Comments Add Comment

टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भयोः प्रचण्ड

२९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)लाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको उनको विश्लेषण छ ।

सहिद प्रष्तिठानको ११ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले टीआरसीको संयोजकमा दलहरुबीच समझदारी भएसँगै जटिलता देखा परेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ‘तपाईले जसलाई भन्न्नुहुन्छ, उसलाई संयोजक बनाउँछु’ भनेको उनले सुनाए । तर हिजो माओवादी आन्दोलनमा लागेका सबैले आवाज नउठाए सजिलै पार नलाग्ने उनले बताए ।

प्रचण्डले अघि भने, ‘अहिले पनि यो प्रक्रिया सकारात्मक ढंगले टुंगोमा पुग्न नदिने, उद्योगका रुपमा चलाउने र टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको छ ।’

माओवादीको हातमा भएको विषय यसअघि नै टुंग्याएको र अरु विषय आफूहरुको हात मात्र नभएको भन्दै उनले जनता परिचालन गरेर दबाब सृजना गर्नुपर्ने बताए । ‘यस्तै हो भनेर लत्तो छोड्यो भने प्रतिक्रियावादी एकपछि अअर्को आक्रमणमा आउन सक्छ’, उनले भने, ‘योजनाबद्ध ढंगले बहस गरिराखौं ।’

आफू प्रधानमन्त्री हुँदा माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको भएपनि अहिले फाइल नै गायब पारेको पाइएको उनले सुनाए ।

नेकपा अध्यक्ष प्रचण्डले आफू जहाँ र जुन गुटमा भएपनि माओवादी विद्रोहका राम्रा र नराम्रा सबै कामको जिम्मेवारी लिने समेत बताएका छन् । उनले देशभर सहिद पार्क बनाउने अभियान जारी राख्न प्रतिष्ठानलाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment