+
+
Shares

तीन चुनाव, जसले नेकपामा फैलिँदैछ अन्तर्घातको त्रास

टानको पराजयले बालुवाटार र खुमलटारमा खैलाबैला

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २७ गते २०:५०

२७ भदौ, काठमाडौं । तीनै तहका रिक्त जनप्रतिनिधिका लागि आगामी मंसिर १४ मा उपचुनावको तयारी भइरहेका बेला देशको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भने अन्तर्घातको त्रास फैलिएको छ ।

तत्कालीन एमाले र माओवादी एकीकरणपछि पहिलोपटक एउटै पार्टी र चुनाव चिन्हका साथ निर्वाचनमा जान लागेको दुई तिहाई बहुमतप्राप्त दलका लागि केही समययताका परिणाम सुखद छैनन् ।

०७४ मंसिरको आम चुनाव यता भएका सामाजिक र व्यवसायीक संस्थाका अधिकांश चुनावमा नेकपाका उम्मेदवारहरु पराजित भएका छन् । अधिकांश पराजय पार्टीभित्रकै अन्तर्घातका कारण भएको नेकपाको आन्तरिक रिपोर्ट छ ।

विपक्षीले भने पार्टीभित्रको अन्तरघातले भन्दा पनि सरकारको अलोकप्रियताका कारण नेकपाले हार व्यहोरेको दाबी गरेका छन् ।

यसैसाता भएका दुईवटा व्यवसायीक संस्थाका चुनावमा भएको अनपेक्षित पराजयले नेकपाको शीर्ष नेतृत्व समेत झस्किएको छ ।

ट्रेकिङ एण्ड ट्राभल एजेन्टस् एसोसिएसन अफ नेपाल (टान) को चुनावमा नेकपाले हार व्यहोरोको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा उद्योग वाणिज्य संघको चुनावमा पनि नेकपा निकट उम्मेदवारले हार व्यहोरेका छन् । दमकको चुनाव पनि अन्तरघातकै कारण हारिएको रिपोर्ट अध्यक्षद्धय केपी ओली र प्रचण्डसम्म पुगेेको छ ।

दमकको हारले प्रधानमन्त्री गम्भीर

झापाको दमक यस्तो ठाउँ हो, जहाँबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली सांसद निर्वाचित छन् भने उनका भतिजा रोमनाथ ओली मेयर छन् ।

प्रधानमन्त्री ओलीमाथि विकास बजेट दमकमा केन्द्रित गरेको आरोप लागिरहेका बेला त्यही दमकको उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस उम्मेदवारले जितेका छन् ।

नेकपाबाहेक सबै दल मिलेर चुनाव लडेेका कारण जित्ने उम्मेदवारलाई टिकट दिनुपर्छ भन्दा ओली र प्रचण्डको ठेक्का लिएर केही नेताले कमजोर उम्मेदवार उठाएकाले पराजय भोग्नुपरेको एकथरी नेकपा नेताहरुको आरोप छ । तर, अर्कोथरिले भने खुलेआम अन्तर्घात भएको भन्दै शीर्ष नेतृत्वमा रिपोर्ट पठाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य देवेन्द्र दाहाल र प्रचण्डको प्रतिनिधिका रुपमा दमकको मेयरमा पराजित गगन पुरीले बलजफ्ती विमल खतिवडालाई टिकट दिएको आरोप नेकपाका एकथरि नेताहरुको छ । खतिवडा राम्रा मान्छे भए पनि अध्यक्ष बन्ने बेला नभएको उनीहरुको भनाइ छ ।

तर, खतिवडालाई हराउन नेकपाकै नेता तथा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालहरु खुलेर लागेको आरोपसमेत लागेको छ । ढकालले यसअघि तत्कालीन एमालेले टिकट नदिएपछि बागी उम्मेदवार बनेर संघमा जितेका थिए ।

नेकपाका केही नेताले ढकाललाई यसपटक आधिकारिक उम्मेदवार बनाउन चाहेका थिए । तर दाहाल र पुरीले टिकट खतिवडालाई दिएपछि अन्तरघात भएको नेताहरु बताउँछन् ।

नेकपाको अन्तरघातको फाइदा उठाउँदै कांग्रेसका उम्मेदवार गोकुल श्रेष्ठ दमक उद्योग वाणिज्य संघको अध्यक्ष बन्न सफल भए । जब कि दमक नगरपालिकाको चुनावमा कांग्रेस चौथो शक्ति बनेको थियो ।

दमक उद्योग वाणिज्य संघको चुनावमा नेकपा उम्मेदवारको पराजयले प्रधानमन्त्री ओलीसमेत गम्भीर बनेको बताइन्छ । उनले चुनावमा कुनै चासो नदिए पनि पराजयको खबर भने पाएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पराजयको कारण समेत सोधखोज गरेका छन् । ओलीनिकट दमकका एक नेताले भने, यहाँ नेकपामा कसैले कसैलाई नेता मान्दैनन् । बाबै (केपी ओली) का हकमा सबै एकजुट हुन्छन् तर, अरुलाई मान्दैनन् । त्यही भएर गत साल दमक नगरपालिकाको चुनावमा बिरामी बाबैलाई वडा-वडामा नमस्कार गराउँदै हिँडाएर भोट माग्नुपरेको थियो ।

प्रधानमन्त्री भएपछि ओलीले दमकको विकासका लागि अर्बौं बजेट खन्याएका छन् । यही कारण उनी संसदमा समेत आलोचित भए । तर, आफ्नो गृहनगर दमकमा भने यसबीचमा भएको दमक बहुमुखी क्याम्पस सञ्चालक समितिदेखि खानेपानी उपभोक्तासम्मको चुनावमा नेकपाका उम्मेदवारहरु भटाभट पराजित भएका छन् ।

झापाका केही स्थानीय तहमा प्रमुखका उम्मेदवार पराजित भएपछि २ वर्षअघि नै ओलीले अन्तरघातका कारण पार्टीले हार व्यहोरेको भन्दै छानविन गरेर एक सातामा रिपोर्ट पेश गर्न भनेका थिए । छानविनको रिपोर्ट के आयो, थाहा छैन । तर, अन्तर्घात गर्ने कसैलाई कारवाही नभएका कारण दमकमा लगातार सामाजिक संस्थाहरुमा पार्टीले हारेको नेकपाका एक जिल्ला नेताले बताए ।

टानको पराजयले नेकपाका खैलाबैला

नेकपाभित्र खैलाबैला मच्चाउने अर्को अन्तरघात काण्ड हो-टानको निर्वाचन । यसै साता सम्पन्न टानको निर्वाचनमा नेकपाका उम्मेदवार अञ्जनकुमार थापा कांग्रेसका उम्मेदवारसँग पराजित भए ।

विगत दुई कार्यकालदेखि लगातार नेकपाको पकडमा रहेको टानको चुनावमा एमाले र माओवादीसमेत मिलेका बेला थापा ८३ मतले हारे । जब कि नेकपाकै महासचिव उम्मेदवार सरिता लामा लगायतले जीत हासिल गरे ।

विगतमा एमाले एक्लैले जितेको संस्थामा यसपटक पार्टी एकता भएर जाँदा करिव ४ सय मत नेकपाको बढी थियो । पार्टीका एक केन्द्रीय सदस्य र टानका पूर्वअध्यक्षकै संलग्नतामा खुलेआम अन्तरघात गरेर हराइएको आरोप राजेन्द्र सापकोटालगायतका टानका नेकपाका नेताहरुले लगाएका छन् ।

यसअघि तत्कालीन एमालेको पर्यटन विभागमा सूर्य थापा इञ्चार्ज भएका बेला टानमा पहिलोपटक नेकपाले जितेको थियो । त्यसबेला अध्यक्ष निर्वाचित भएका चन्द्र रिजालको समूहमाथि अहिले अञ्जन थापा पक्षले अन्तर्घातको आरोप लगाएको छ ।

टानको पराजयबारे अध्यक्ष प्रचण्डसम्म उजुरी पुगेपछि उनले छानविन गरेर स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्न राष्ट्रिय उद्योगी व्यवसायी संगठनका इञ्चार्ज मुकुन्द न्यौपानेलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

न्यौपानेले टानको पराजयबारे छानविन गर्न समिति समेत गठन गरिसकेका छन् ।

यसअघि दोलखा जिल्ला उद्योग वाणिज्य संघको चुनावमा पनि नेकपाका नेताहरुकै संलग्नतामा पार्टीका उम्मेदवार सुन्दर कार्कीलाई अन्तर्घात गरेर हराइएको भन्दै उजुरी परेको थियो ।

नेकपाको जिल्ला उद्योग वाणिज्य संघले प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र प्रदेशसभा सदस्य विशाल खड्काको नामै किटेर अन्तर्घातको आरोप लगाएको नेकपा स्रोतले जनाएको छ ।

नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘दमक, टान र दोलखा केही दृष्टान्त मात्र हुन् । पार्टी एकीकरणपछि सामाजिक संस्थाहरुमा भएका अधिकांश चुनावमा हाम्रा उम्मेदवार हारेका छन् र हारको कारण अन्तर्घात नै हो । तर, अन्तर्घात गर्नेहरुमाथिको कारवाही गुटका कारण सम्भव छैन ।

तत्कालीन नेकपा एमालेको संगठन र जनमतका आधार भनेकै सामाजिक संस्थाहरु हुन् । वन उपभोक्ता समिति, सहकारी, विद्यालय व्यवस्थापन समिति, खानेपानी जस्ता सामुदायिक र सामाजिक संस्थाहरुमा एमालेको एकल पकड थियो ।

तर, पार्टी एकीकरणपछि सामाजिक संस्थाहरुको पकडसमेत खुकुलो हुन थालेको पूर्वएमाले नेताहरु बताउँछन् ।

तत्कालीन एमालेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा अन्तर्घातीलाई पार्टीका नेताहरुले नै बोक्ने गरेकाले नेकपामा अनुशासन पालना गराउने विषय चुनौतिपूर्ण रहेको बताउँछन् । उनले अनुशासन आयोग अहिलेसम्म गठन नगर्नु पनि नेताहरुकै कमजोरी बताए ।

उपचुनावमा नेकपाको परीक्षा

नेकपाभित्र एकले अर्कोलाई हराउने प्रतिस्पर्धा भइरहेका बेला आगामी मंसिर १४ मा देशभरका करिब ५० स्थानमा उपचुनाव हुन लागेको छ । अहिलेकै जस्तो अन्तरघात र गुटबन्दी कायम रहने हो भने पार्टीले आसन्न उपचुनावको सामना गर्न निकै चुनौतिपूर्ण रहेको नेकपा नेताहरुको बुझाइ छ ।

गत आम चुनावमा बर्दिया क्षेत्र नम्बर १ मा ७७४ मतले पराजय व्यहोरेका नेकपाका उपाध्यक्ष वामदेव गौतम आगामी उपचुनावमा कास्की क्षेत्र नम्बर २ बाट रविन्द्रपत्नी विद्या भट्टराईलाई रोकेर आफैं लड्ने तयारीमा छन् । तर, नेकपाभित्रको अन्तरघात यथावत रहने हो भने वामदेवले कास्कीमा चुनाव हार्न सक्ने त्रास नेकपाभित्र पलाएको छ ।

यही त्रासका कारण  नेकपाका कतिपय नेताले वामदेवलाई कास्कीमा चुनाव नलड्न सुझाव दिइरहेका छन् । यो उपचुनावमा स्व. रवीन्द्र अधिकारीकी जीवन संगीनी विद्यालाई टिकट दिएमा जित्न सहज हुने ती नेताहरुको तर्क छ । तर, उपाध्यक्ष गौतम भने जसरी पनि चुनाव लड्ने र सरकारमा आउने पक्षमा छन् ।  उनले विगतमा बर्दियामा गरेको दाबीजस्तै कास्कीमा अत्यधीक मतले जितिने दाबी गर्दै उस्तै परे त्यसपछि प्रधानमन्त्रीसमेत बन्नका लागि ढोका खुल्ने आफू निकटस्थहरुलाई बताउने गरेका छन् ।

बर्दियामा निर्वाचन लड्दै गर्दा वामदेव गौतमले आफू २८ हजार भोटको अन्तरले विजयी बन्ने दाबी गरेका थिए । हुन पनि एमाले र माओवादीको पुरानो मत जोड्दा गौतमले ठूलो मतान्तरले जित्न सक्ने गणितले देखाएकै थियो । तर, गौतमले हारे । र, यो हार पार्टीभित्रैबाट अन्तरघातका कारण भएको नेता गौतमले बताउँदै आएका छन् ।

अब कास्कीमा हुने उपनिर्वाचनमा पनि स्व. रविन्द्र अधिकारीले पाएको मत र माओवादीको समेत मत जोड्दा नेकपाले जित्ने गणितीय निश्कर्ष निकाल्न सकिन्छ । तर, त्यहाँ पनि नेकपाभित्र अन्तरघात हुने खतरा टरेको छैन, बरु बढेको छ ।

यो पनि पढ्नुहोस्

आगामी उपचुनावमा नेकपाभित्रको अन्तरघातले मात्रै नभएर सरकारको अलोकप्रियता  कारणले पनि नेकपाको भोट विगतको भन्दा घट्न सक्ने विश्लेषण कांग्रेसका नेताहरुको छ ।

कास्की मात्र नभएर भक्तपुर, धरान, पाँचथर, संखुवासभामा पनि प्रदेश र पालिका एवं विभिन्न जिल्लाका वडा तहमा उपनिर्वाचन हुन लागिरहेको छ । जहाँ नेकपाले पहिले जितेका सिटहरुको रक्षा गर्नुपर्ने चुनौती छ ।

यो पनि पढ्नुहोस्

केपी र माधवको कोपभाजनमा पर्दैछ धरानको उपचुनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?