Comments Add Comment

रोजगारीका लागि खुल्यो मलेसिया, श्रम स्वीकृति दिन थालियो

२९ भदौ, काठमाडौं । मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको हो ।

अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने छ ।

मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच ११ कात्तिकमा भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो ।

मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू हुनेछ । तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिनेछ ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ ।

मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारवाही अभियान चलाएका थिए ।

११ कात्तिकमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी गर्‍यो । तर मलेसियाले पुराना भेन्डर मार्फत नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन चाह्यो भने नेपालले त्यसमा सहमति जनाएन ।

समझदारीमा हस्ताक्षर भएको १० महिनासम्म रोजगारी नखुल्दा रोजगार व्यवसायीहरु असन्तुष्ट थिए । म्यानपावर कम्पनीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न ढिलाइ भए पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने चेतावनी दिएको थियो ।

अब भने सरकारले कामदारको हित अनुकुल हुने ग्यारेन्टी गर्दै मलेसियाको रोजगारीलाई  सुचारु गरेको छ । अब मलेसियाले प्रत्याभूत गरेका सेवा सुविधा शर्तहरु पालना गरेर मागपत्र ल्याउने कम्पनीहरुले नेपाली कामदार मलेसियमा पठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment