Comments Add Comment

चावहिलको शव जलाउने घाटमा नाराबाजी

२९ भदौ, काठमाडौं । मानव सम्बन्धमा सबैभन्दा संवेदनशील क्षण हो- मृत्यु । कसैको मृत्युपछि अन्तिम संकारका लागि मसानघाटमा पुर्‍याउँदा आफन्तजन मात्र होइन, जीवनभर दुश्मनीमा रहेका मान्छे पनि भावुक हुन्छन् ।

तर, काठमाडौंको चावहिल क्षेत्रमा आइतबार लक्ष्मी डंगोलका आफन्तले भने अन्तिम संकारका बेला विरोधको सामना गर्नुपर्‍यो । ६० वर्षीया डंगोलको शव पिंग मसानघाटमा लगियो । नेवारी परम्परा अनुसार शवगद्तको तयारी भइरहेको थियो ।

शव जलाउन नपाउने भन्दै घाट छेउमा घर भएकाहरुले विरोध गरे । मलामी गएकाहरुले परम्परागत घाटमा अन्त्येष्टि गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरे । अन्ततः प्रहरी नै आउनुपर्‍यो । प्रहरी सुरक्षामा डंगोलको दाहसंस्कार भयो । ‘शव खोसाखोस होलाजस्तो अवस्था आएपछि प्रहरी बेलाउनुपर्‍यो’, काठमाडौं ७ का वडाध्यक्ष शुद्ध डंगोलले अनलाइनखबरसँग भने ।

चावहिल क्षेत्रमा पछिल्लो समय यस्तो विवाद बढ्दो छ । गत मंसिरमा पनि भीममाया डंगोलको अन्त्येष्टि गर्ने क्रममा विरोध भएपछि प्रहरी नै पुग्नु परेको थियो ।

चाबहिलको पिंग र आसपासको क्षेत्रमा डंगोल र शाक्य समुदायका छुट्टाछुट्टै घाट छन् । पुस्तौंपुस्तादेखि प्रयोग गर्दै आएको घाटमा शव जलाउँदा विरोध गर्नुलाई चाःबही (चावहिल) का रैथाने नेवार समुदायले ‘घाटमाथि भएको अतिक्रमण’ मानेका छन् ।

नयाँ बासिन्दाहरु भने घरनजिकै शव जलाउँदा दुर्गन्ध फैलिने गुनासो गर्ने गरेका छन् ।

विरोधले झन समस्या

चावहिल क्षेत्रका स्थानीयका अनुसार पछिल्लो समय द्वीप (घाट)मा अन्त्येष्टि गर्ने परम्परा कम हुँदै गएको थियो । समय एकाधको शव मात्र द्वीपहरुमा लैजाने गरिन्थ्यो ।

तर, त्यसबेला विरोध हुन थालेपछि नेवार समुदाय फेरि घाटमै अन्त्येष्टि गर्ने पक्षमा देखिएका छन् । वडा नम्बर ७ का वडाध्यक्ष डंगोल भन्छन्, ‘एकाध शव लैजाँदा विरोध भएपछि हाम्रो समुदायमा द्वीपमा शव नलैजानेहरुलाई अप्ठ्यारो हुन थालेको छ ।’

उनका अनुसार घाट छेउका बासिन्दाहरुले त्यहाँ शव ल्याउन नदिन कानूनी वा अरु बाटो खोज्नुका साटो अन्त्येटिका क्रममा मात्र विरोधमा उत्रने गरेका छन् ।

गत वर्ष विवाद भएपछि काठमाडौं महानगरपालिकाले समस्याको समाधान खोज्ने बताएको थियो । मेयर विद्यासुन्दर शाक्यले परम्परा मास्न नसकिने बताएपछि थप छलफल हुन सकेन ।

यो पनि पढ्नुस्ः

बस्ती छेउको घाटः शव जलाउने ठाउँमा झगडा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment