Comments Add Comment

विश्व बैंकले ब्युँझाइदियो बिग मर्जरको बहस, विज्ञ भन्छन्-आवश्यक छैन

२८ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ सकिन केही महिना बाँकी रहँदा बैंकिङ क्षेत्रमा ठूला बैंकहरु बीचको मर्जरका विषयमा चर्चा शुरु भयो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा नै बिग मर्जरको विषयलाई उठान गरे ।

जेठ १५ गते आर्थिक वर्ष २०७६/७७ बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन हुने नीति सरकारले लिने उल्लेख गरेका थिए । बजेटबाट शुरु भएको बिग मर्जरको बहस मौद्रिक नीति आउने तयारी भइरहँदासम्म अझ चर्चाको शिखरमा पुग्यो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक फोरमहरुमा नै बिग मर्जरको हल्ला पिटे । उनले सहजै मर्जरमा नभए जबर्जस्त (फोर्स मर्जर) गरेर भए पनि बैंकहरुलाई गाभ्न लगाउने भाषण गरे । अझ राष्ट्र बैंकले पाँचतारे होटलमा बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि प्रतिवद्धता पेश गर्न निर्देशन पनि दियो । फोर्स मर्जरको हल्लाबाट डराएर अधिकांश बैंकहरुले मर्जरमा जान्छौं भनेर राष्ट्र बैंक समक्ष लिखित प्रतिवद्धता जनाए ।

मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुले लिखित प्रतिवद्धता जनाएकोमा २ वटा (ग्लोबल आइएमई र जनता बैंक नेपाल) ले त मर्जरमा जाने सम्झौता नै गर्न भ्याए । अन्य केही बैंकहरु पनि सम्झौताको तयारी गरिरहेका थिए । तर, जब मौद्रिक नीतिले बिग मर्जरलाई बाध्यात्मक बनाएन, त्यसपछि बैंकहरुले लामो सास फेरे । मौद्रिक नीतिले मर्जरमा गए केही सहुलियत दिने भने पनि मर्जरमा जानै पर्छ भन्न भने सकेन ।

मौद्रिक नीतिपछि बैंकिङ क्षेत्रमा बिग मर्जरको विषय पनि सेलाउँदै गयो । मर्जरका लागि सम्झौता गरिसकेका ग्लोबल आईएमई र जनता बैंक पनि यतिबेला चुपचाप बसेका छन् । अन्य बैंकहरुले सुरु गरेको गृहकार्य पनि स्थगित गरेका छन् । तर, मौद्रिक नीति आएको डेढ महिनापछि विश्व बैंकले नेपालमा बिग मर्जरको विषयलाई ब्युँझाइदिएको छ ।

राजधानीमा आयोजित पूर्वाधार सम्मेलनमा विश्व बैंकले एउटा प्रतिवेदन सार्वजनिक गर्‍यो । यस प्रतिवेदनले नेपालमा वाणिज्य बैंकको संख्या १० वटामा झार्न सकिने औंल्याएको छ । तत्काललाई बैंकहरुको संख्या १५ वटामा झार्न प्रतिवेदनले सुझाव दिएको छ ।

‘संख्या महत्वपूर्ण होइन’

विश्व बैंकले कमर्सियल बैंकको संख्या आधा घटाउन मात्र होइन, चुक्ता पुँजी दोब्बर बनाउनसमेत सुझाएको छ । बैंकको संख्या ५० प्रतिशत घटाउन र चुक्ता पुँजी दोब्बर बनाउन सम्भव छ त ? विज्ञ र सरोकारवालाहरु भने बैंकको संख्या महत्वपूर्ण नभएको बताउँछन् ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले विश्व बैंकले भनेजस्तो मर्जरमा जान आवश्यक नरहेको प्रतिक्रिया दिए । यसअघि पनि बैंकको संख्या आधा घटाउने हल्ला भएको भन्दै उनले बैंकको  संख्यालाई महत्वपूर्ण मान्न नहुने बताए ।

बैंकको संख्याभन्दा पनि गुणस्तरीय सेवातर्फ ध्यान जानु पर्ने बताउँदै क्षेत्रीले विश्व बैंकको सुझावअनुसार घटाउन आवश्यक नरहेको उल्लेख गरे । बैंकको संख्या घटे स्वस्थ्य प्रतिस्पर्धा कम हुने र सिण्डिकेटको खतरा हुने उनको भनाइ छ ।

‘२८ वटा बैंकहरु हुँदा त ब्याजदरमा सिण्डिकेट कायम भयो, अझ कम भयो भने के होला ?’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका उनले भने, ‘स्वस्थ प्रतिष्पर्धा आजको आवश्यकता हो, सर्वसाधारणले सेवा पाउनु पर्‍यो, विश्व बैंकले भने जस्तो घटाउनुपर्ने अहिले आवश्यकता देख्दिनँ ।’

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पनि बिग मर्जरको आवश्यकता अहिले नरहेको बताउँछन् । बैंक मर्जरले अर्थतन्त्रलाई फाइदा नगरेको उनको बुझाइ छ ।

अनलाइनखबरसँगको कुराकानीमा पूर्वकार्यकारी निर्देशक थापाले अर्थतन्त्रलाई के फाइदा भयो भनेर हेर्न ७ सूचकहरु प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस बैंक मर्जर : अर्थतन्त्रलाई फाइदा शून्य !

बैंकर गणेश पोखरेलको धारणा पनि उस्तै छ । बैंकको संख्या महत्वपूर्ण हो भन्ने आफूलाई नलागेको उनी बताउँछन् ।

सिटिजन्स बैंकका सीईओ रहेका पोखरेलले भने, ‘हाम्रो मुलुकको भौगोलिक अवस्था फरक छ । जनसंख्याकै कुरा गर्ने हो भने त भारतमा ५०/६० लाख जनता भएको ठाउँमा एउटा सांसद छनोट हुन्छ । त्योअनुसार हो भने त नेपालमा १०/२० सांसदले पुग्नुपर्ने । हामीले किन त्यस्तो गर्‍यौं भन्दा हाम्रो भौगोलिक अवस्था नै यस्तै छ ।’

‘चुक्ता पुँजी बढाउनु आवश्यक छैन’

विश्व बैंकले बैंकको संख्या आधा घटाउनका साथै पुँजी दोब्बर बनाउनसमेत सझुाव दिएको छ । अहिले कमर्सियल बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ छ । यो पनि सबै बैंकले पुर्‍याइनसकेको अवस्था छ ।

यसअघि २ अर्ब पुँजी रहेका कमर्सियल बैंकले निकै मुस्किलले मात्रै चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याएका थिए । विश्व बैंकले भनेअनुसारको बैंकहरुको पुँजी अब १६ अर्ब पुर्‍याउन सहज छ त ? पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘अहिल्यै नै बढाउने बेला भएको छैन ।’

उनले चुक्ता पुँजी बढाएर बैंकहरु निकै मजबुत हुने र अर्थतन्त्रलाई धेरै फाइदा पुगिहाल्छ भन्न नसकिने बताए । ‘चुक्ता पुँजी बढाउन बोनस सेयर, हकप्रद सेयर जारी गरेर बल्लतल्ल धेरैले पुर्‍याए, अझै केहीले पुर्‍याउन सकेका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा अहिले नै पुँजी बढाउन आवश्यकता नै छैन ।’

उनले १६ अर्ब पुँजी पुर्‍याए बैंकिङ क्षेत्रमा पुनः तरलताको समस्या देखिन सक्ने आशंकासमेत गरे । यसअघि बैंकले बोनस सेयर र हकप्रद सेयर दिएर पुँजी पुर्‍याएको स्मण गर्दै उनले भने, ‘हिजो पुँजी पुर्‍याउन हकप्रद सेयर दिइयो, त्यो हकप्रद सेयरधनीले बैंकबाट लोन लिएरै किनेका छन् । त्यो पैसा तिर्न अहिले पनि समस्या छ ।’ पहिलेकै जस्तै हकप्रद सेयर दिएर पुँजी पुर्‍याउने नीति लिने हो भने बैंकको रकम सेयर बजारमा जाने उनी बताउँछन् ।

माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माको धारणा पनि उस्तै छ । मौद्रिक नीतिले गरेको व्यवस्था राम्रै भएको उनी बताउँछन् । पुँजी बढाएर मर्जरमा लगिहाल्न भन्दा पनि मर्जरका लागि प्रोत्साहन दिनु राष्ट्र बैंकको राम्रो कदम भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment