+
+
Shares

विपद्पीडित बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा

ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते २०:२२

४ असोज, काठमाडौं । विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ ।

योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बालअधिकार परिषद्ले अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

अस्थायी संरक्षण सेवा केन्द्रमा विपद् प्रभावित तथा विशेष संरक्षण आवश्यक बालबालिकाका लागि तत्काल सुरक्षित आश्रय र आवश्यक संरक्षण सेवा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

केन्द्रमा बालबालिकाका लागि सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक अवस्था पहिचान तथा परिवार वा आफन्तको खोजी लगायतका सेवा उपलब्ध गराइनेछ ।

बालबालिकाको सर्वोत्तम हित र सुरक्षा सुनिश्चित गर्दै सम्भव भएसम्म उनीहरूलाई परिवार वा उपयुक्त आफन्तसँग सुरक्षित पुन:मिलन गराइनेछ ।

परिवार वा आफन्तसँग सुरक्षित पुन:मिलन सम्भव नभएको अवस्थामा मात्र, बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र आवश्यकताको मूल्याङ्कनका आधारमा प्रचलित कानुन तथा मापदण्डबमोजिम दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था अन्तिम विकल्पका रूपमा गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?