Comments Add Comment

सुस्ता र कालापानीमा प्रविधिमार्फत सीमा अंकित गरौं : झलनाथ खनाल

१ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल–भारत सीमा क्षेत्र सुस्ता र कालापानीमा बैज्ञानिक ढङ्गले सीमाकंन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘सुस्तामा अझैसम्म सीमा अंकित गरेका छैनौं । कालापानीमा हाम्रो सिमाना अंकित भएको छैन । ती सीमाहरु अंकित गर्दा उन्नत प्रविधि प्रयोग गर्नुपर्छ’ सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता खनालले भने ।

सीमा अंकित गर्दा कसैले सीमा स्तम्भ सार्दैमा वा निकाल्दैमा नसर्ने हुनाले प्रंविधिको प्रयोगबाट सीमा अंकित गर्नुंपर्ने उनको भनाइ छ । विवादित ठाउँमा प्रविधिको प्रयोगमार्र्फत सीमा अंकित गर्नुपर्ने खनालले बताए ।

‘प्रविधिको विकास ‘राणा र पञ्चायतले रोक्यो’

वरिष्ठ नेता खनालले राणा र पञ्चायतले विज्ञान र प्रविधिको विकासलाई रोकेका कारण नेपाल पछाडि परेको टिप्पणी गरेका छन् । ‘राणाहरुले विज्ञानलाई महत्व दिँदैनथे । पञ्चायतले जनतालाई सूचनाको पहुँचमै जान दिएन । पछि राजतन्त्रले पनि नेपाललाई विज्ञान र प्रविधिको विकासमा अगाडि बढाउन बाधा पुर्यायो’ नेता खनालले भने ।

अहिले राजनीतिक, समाजिक र सूचनाको चेतनामा नेपाल अगाडि बढिसकेको उल्लेख गर्दै खनालले भने ‘अब ज्ञानको शासन व्यवस्था सुरु भएको छ । हामी विज्ञानको क्षेत्रमा प्रगति गर्न सक्छौं । अरुले गरेका विकासबाट पनि लाभ लिन सक्छौं ।’ उनले कृषि उत्पादन बढाउन, विभिन्न रोगको निदान गर्न, मौसमको सही अनुमानका लागि समेत नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

क्यालेण्डर बनाउँछौं : शिक्षा मन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरराजमणि पोख्रेलले क्यालेण्डर बनाएरै विज्ञान र प्रविधिको विकासमा लाग्ने प्रतिवद्धता जनाए । ‘विज्ञान र प्रविधिको विकास सरकारको उच्च प्राथमिकतामा छ । यसलाई क्यालेण्डर बनाएरै अगाडि बढाउन मन्त्रालय तयार छ’ उनले भने ।

नेपाली जीवन पद्धतीलाई नै वैज्ञानिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेल भन्छन्, ‘रुढीवादी सोचलाई रोक्न पनि वैज्ञानिक जीवनपद्धती आवश्यक हुन्छ । त्यसका लागि अभियानै पनि चलाउनुपर्ने हुन सक्छ ।’

एसईईको नजितामा गणित र विज्ञान विषयमा विद्यार्थीहरु कमजोर देखिएको उल्लेख गर्दै भन्दै पोखरेलले विद्यालय तहमै गणित र विज्ञानप्रति बिद्यार्थीमा रुची बढाउनुपर्नेमा त्यसो गर्न नसकिएको स्वीकार गरे ।

‘घर जगदेखि नै बलियो बनाउने हो । यसमा सचेत छौं र विद्यालय तहदेखि नै यसमा केही गर्ने योजना बनाएका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment