Comments Add Comment

‘बक्सिङ हेर्न गएको थिएँ, गोल्ड मेडल लिएर फर्किएँ’

कोही किन खेलाडी बन्छ ? कसैलाई रहरले डोर्‍याएर होला त कसैलाई परिस्थितिले धकेलेर । मेरो चाहिँ अरुको भन्दा भिन्दै कथा छ ।

रोल्पाको एउटा विकट गाउँमा जन्मेको म । त्यहाँका डाँडापाखा, भीरपहरा चहार्दा पाखुरा त बलियै थिए । तर, मारमुङ्ग्रीको खेलमा कहिल्यै आफ्नो भविश्य देखेको थिइनँ । यथार्थ भन्नुपर्दा, पहिलोपटक बक्सिङ रिङमा उत्रिँदा पनि मैले बक्सिङ बुझेकै थिइनँ । म त बक्सिङ हेर्न जाँदा गोल्ड मेडल जितेर फर्किएको हुँ ।

माओवादी जनयुद्धबाट अति प्रभावित जिल्लामा बाल्यकाल बिताएको मैले आफ्नै आँखा अगाडि भिडन्त देखेको छु । पढ्न भनेर दाङ जाँदा माओवादीको कुटाई खाएको छु । हुन त आफ्नो खेल जीवनमा प्रतिद्वन्द्वीको पिटाई पनि धेरै खाएको छु । तर, बक्सिङ रिङमा पिटाई खानु र बाहिर खानुमा उस्तै कदापि होइन ।

म त्यही पिटाई खाएको घटनाबाट आफ्नो कथा सुरु गर्छु है त ।

०००

म जन्मेको रोल्पाको इरिबाङ अहिले परिवर्तन गाउँपालिका भएको छ । जनयुद्धकालमा मारिएका एक स्थानीय माओवादी कमान्डरको सम्झनामा नयाँ नामाकरण गरिएको रे । नामजस्तै त्यहाँ धेरै कुरा परिवर्तन भएका छन् ।

मैले बाल्यकाल बिताएको रोल्पा निकै विकट थियो । गाडी चढ्नलाई मात्रै एकदिन हिँड्नु पथ्र्यो । हरेक सेवा–सुविधामा पछाडि थियो । त्यसमाथि १० वर्षे जनयुद्धले त झनै ध्वस्त बनायो । त्यस कालखण्डमा हामी त्राशैत्राशमा बाँचेका थियौं । हामीजस्ता तटस्थ नागरिक दुवै पक्षको निशानामा पर्ने अवस्था थियो । गाउँमा माओवादीको डर, जिल्ला गए सेना र शसस्त्र प्रहरीको ।

बुवा शिक्षक हुनुहुन्थ्यो । जनयुद्ध चर्किएपछि उहाँले म र दाइलाई दाङमा पढ्न पठाउने निधो गर्नुभयो । यो २०६१ साल तिरको कुरा हो । हामी दाजुभाइ दाङ आउँदै थियौ । बाटोमै हामीलाई केही माओवादी कार्यकर्ताले रोके । ‘कहाँ जान लागेको ?’ भनेर सोधे । दाइ र मैले एकै स्वरमा भन्यौं, ‘पढाइका लागि दाङ जान लागेको ।’

त्यसपछि उनीहरु कड्किए ।

‘तिमीहरु जान पाउँदैनौं । अब युद्ध लड्न हामीसँग हिँड,’ एकजनाले पाखुरामा समातेर भने ।

हामी पनि डराउने बाला थिएनौं । हामीले कुनै हालतमा दाङ जाने अड्डी लियौं । मैले भनेँ, ‘दाङ जानु दिँदैनौ भने लौ गोली हान ।’ उनीहरुले गोली त हानेनन्, तर रामधुलाई गरे । कुट्दाकुट्दा थाकेपछि आफ्नो बाटो लागे । उनीहरु हिँडेपछि हामी पनि बल्लतल्ल उठेर अन्य मानिसहरुको सहारामा दाङतिर लाग्यौं ।

हामीलाई माओवादीले कुटेको खबर घरसम्म पुगेछ । घरमा सबैजना आत्तिनुभयो । पछि हामीले आफ्नो अवस्थाबारे घरमा खबर पठाएर आश्वस्त बनायौं । माओवादी शान्ति प्रक्रियामा गइसकेपछि मैले हामीलाई कुट्ने मान्छेहरुलाई निकै खोजेँ । उनीहरुसँग बदला लिने इख थियो, तर पुरा भएन ।

००००

अब बक्सिङको कुरा गरौं । म बक्सिङमा आएको माओवादीबाट कुटाई खाएको इखले चाहिँ होइन है ।

यसमा एउटा रोचक संयोग छ । २०६४–०६५ सालतिर प्लस टु को परीक्षा दिएर दाङमा बसिरहेको थिएँ । त्यतिबेला भलिबल खेल्ने गर्थेँ । बक्सिङको ब पनि थाहा थिएन ।

हाम्रो टोलमा एक जना बक्सिङ प्रशिक्षक हुनुहँुदोरहेछ । मेरो साथीले पनि उहाँसँग बक्सिङ सिकेको रहेछ । एक दिन म पनि खेलेको हेर्न गएँ । गुरुले वान..टु… गर्दै चप्पलमा हान्न सिकाइरहनु भएको थियो । मलाई चाख लाग्यो । घर आएर आफूले पनि चप्पलमा त्यस्तै अभ्यास गरेँ । त्यसको केही दिनपछि पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय छनोट प्रतियोगिता हुँदैरहेछ । मलाई त्यति वास्ता थिएन । त्यो प्रतियोगितामा भाग लिने त सोचेकै थिइनँ । किनकी एक–दुईचोटी गुरुले अरुलाई सिकाएको हेरेको भरमा म कसरी खेल्न सक्थेँ ? मलाई त यसको आधारभूत नियम पनि थाहा थिएन ।

तर क्षेत्रीय छनोट प्रतियोगिता हेर्न जाउँजाउँ लाग्यो । मैले गुरुलाई आफ्नै खर्चमा जाने कुरा गरेँ । उहाँले हुन्छ भन्नुभयो । त्यतिबेला नारायणघाटमा क्षेत्रीय खेल भइरहेको थियो । म नारायणघाट आइपुगेपछि थाहा भयो कि ७५ केजी तौल समूहमा दाङबाट खाली रहेछ । गुरुले मलाई सोध्नुभयो, ‘तँ खेल्छस् ?’

म त अलमल्ल परेँ । तर, एकाएक मेरो मुखबाट निस्क्यो, ‘हुन्छ ।’

कसरी खेल्ने भन्ने फिटिक्कै थाहा नभए पनि म रिङमा उत्रिन तयार भएँ । खेल हेर्न आएको म आफैं भिडन्तमा उत्रिनुपर्ने भयो । मैले निकैबेर अरुले खेलेको हेरिरहेँ ।

अरुले ड्याङ–ड्याङ हानेको देखेपछि मलाई लाग्यो, ‘जाबो… यति त म पनि सकिहाल्छु नि ।’

गुरुले मेरो नाम दाङबाट प्रतिनिधित्व गर्दै ७५ केजी तौल समूहमा दर्ता गरेपछि टाइसिट आयो । म त कस्तो भाग्यमानी ! बाई पाएर सिधै फाइनलमा पो पुगे । बक्सिङ नै नजानेको व्यक्ति फाइनलमा ! एक खेल जितेमा गोल्ड मेडल । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पाइने । म रोमाञ्चित पनि थिएँ र नर्भस पनि ।

फाइनलमा मेरो भिडन्त बाँकेका खेलाडीसँग थियो । म त पहिलोपटक रिङ टेक्दै थिएँ । रेफ्रिले खेल सुरु गरेसँगै प्रतिद्वन्द्वी मलाई हान्न लम्कियो । तर, उसले भन्दा अगाडि मैले घोप्टो परेर एक मुक्का बजाएँ । उसको अनुहारमै लागेछ, भुक्लुक्कै ढल्यो ।

रेफ्रीले काउन्ट डाउन्ट गरे । ९ काउन्ट गर्दा उ उठ्यो । उसको अनुहारबाट रगत बगिरहेको थियो । त्यसपछि त मलाई झनै जोश आयो । पूरै तीन राउण्ड खेले, तर अन्धाधुन्द । अन्तिममा खेल त मैले जितेछु । बैले मलाई बोकेर उचाले ।

क्षेत्रीय छनोट प्रतियोगितामा स्वर्ण पदक जितेपछि मैले मध्यपश्चिमाञ्चल क्षेत्रबाट पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने भएँ । म त गदगद हुने नै भएँ । यो खुशी घरसम्म पुगेछ । घरबाट फोनमा आश्चर्य मान्दै सोध्नुभयो, ‘तँ कसरी बक्सिङ खेल्ने भइस हँ ?’ कसरी भन्नु, आफैंलाई थाहा छैन । म हाँसे मात्र ।

००००

जब क्लोज क्याम्प सुरु भयो, बल्ल बक्सिङ के हो भन्ने बुझ्न थाले । त्यहाँ पूराना राष्ट्रिय च्याम्पियनहरुसँग भेट भयो । क्लोज क्याम्पमा सबैले कडा परिश्रम गरिरहेका हुन्थे । म भने बक्सिङको आधारभूत ज्ञान नै सिकिरहेको थिएँ ।

२०६५ सालमा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मेरो प्रतिद्वन्द्वी (सशस्त्र प्रहरी क्लब) एपीएफका गणेश चौधरी परे । उनी निकै अनुभवी खेलाडी । गणेशलाई गुरुले म इन्डियन आर्मी हुँ भनेर तर्साउनुभएको रहेछ । गणेशमाथि पनि मैले क्षेत्रीय छनोटमा जस्तैगरी मुक्का हानेँ । उ ढल्यो र काउन्ट पनि काउन्ट खायो । त्यसपछि गणेशले राम्रो कमब्याक ग¥यो । उसले मेरो क्षमता आँकलन गरेछ । ट्याक ट्याक हान्दै खेल जित्यो । म हारेँ । तर, सम्मानजनक हार नै थियो त्यो मजस्तो नयाँ खेलाडीका लागि ।

त्यही प्रतियोगिता मेरो करिअरको टर्निङ पोइन्ट बन्यो । घर फर्किएर कडा अभ्यास गर्न थालेँ । काका भारतीय सेनामा  हुनुहुन्थ्यो । उहाँले बक्सिङको सेन्डब्याग ल्याइदिनुभएको थियो । त्यो ब्यागलाई कोठामा टाँगे र दिनरात हान्न थाले । बक्सिङसम्बन्धी चलिचित्रहरु हेरे, त्यसकै नक्कल गर्ने प्रयास गरे । त्यसपछि मैले दुईवटा राष्ट्रिय प्रतियोगिता खेले, तर सफल हुन सकिनँ । २०६६ सालमा भएको राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगितामा फल पन्च हानेको भन्दै रेफ्रीले मलाई डिसक्वालिफाई गरिदिए । तर त्यो पन्च गलत चाहिँ थिएन । रेफ्रीले आफू नजिकका खेलाडीलाई जिताउन त्यसो गरेको भन्न सुनेँ । खेलमा यस्तो राजनीति हुँदोरहेछ भनेर दिक्दार लाग्यो । तर गुरुले हौसाइरहनु भयो । राम्रो खेलाडी बन्न सघाइरहनु भयो र मैले आफूलाई बलियो बनाए ।

त्यसपछि म इन्डियन आर्मीको सिलोङमा भर्ना हुन गएँ । त्यहाँ पनि बक्सिङको कडा अभ्यास गरेँ । बक्सिङका एकसेएक खेलाडीसित आफूलाई दाँज्ने अवसर पाएँ, धेरै कुरा सिकेँ । सिलोङको अभ्यासपछि म प्रतियोगिता खेल्न स्वदेश फर्किएँ ।

बसेगाँउमा २०६७–०६८ तिर राष्ट्रिय प्रतियोगिता हुँदै थियो । मैले पनि भाग लिने निर्णय गरेँ । त्यो प्रतियोगितामा ६४ केजी तौल समूहमा खेलेको मैले चार वटा खेलमा नकआउट हानेँ । फाइनलमा एपीएफका अजित गुरुङसँग भेट भयो । सागको रजत पदक विजेता अजितले हेपेरै खेलिहरेका थिए । तर दोस्रो राउण्डमा चोट बोकेर बाहिरिए । म राष्ट्रिय च्याम्पियन भएँ, पोल्टामा स्वर्ण पदक आयो ।

००००

म बक्सिङमै करिअर बनाउने लक्ष्यमा थिएँ । तर आफ्नो लक्ष्यसम्म पुग्न ठीक बाटो भेट्न सकिरहेको थिइनँ । २०६८ सालको अन्त्यतिर एक दिन प्रचण्ड शर्माको फोन आयो । उहाँ नेपाल पुलिस क्लबमा बक्सिङको मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । उहाँले पुलिस क्लबबाट खेल्ने प्रस्ताव राख्नुभयो । म खुसी भएँ ,

पुलिस क्लबमा आएपछि प्रचण्ड गुरु र राज श्रेष्ठ गुरुले मलाई बक्सिङ कौशललाई अझ निखार्नु भयो । म निकै समय राष्ट्रिय च्याम्पियन भएर बसेँ । तर बिचमा मेरो खेल फेरि खस्कियो । आर्मीका दिपक श्रेष्ठसँग म दुईपटक राष्ट्रिय प्रतियोगितामा हार्न पुगेँ । उनी टेक्निकल खेल्ने बक्सर, म फाइटर । त्यसपछि उनको र मेरो निकै कडा प्रतिस्पर्धा हुँदै गयो । कहिले उनले जित्ने, कहिले म । एसियन च्याम्पियनसीपको छनोटमा मैले उनलाई दुई पटक हराएँ । उनले विश्व च्याम्पियनसिपको छनोटमा मलाई पराजित गरे ।

२०१६ मा आयोजना हुने १२ औं साग खेलकुदका लागि तयारी चलिरहेको थियो । प्रचण्ड गुरुले मलाई ६४ केजी तौल समूहबाट घटाएर ६० केजीमा खेल्न सुझाव दिनुभयो । शायद उहाँ हामी दुवैले साग खेलकुद खेलेको हेर्न चाहनुहुन्थ्यो ।

मैले निकै मिहिनेत गरेर तौल घटाएँ । ६० केजी तौल समूहमा खेलेँ । तर म अभागी ठहरिएँ । किनभने छनोट खेलमा चोट बोकेर म छनोट हुन सकिन । यो मेरा लागि निकै पीडादायी थियो । करिब दुई महिना त अभ्यास नगरी बसेँ ।

त्यसपछि मैले ६० केजी तौल समूहमा नै राष्ट्रिय च्याम्पियन हुन्छु भन्ने दृढ संकल्प गरेँ । नभन्दै, दुईपटक राष्ट्रिय च्याम्पियन भएँ पनि । तर अहिले ६४ केजी तौल समूहमा फर्किएर खेलिरहेको छु । यसै समूहबाट छैटौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थिएँ भने सातौमा रजत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्ड मेडल जितेँ । राष्ट्रिय प्रतियोगितामा त गोल्ड मेडल आइरहेको छ । अब म अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाललाई पदक दिलदाउन चाहन्छु ।

अहिलेसम्म मैले खेलेको मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भनेको इन्चोन एसियन गेम्स २०१४ र जाकार्ता एसियन गेम्स २०१८ मा हो । यो बाहेक थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको छु । तर मेडल जित्न सकेको छैन ।

०००

अहिले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा जुटिरहेको छु । सागकै लागि भनेर केही दिनअघि थाइल्यान्डमा करिब दुई महिना अभ्यास ग¥यौं । त्यहाँ हुँदा हामीले सिरिज बक्सिङ प्रतियोगिता पनि खेल्न पायौं । थाइल्यान्ड बक्सिङ संघले धेरै देशहरुसँग बक्सिङ सिरिज आयोजना गरेको थियो । त्यो सिरिजले थप अनुभव बटुल्ने र आफ्नो क्षमता जाच्ने मौका दियो ।

स्वदेश फर्किएपछि अहिले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको प्राङ्गणमा अभ्यास गरिरहेका छौं । खुल्ला आकाशमुनी अभ्यास गर्नुपर्ने बाध्यता छ । पानी परेकोे दिन अभ्यास हुँदैन । चोट लाग्ने सम्भावना पनि उतिकै हुन्छ ।

जे सुकै होस्, १३औं सागमा मेरो आत्मविश्वास भनेको फाइनलमा पुग्नु हो । सकेसम्म स्वर्ण पदक जित्ने लक्ष्य लिएको छु । हाम्रो बलियो प्रतिद्वन्द्वी भारत र श्रीलंका हुन् । मैले दुबै देशका खेलाडीसँग खेलेको छु । उनीहरुकै देशमा गएर टक्कर दिएको छु । तर विश्व वरियतामा परेका उनीहरुसँग प्रतिस्पर्धा गर्नु यतिको अभ्यास पर्याप्त छैन । डाइटदेखि टेक्निकल पक्षसम्म सुधार गर्नुपर्छ । तर हामीलाई अहिलेसम्म अनुहारमा मात्रै हान्न सिकाइएको छ । टेक्निकल पक्षमा जोड दिइएको छैन । यत्तिको भरमा खै कसरी स्वर्ण जित्न सकिएला !

प्रस्तुति : सरोज तामाङ

तस्वीर : शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ५३ औं अंकमा यो हप्ता टेबलटेनिस खेलाडी नविता श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment