
२९ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रलाई नुन बिक्री वितरण गर्न दिने कुरा हावादारी र भ्रामक भएको बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सरकारले कहिल्यै पनि गुणस्तरमा सम्झौता नगर्ने बताउँदै मन्त्री यादवले नुन बिक्री-वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको काममा सरकार बाधक नभएको पनि स्पष्ट पारे । निजी क्षेत्रलाई नुन बिक्री-वितरण गर्न दिने सरकारको योजना नभएको भन्दै उनले केही सञ्चार माध्यमले हावादारी र भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाए ।
मन्त्री यादवले दशैंतिहारको समयमा मात्र नभई सधैंभरी नै सस्तो र सहुलियत मूल्यका पसलहरु सञ्चालन हुनु पर्नेमा जोड दिए ।
‘चाडपर्वमा मात्रै सहुलियत पसल सञ्चालन गर्ने परिपाटीलाई अन्त्य गरी उपभोक्ताको हितका लागि बाह्रै महिना सहुलियत मूल्यका पसल सञ्चालन गर्नुपर्छ,’ उनले भने ।
साल्ट ट्रेडिङ कर्पोरेसनले स्थापनाकालदेखि नै उपभोक्ताको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै मन्त्री यादवले उपभोक्तालाई सेवा दिने संस्थान मध्येमा यो उत्कृष्ट रहेको जिकिरसमेत गरे ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसनले आम उपभोक्ताको चाहना र सरकारको निर्देशनअनुरुप सेवा विविधीकरणमार्फत सहुलियत दरमा गुणस्तरीय वस्तु बिक्री वितरण गर्दै आएको जनाए । अध्यक्ष मानन्धरले कर्पोरेसन सदैव जनताको हितमा प्रतिबद्ध भएर लागिरहने प्रणसमेत गरे ।
कार्यक्रममा उद्योग-वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उपभोक्ताको सामान तथा वस्तु सहजीकरण गर्न सरकार सदैव तयार रहेको बताए । कर्पोरेसनले कार्यक्षेत्रलाई विविधीकरण गर्दै समय सापेक्ष परिवर्तन गर्दै लैजान पनि उनले आग्रह गरे ।
कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सबैको सहयोगबाट संस्थानले गरेको प्रगतिलाई आत्मसाथ गर्दै संस्थानले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको बताइन् । दशैंतिहारलाई लक्षित गरी सहुलियतका पसलका साथसाथै विभिन्न सामानमा छुटसमेत प्रदान गरेको उनले जानकारी गराइन् ।
श्रेष्ठका अनुसार सन् १९८५ मा नेपालमा ४४.२ प्रतिशत गलगाँड रोगी रहेकोमा त्यो संख्या झरेर हाल ०.४ प्रतिशत कायम भएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजी क्षेत्रलाई नुन बेच्न दिए जनता एकदिन नुन खान नपाएर मर्ने दावी गरे ।
कर्पोरेसनले ७५ हजार राशीसहितको बाल हितकारी पुरस्कारबाट गोसाइ स्थान नैमिसारस्य क्षेत्र बिकास समिति, गुरुकुल बनेपालाई पुरस्कृत गरेको छ ।
साथै, हेमबहादुर मल्ल उत्कृष्ट कर्मचारी सेवा पुरस्कार अधिकृतस्तरमा जितेन्द्र शाह, सहायकस्तरमा विमल खनाल र श्रेणीविहीनतर्फ बिष्णु केसीले प्राप्त गरे ।
यस्तै ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट अधिकृत स्तरमा उमेश कुमार ओझा, सहायक स्तरमा सुदीपसिंह रायमाझी र श्रेणीविहीनतर्फ सञ्जय कमाचार्य पुरस्कृत भएका छन् ।
प्रतिक्रिया 4