रिकामार्फत सम्पादनमा आएँ ।

आज प्रज्ञा प्रतिष्ठानका  कुलपति हुनु भएका गंगाप्रसाद उप्रेतीहरु मिलेर राजविराजमा सुरु गर्नुभएको कविता गोष्ठीलाई काठमाडौंमा हामीले निरन्तरता दियौं । त्यसपछि त पाठ्यपुस्तक बाहेक साहित्यिक पुस्तक पढ्नु पनि मेरो काम भयो । आइएस्सी, बीएस्सी र एमएस्सी पढुञ्जेलसम्म म साहित्यिक रंगमा रङ्गिइसकेको थिएँ । जब कि चिकित्सक बन्ने लोभमा मैले बायोलोजी पढेको थिएँ ।

कुन क्षण थियो, जसले तपाईंलाई पुस्तक ब्यापारी बन्ने प्रेरणा दियो ?

एम्ाएस्सी अध्ययन गर्दा प्राध्यापक शिवप्रसाद धौभडेलले हामीलाई ‘फ्लेबोनाइट’ नामक च्याप्टर पढाउनुहुन्थ्यो । यो च्याप्टरको मूल भाव भनेको फूलबारीमा किन अनेक रङ्गका फूलहरु देखिन्छन्, यो भिन्न रङ्गहरु देखिनुको प्रमुख कारण के हो भन्ने थियो । त्यो कक्षामा शिव सरले लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर नामक पुस्तकबाट एउटा श्लोक गाउँदै भन्नुभयो,  ‘उद्यानमा बस गई, सब तत्व खुल्दछन्…।’

विज्ञानको गम्भीरभन्दा गम्भीर सुत्रलाई पनि देवकोटाका कविताको उद्रणले बुझाउन सकेको देखेर म छक्क परेँ । यसले मलाई लेखक-कविभन्दा संगत गर्ने अर्को मानिस हुन सक्दैनन् भन्ने लाग्यो । लेखक-कविहरुसँग जोडिन पुस्तक व्यपार नै महत्वपूर्ण भन्ने लाग्यो । सुरुमा अरु जागिर नपाउञ्जेल यो व्यवसायमा जोडिएको थिएँ । तर, यो व्यापार यति चल्यो कि मैले अरुतिर सोच्ने फुर्सद नै पाइनँ । मेरो राजनीति पनि यही व्यस्तताले खाइदिएको हो ।

त्योबेला पुस्तक बिक्रीको अवस्था कस्तो थियो ?

बिहान पसल खोलेपछि बेलुकासम्म व्यस्त हुनुपर्दथ्यो । मानिसहरु ह्वारह्वार्ती आइरहन्थे । अहिले मानिसलाई पत्याउन मुस्किल पर्छ । तर, सत्य के हो भने फलानो पुस्तक बजारमा आएको छ भनेपछि मानिसमा त्यो पढ्न हुटहुटी हुन्थ्यो । मैले चारपटकसम्म होलसेलबाट नयाँ पुस्तक बोकेर आउनुपरेको छ । राति ११ बजे पनि पुस्तक किन्न आइपुग्थे । कतिपय बन्द गरिसकेको सटर खोलेर मैले ग्राहकलाई पुस्तक दिएको छु । धेरैपटक थाकेर भएका पुस्तक पनि छैन भनेर पठाएको छु । विहानदेखि व्यस्त हुँदा अपराहृन तीन बजे मात्र खान खान पाउँथे । यो मैले मात्र होइन, धेरै पुस्तक व्यापारीले देखे भोगेको अवस्था हो । अहिले सम्झँदा त्यो कथा जस्तो लाग्छ ।

अब बढीमा १० वर्षभित्र धेरै पुस्तक पसलहरु बन्द हुनेछन् । मेरो अवस्था पनि त्यस्तै हो । पुस्तक व्यापारमा म नै पहिलो र अन्तिम पुस्ता हुँ

कस्ता पुस्तक बिक्री हुन्थे ?

सबै किसिमका । जस्तो- एउटा विद्यार्थी कुनै कोर्स बुक किन्न आयो भने उसले एउटा मुनामदन वा कुनै साहित्यिक पुस्तक किन्थ्यो । कोर्स बुक पढ्दापढ्दै अल्छी लाग्यो भने के गर्ने ? त्यसका लागि पनि दुई-चारवटा फरक, रोचक र ज्ञानवर्द्धक पुस्तक वा पत्रिका किनेर लैजाने चलन थियो । वकिल, पत्रकार, प्राध्यापक, नेता र कार्यकर्ता सबैले आफूलाई चाहिने प्राविधिक पुस्तक किन्दा नयाँ के आएको छ भनेर सोध्थे । हामीले आफूसँग भएका पुस्तकमध्ये मान्छे हेरेर त्यही अनुसारका दुई-चार पुस्तक सिफारिस गर्दथ्यौं । पैसा नहुनेहरुले पुस्तक साटेर पढ्थे । सबै किसिमका पुस्तक पढिन्थ्यो ।

पुस्तक व्यापारमा मन्दीचाहिँ कहिलेदेखि आयो ?

मैले अनुभव गरेको चाहिँ जब देशमा गणतन्त्र आयो, त्यसपछि भने पढ्ने गति कम भएर गएको  हो । विशेष गरी जब नेताहरुमा पढ्ने प्रवृत्ति घट्यो, सबैतिर त्यो कम भएर गयो । सबै सत्ताको वरपर, पैसाको वरपर र स्वार्थको वरपर भेला हुन थाले ।

कतिपयले इन्टरनेटका कारणले पुस्तक व्यापारमा कमी आएको भन्छन् नि ?

त्यो पनि सत्य नै हो । हिजो पुस्तक नै ज्ञान र मनोरञ्जनको साधन थियोे । इन्टरनेट आएपछि त्यसले सूचना र मनोरञ्जन त दियो तर गम्भीर कुरा अध्ययन गर्नबाट बञ्चित गराइदियो ।

इन्टरनेटमा गम्भीर कुरा पढ्न पाइँदैन भन्नु एकलकाँटे विचार पो हो कि ?

नपाइने होइन, तर त्यस्ता कुरा पैसा तिरेर किन्नुपर्छ । विदेशमा बस्ने केही नेपाली बाहेक पैसा तिरेर प्रविधिमार्फत त्यस्ता कुरा पढ्ने गरेको मैले पाएको छैन । आँखा र स्वास्थका कारण पनि गम्भीर कुराहरु इन्टरनेटमा पढ्न सम्भव हुँदैन ।

यसको अर्थ, अब पुस्तक ब्यापार सङ्कटमा परेको हो ?

हो । अब बढीमा १० वर्षभित्र धेरै पुस्तक पसलहरु बन्द हुनेछन् । मेरो अवस्था पनि त्यस्तै हो । पुस्तक व्यापारमा म नै पहिलो र अन्तिम पुस्ता हुँ । मजस्ता पहिलो पुस्ताका धेरै ब्यापारीले यो काम छाड्दैछन् । सरकारले जसरी पुस्तकमा कर लगाउने नीति ल्यायो, यसबाट सरकारले पनि समाज अध्ययनशील होस् भन्ने चाहेको देखिन्न ।

यस्तो अवस्थामा केही सामान्य खालका स्वदेशी पुस्तकहरु र पाठ्यपुस्तकबाहेक अरु ठूला पसलहरु बन्द हुनेछन् । कुनै चमत्कार भएन भने नेपालका सबै ठूला पुस्तक धमाधम बन्द भएका समाचारहरु पढ्न पाउनु हुनेछ ।

यस्तो हुन नदिनका लागि तपाईंहरुले के-के प्रयास गरिरहनुभएको छ ?

हामीले विभिन्न कार्यक्रमहरु गर्‍यौं । यसरी करको विरोध गर्दा सरकारले हामीलाई प्रतिपक्षीहरुको एजेन्ट ठान्यो । किनभने संसदमा प्रदीप गिरी र गगन थापाजस्ता प्रतिपक्षी विद्वानहरुले यसको विरोध गर्नुभयो । खासमा कर लगाउनुअघिदेखि नै हामी संकटकालीन अवस्थामा आइसकेका थियौं, यसले अझ हत्तोसाहित गरेको मात्र हो ।

आगामी साता अध्ययनशील सबै किसिमका विद्वानहरुको भेला राखेर उहाँहरुबाट सल्लाह सुझाव लिएर अघि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment