+
+
Shares

डेंगुमा उपेन्द्र यादवले गुमाए अवसर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २७ गते २०:४७

२७ भदौ, काठमाडौं । आजको दिनमा आमनागरिकको स्वास्थ्य मन्त्रालयसँग सबैभन्दा ठूलो अपेक्षा के होला ? अथवा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्बोधन गर्नुपर्ने सवभन्दा टड्कारो विषय के होला ? जवाफ सहज छ–डेंगु ।

वैशाख अन्तिमतिर धरानबाट सुरु भएको डेंगुले काठमाडौं उपत्यकामा महामारीको रुप लिदैछ । उपत्यकाका डल्लु, स्वयम्भु, असन लगायतका घनाबस्ती भएका क्षेत्रहरुबाट आएका विरामीमा डेंगुको संक्रमण देखिएको छ । अरु क्षेत्रमा पनि डेंगुका विरामीहरु भेटिदै छन् । चिकित्सकहरुका अनुसार डेंगु लागेपछि ८–१० दिन उच्च ज्वरो आउने, असाध्यै जिउ दुख्ने लगायतका समस्या हुन्छ ।

चकित्सकको निर्देशनअनुसार औषधि गरे डेंगुको उपचार हुन्छ । कतिपयमा डेंगु लाग्नासाथ मरिन्छ भन्ने त्रास पनि छ, जुन गलत भएको चिकित्सकहरु बताउँछन् ।

धरानबाट सुरु भएको डेंगुले चितवन हुँदै काठमाडौंलाई पनि प्रभावित बनाईरहेको बेला मानिसहरुमा रहेको भ्रम हटाउन र महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालय के गरिरहेको छ ? अनि स्वास्थ्यमन्त्री यादव के गरिरहेका छन् ?

मन्त्रालय सुस्त गतिमा चलिरहेको देखिन्छ । मन्त्री ‘बेपत्ता छन्’ भन्दा फरक नपर्ने स्थिति छ । त्यसकै आक्रोस हुनसक्छ, बिहीबार संसदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदहरुले डेंगु नियन्त्रण गर्न असफल भएको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा मागे ।

सांसद कृष्णगोपाल श्रेष्ठको प्रश्न थियो, ‘कृषिमन्त्री डेंगु पीडित, डाक्टर सन्दुक रुइत डेंगु पीडत, अब कति जना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो ?’

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार मन्त्री यादव बिहीबार र शुक्रबार त मन्त्रालय नै आएनन् । १५ शैय्याको अस्पताल उद्घाटन भन्दै भैरहवा पुगेका उनी बिहीबार आफू अध्यक्ष रहेको समाजवादी पार्टीको प्रदेश ५ कमिटीको प्रशिक्षणमा व्यस्त थिए ।

त्यही कारण उनी बिहीबार साँझको मन्त्रिपरिषद् बैठकमा समेत सहभागी थिएनन् । त्यो बैठकमा महत्वपूर्ण अजेण्डा डेंगु नियन्त्रण नै थियो, तर विभागीय मन्त्री नै अनुपस्थित भएपछि सामान्य छलफल मात्र भएको एक मन्त्रीले बताए ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादव केही दिनअघि मन्त्रालयका सचिव र योजना प्रमुखलाई लिएर विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन दिल्ली पुगेका थिए ।

उपेन्द्र यादवले गुमाएको अवसर

डेंगु समान्यझैं लाग्ने, तर कुनै पनि बेला महामारीको रुप लिन सक्ने रोग हो । सिंगापुर जस्तो देशलाई पनि डेंगु नियन्त्रण गर्न हम्मेहम्मे परेको रेकर्ड छ ।

डेंगु लागेपछि सही उपचार गर्नु र यसको महामारी रोक्न लामखुट्टेको लार्भ भएका ठाउँहरु खोजेर नष्ट गर्नु बाहेक अरु उपाय छैन । तर त्यसो गरिएको छैन । काठमाडौं उपत्यकामा यदाकदा ‘डेंगु गन’ बाट औषधि छर्किएको देखिएको छ तर यो स्वास्थ्यका लागि हानीकारक विधि मानिन्छ । ‘डेंगु गन’ चलाउने हो भने दुई दिनअघि पुरै बस्ती खाली गराउनुपर्ने जानकारहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार डेंगुले माहामारीको रुप लिन लागेको अवस्थामा राज्यका सबै स्रोत–साधन परिचालन र जनचेतना अभियान निर्विकल्प बन्छ । पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी डेंगुले महामारीको रुप लिएको हो भने त संकटकाल नै घोषणा गरेर राज्यको सबै शक्ति परिचालन गर्नुपर्ने बताउँछन् ।

‘स्वस्थ शंकटकाल’ घोषणा डेंगुविरुद्ध अभियान चलाउनलाई पनि अग्रसरता लिने स्वास्थ्य मन्त्रालय र मन्त्रीले नै हो । स्थानीय तहहरु समेत भएकाले होस्टेमा हैंसे गर्थे । यसमा मन्त्री यादवले अलिकति सक्रियता देखाएको भए आम जनतामा ‘डेंगु नियन्त्रणमा सरकारले केही गरिरहेको छ है’ भन्ने पनि पर्थ्यो ।

डेंगुले उनलाई राष्ट्रिय नेताको छवि बनाउने अवसर पनि दिएको थियो । काठमाडौंमा आजको दिनमा पनि धेरैलाई उपेन्द्र यादव ‘मधेसका नेता’ भन्ने लाग्छ । ‘उपेन्द्र यादवमा राष्ट्रिय नेता हुने भोक छ । डेंगुले त्यो अवसर जुराइदिएको थियो’ एक विश्लेषक भन्छन्, ‘आम नेपालीको स्वास्थ रक्षामा सक्रियता देखाएको भए उनको लोकप्रियता आकासिन्थ्यो, तर यो काम स्वास्थ मन्त्रालयले मात्र गर्न सक्दैन भनेर पन्छिँदा त्यो अवसर गुम्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?