+
+
Shares

सरिबुङ पासबाट सम्पर्कविहीन भएका सबै पदयात्री सुरक्षित

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरिबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि सम्पर्कमा आएका जनाउँदै सबै सुरक्षित रहेका बताए।

रासस रासस
२०८२ कात्तिक १४ गते २१:३३

१४ कात्तिक, मुस्ताङ। मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरिबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि सम्पर्कमा आएका जनाउँदै सबै सुरक्षित रहेका बताए।

दुई साताअघि हिमालयन एडभेन्चर ट्राभल्समार्फत काठमाडौँबाट सरिबुङ हुँदै मनाङको फु गाउँको पदयात्राका लागि निस्किएका थिए । उनीहरू अक्टोबर २६ तारिखमा लोघेकर–४ याराबाट सरिबुङ यात्राका लागि दामोदरकुण्डतर्फ प्रस्थान गरेका थिए।

त्यसपछि तीनदिनदेखि सम्पर्कविहीन भएका हिमालयन एडभेन्चरले जनाएको थियो। जिल्ला प्रशासन कार्यालयलाई बिहीबार साँझ उनीहरू सम्पर्कविहीन भएकाबारे जानकारी गराइएको हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले बताए। आज बिहान पथप्रर्दशकमध्ये एक जनाले टेलिफोन सम्पर्क गरे पनि स्पष्ट कुराकानी हुन नसकेको उनले बताएका थिए ।

समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्ने सरिबुङ पास छिचोल्दै मनाङको फु गाउँ निस्किने योजनासहित लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड प्रस्थान गरेको उक्त टोली मङ्गलबारदेखि सम्पर्कविहीन भएको थियो । मङ्गलबारदेखि परेको भारी हिमपात र प्रतिकूल मौसमका पदयात्री सम्पर्कविहीन भएका व्यवस्थापक मैनालीले बताए ।

प्रजिअ भुसालका अनुसार सरिबुङ पदयात्रामा निस्किएका सबै पदयात्री भारी हिमपातका कारण तीन दिनसम्म दामोदरकुण्ड धर्मशालामा सुरक्षित बसेका जानकारी प्राप्त भएको छ ।

सबै पदयात्री सम्पर्कमा आएसँगै आज साँझ दामोदरकुण्डबाट अगाडि बढ्न नसकेपछि पैदल यात्रामार्फत सुरक्षित रूपमा यारा गाउँमा आइपुगेका उनले जानकारी दिए।

प्रजिअ भुसालले उच्च स्थानमा अवस्थित दामोदरकुण्डमा रहेको धर्मशालामा खाने, बस्नेलगायत अत्यावश्यक सुविधा भएकाले सम्पर्कविहीन पदयात्रीलाई सुरक्षित रहन सहज भएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?