Comments Add Comment

इलामको ‘स्कुल’ मा प्रचण्ड मख्ख ! झलनाथले भने- मलाई न्याय भो

जनप्रतिनिधिलाई लगाम लगाउन नेकपा कार्यकर्ताको माग

२८ भदौ, बिराटनगर । नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ शुक्रबार इलाम पुग्दा नेकपाका कार्यकर्तामा तरंग आयो । पार्टी एकतापछि पूर्वमाओवादी र पूर्वएमालेका शीर्षनेताहरु आपसमा हल बाँधिएर पहिलोचोटि जिल्लामा आइपुगेको भन्दै स्थानीय कार्यकर्ता उत्साहित भएको नेकपा नेताहरुले बताएका छन् ।

इलाम नेकपा नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङको गृहजिल्ला हो । प्रचण्डका लागि भने यो सुदुरको जिल्ला हो र विगतमा तत्कालीन माओवादीको कमजोर पकड रहेको जिल्ला पनि हो इलाम । तर, सदरमुकामको गौतमवुद्ध सभाहलमा आयोजित स्कुल विभागको दुई दिने प्रशिक्षणमा जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन पाउँदा उनी नेकपा अध्यक्ष प्रचण्ड निकै उत्साही देखिए ।

पार्टीभित्र गुटबन्दी हुन नहुने प्रचण्डले कार्यकर्तालाई बताए । नेकपाभित्र विभिन्न गुट, उपगुट रहेको अवस्थामा प्रचण्डले गुट उपगुटका कारक पार्टी ध्वस्त हुन सक्ने बताए । प्रचण्डले शुक्रबार झापा झरेर पनि गुट उपगुटको विरोध गरे । दुबै जिल्लामा प्रचण्डको भाषणको मुख्य जोट गुटबन्दीकै विरुद्ध केन्द्रित थियो ।

नेकपामा पूर्वएमाले र पूर्वमाओवादीका दुई ठूला गुटहरु छन् । त्यसबाहेक पूर्वएमालेभित्रै माधव नेपाल र केपी ओलीका पक्षमा दुईवटा ठूला उपगुटहरु आपसमा टक्कराइरहेका छन् । अझ रोचक त के छ भने प्रधानमन्त्री ओली सिंगापुर जानुअघिसम्म स्वयं प्रचण्डसमेत माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सम्मिलित गुटमा ढल्किएका थिए ।

तर, पछिल्लो समयमा वामदेव गौतम र झलनाथ खनाल केपी ओलीतिर ढल्किएका छन् भने माधव नेपाल र केपी ओलीको वीचमा दूरी बढेको छ । अध्यक्ष प्रचण्डचाहिँ कहिले केपी ओलीसँग नजिक हुने त कहिले टाढिने गरिरहेका छन् ।

यहीबेला प्रधानमन्त्री ओलीकै गृहजिल्लामा पुगेका प्रचण्डले नेकपामा गुट-उपगुट हुन नहुने बताएका हुन् ।

शुक्रबार इलाममा स्कुल विभागको प्रशिक्षण कार्यक्रम उदघाटन गर्ने क्रममा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले आफूलाई बरिष्ठ नेताबाट हटाएर अन्याय गरिएकोमा अहिले पुनः बरिष्ठ नेता बनाई न्याय गरिएको भन्दै सन्तोष प्रकट गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेलसमेत सहभागी हुने भनिए पनि कार्यव्य व्यस्तताका कारण सहभागी हुन नसकेको नेकपाका नेताहरु बताउँछन् । शुक्रबार पत्रकारलाई समेत प्रवेश दिइएको उदघाटन सत्रमा प्रचण्ड, झलनाथ खनाल र सुवास नेम्वाङले कार्यकर्ताहरुलाई सम्वोधन गरेका थिए ।

इलामका अगुवा नेकपा कार्यकर्ताहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा शनिबार पत्रकारहरुलाई प्रवेश दिइएन । सो कार्यक्रममा देवेन्द्र पौडेलले नेकपाको इतिहास, बेदुराम भुसालले दर्शनशास्त्रबारे र डा. विजय पौडेलले राजनीतिक अर्थशास्त्र र समाजवादका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी इलामे नेता-कार्यकर्ताहरुले स्थानीय जनप्रतिनिधिहरुले पार्टीको निर्देशन नमानी आफ्नै ढंगले काम गरिरहेको गुनासो पोखेका थिए । जनप्रतिनिधिहरुप्रति पार्टीमा गुनासो आएपछि आगामी असोज ४ गते इलामका जनप्रतिनिधिलाई पनि प्रशिक्षण दिने कार्यक्रम तय गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

अध्यक्ष प्रचण्डले पार्टीमा गुटबन्दी हुन नहुने बताइरहँदा शुक्रबार झापाबाट नेकपा नेताहरुको एउटा टोली इलाम उक्लेको थियो । जिल्लामा नेकपाभित्र विवाद परिरहेको भन्दै झापाली नेताहरु इलाम पुगेको स्रोतले बतायो ।

शुक्रबार राति नेकपा अध्यक्ष प्रचण्ड र सुवास नेम्वाङ इलाम बजारको ग्रिन भ्यु होटलमा बास बसेका थिए । प्रशिक्षण दिन पुगेका भुसाल र पौडेलहरु चाहिँ समीट होटलमा बसेका थिए । अघिल्लै दिन इलाम पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल एक रात सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईको घरमा बास बसेका थिए ।

नेकपा अध्यक्ष प्रचण्ड शनिबार बिहान इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा सहभागी भए । जहाँ उनले इन्डो प्यासिफिक लगायतका विषयमा आफ्नो धारणा व्यक्त गरे ।

यो पनि पढ्नुहोस इन्डो प्यासिफिकबारे प्रचण्डको प्रष्टीकरण- अमेरिकाले जवाफ मागेको छैन

इलामको प्रशिक्षण कार्यक्रम सकेर एक रात बास बसेपछि शनिबार अध्यक्ष प्रचण्डको टोली झापा झर्‍यो । शनिबार दिउँसो झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको आठौं साधारण सभा आयोजना गरिएको थियो । सो कार्यक्रमलाई अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्वोधन गरे ।

प्रधानमन्त्रीको गृहजिल्लामा झापामा सम्वोधन गर्ने क्रममा पनि अध्यक्ष प्रचण्डले पार्टीभित्रको गुट-उपगुट अन्त्य हुनुपर्नेमा विशेष जोड दिए ।

प्रचण्डले पूर्वमाओवादी नेता स्व. गौरीशंकर खड्काको स्मरण गरे ।

स्व. खड्का ०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नम्बर २ बाट कांग्रेसका सुधीर सिवाकोटी र एमालेकी मेनुका काफ्लेलाई हराएर माओवादीका तर्फबाट सभासद बनेका थिए । उनी जनयुद्धकालमा एमाले छाडेर माओवादीमा प्रवेश गर्ने पहिलो झापाली बरिष्ठ नेता थिए । उनैको सम्झनामा शनिबार बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको आठौं साधारण सभा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment