Comments Add Comment

घुस मागेको भन्दै महिलाद्वारा सडकमा माछा फालेर प्रहरीविरुद्ध प्रदर्शन

२९ भदौ, विराटनगर । विराटनगरमा प्रहरीले घुस मागेको भन्दै सडकमा माछा फालेर एक महिलाले विरोध प्रदर्शन गरेकी छन् । भारत जोगवनीमा बसेर विराटनगरमा माछाको कारोवार गर्दै आएकी निलम सहनीले सडकमा आफै माछा फालेर प्रहरीले घुस मागेको आरोप लगाएकी हुन् ।

घटना २१ भदौ दिउँसोको हो । ती महिलाले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले मागेको एक लाख रुपैयाँ नदिँदा प्रहरीले माछा सडकमा फालिदिएको बताएकी थिइन् । तर, भिडियोमा प्रहरीले काजगपत्र मागेपछि महिलाले आफै रिक्साबाट माछा सडकमा फालेको देखिन्छ ।

भिडियोमा घटना स्थलमा प्रहरी र सर्वसाधरण भेला भएको देखिन्छ । माछा फालेपछि प्रहरीले ३५ काटुन माछा लुट्यो भन्दै आरोप लगाएकी थिइन् ।

भारतको जोवनीबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको माछा प्रहरीले विराटनगर १२ रोडशेषबाट नियन्त्रणमा लिएको थियो । चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको माछा भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीमाथि घुस मागेको आरोप लगाएकी महिलामाथि जिल्ला प्रहरी कार्यालय मोरङले मुद्दा दायर गरेको छ ।

बिना आधार घुस मागेको आरोप लगाउने सहनी, सीता मण्डलसहित ७ जना विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार सहनीसहित अन्य सात जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment