Comments Add Comment

कास्की २ मा साझा पार्टीको उम्मेदवार रवीन्द्र मिश्र होइन, रजनी केसी !

२८ भदौ, पोखरा । कास्की क्षेत्र नम्बर २ देशकै एकमात्र प्रतिनिधिसभाको उपनिर्वाचन हुने क्षेत्र हो । दलहरुले मंसिर १४ मा हुने उपनिर्वाचन लागिसकेको छ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त छ । यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वामदेव गौतमका साथै साझा पार्टीका रवीन्द्र मिश्र उठ्ने चर्चा परिचर्चा छ ।

तर साझा पार्टी कास्की २ मा रवीन्द्र मिश्रलाई उम्मेदवार नबनाउने संकेत दिएको छ । कास्की जिल्ला तथा पोखरा महानगर संयोजकको घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा पार्टीका नेताहरुले सम्भावित उम्मेदवारको छनक दिएको हो ।

उनी हुन् रजनी केसी । केसी शनिबारमात्र नेपाली कांग्रेस परित्याग गरी साझा प्रवेश गरेकी हुन् ।

रजनी लामो समय नेपाल विद्यार्थी संघमा क्रियाशील बनिन् । त्यसपछि महिला संघ हुँदै कांग्रेसको राजनीतिमा आएकी उनी प्रखर वक्ता पनि हुन् । उनलाई कास्की २ को उपनिर्वाचनमा टिकट दिने गरी उनलाई पार्टी प्रवेश गराइएको साझा पार्टीका एक नेताले बताए ।

यद्यपि पार्टी प्रवेश कार्यक्रममा नेताहरुले यसको औपचारिक घोषणा भने गरेनन् । तर पार्टी संयोजक रवीन्द्र मिश्रले आफू उम्मेदवार नहुने प्रष्ट सन्देश दिए । ‘कास्कीमा म उठ्नेबारे चर्चा चल्यो । सामाजिक सञ्जालमा पनि फैलियो,’ कास्कीकै व्यक्तिलाई उम्मेदवार बनाउने भन्दै मिश्रले भने, ‘आजमात्र पार्टी प्रवेश गर्ने र संयोजक घोषणा हुने साथीहरु नै यति शसक्त र ऊर्जाशील हुनुहुन्छ ।’

कार्यक्रममा रजनीले भने साझा पार्टीबाट पनि कुनै पदका बार्गेनिङ नगरी साधारण सदस्यको रुपमा प्रवेश गरेको बताइन् । तर पार्टीले टिकट दिए उम्मेदवार हुने सम्भावना रहने रजनीले प्रतिक्रिया दिइन् । ‘टिकटबारे अहिलेसम्म कुरा भएको छैन । विभिन्न संस्थामा रहेर काम गरेको अनुभव छ । पार्टीमा निर्णय गरेर उठाइहाले सम्भावनालाई नकार्न सकिन्न,’ उनले अनलाइनखबरसँग भनिन् ।

उनले चुनाव लड्ने योजनाका साथ पोखरा विश्वविद्यालयमा उपप्रशासक पदबाट हालै राजीनामा समेत दिएकी छन् । २० वर्ष पोखरा विद्यालयमा सेवा गरेकी रजनीको राजीनामा कात्तिक १ गतेबाट लागु हुने गरी स्वीकृत भइसकेको छ । ‘म समाज सेवामा अझै कसरी लाग्न सकिन्छ भनेर खोजिरहेकी थिएँ । त्यसैले पनि पोखरा विश्वविद्यालयबाट राजीनामा दिएकी हुँ,’ उनले भनिन् ।

कास्कीमा अर्जुन, महानगर संयोजकमा मनकाजी

कार्यक्रममा साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ तोकिएका छन् । दुबैलाई संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टीका लगाइदिए ।

साझा पार्टीको जिल्ला संयोजकको जिम्मेवारी पाएपछि खनालले पुराना राजनीतिक दलका क्रियाकलापबाट वाक्क भएर वैकल्पिक राजनीतिलाई रोजेको बताए । उनी पहिले अखिलका नेता थिए । पुराना राजनीतिक दल र तीनले चलाएको सरकारबाट आजीत भएर गाली गर्दै बस्नुको साटो फोहोरी राजनीतिलाई सफा गर्न आफैं राजनीतिमा लाग्नुपर्ने निष्कर्ष निकाल्दै साझा पार्टीमा लागेको उनको भनाइ थियो ।

खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । पोखरा महानगर संयोजक गुरुङ निजी विद्यालय सञ्चालक हुन् ।

कास्की-२ को उपनिर्वाचनमा जित्ने गरी आउँछौंः मिश्र

कार्यक्रममा बोल्ने अधिकांश नेता कास्की-२ को उपनिर्वाचनमै केन्दि्रत रहे । पोखरा र कास्कीको संयोजकको जिम्मेवारी पाएका राजन खनाल र मनकाजी गुरुङदेखि गण्डकी प्रदेश संयोजक महेश भण्डारी हुँदै संयोजक मिश्रसम्मले कास्की-२ को उपनिर्वाचनमा हस्तक्षेपकारी रुपमा साझा पार्टी आउने दाबी गरे ।

संयोजक मिश्रले जित्ने गरी र अहिलेको सरकारलाई पाठ सिकाउने गरी उपनिर्वाचनमा सहभागी हुने बताए ।

मुख्य प्रतिद्वन्द्वी नै साझा पार्टी हुने मिश्रको दाबी थियो । ‘यो उपनिर्वाचनमा कास्कीका जनताले वैकल्पिक शक्तिको रुपमा उदाएको साझा पार्टीलाई जिताएर एउटा गतिलो सन्देश दिनेछन् । दुई तिहाईको यो सरकारलाई गतिलो झापड दिनेछन्,’ उनले भने, ‘अझै पनि मेरो या तेरो पार्टी भनेर उही पुरानै दललाई जिताउने हो भने विकास र सवृद्धिको बाटोमा देश अगाडि बढ्न सक्दैन ।’

पार्टीका संगठन विभाग प्रमुख केशव दाहाले यो देशलाई यहाँसम्म ल्याउने पुस्ताको योगदान र त्यागलाई सम्मान गर्दै अब नयाँ वैकल्पिक राजनीति सुरु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment