+
+
Shares

भारतीय बाँधले बाँकेका वस्ती डुबानमा, नेपालगञ्ज बजार पनि जलमग्न

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते ७:५६

२ असोज, काठमाडौं । निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेका छन् । पानीले बस्ती डुबे पनि मानवीय र भौतिक क्षति भने भएको छैन ।

केही दिनदेखि परेको वर्षाको पानीले निकास नपाएपछि जिल्लाका बस्तीहरू डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, जिल्लाको खजुरा गाउँपालिका यसपटकको वर्षाले सबैभन्दा धेरै प्रभावित भएको छ । यो गाउँपालिकाको २, ५, ६ र ७ वडाका घरहरू डुबानमा परेका छन् ।

प्रहरीका अनुसार, खजुराका ४ वडामा गरी १५० घरधुरीमा पानी पसेको छ । पानी पसेपछि प्रभावितहरूलाई सकुशल सुरक्षित स्थानमा सारिएको छ । कतिपयले आफन्तकोमा आश्रय लिइरहेका छन् ।

त्यस्तै, जानकी गाउँपालिका पनि डुबानको चपेटामा परेको छ । यद्यपि, यो गाउँपालिकाको वडा नं. १ को ४ घर मात्रै डुबानमा परेका छन् । अन्य घर नडुबे पनि वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

केही दिनदेखि जारी वर्षा रातिदेखि भने बाँकेमा रोकिएको छ । वर्षा रोकिएकाले अवस्था सहज हुने प्रहरीले जनाएको छ ।
वर्षाले जिल्लाको मुख्य बजार नेपालगञ्जलगायत पनि जलमग्न भएको छ । यहाँको सेतु विक चोक, घरबारी टोल, धम्बोझी, सुर्खेत रोडलगायत स्थानका घरमा पानी पसेको छ । नेपालगञ्जदेखि बर्दिया सदरमुकाम जाने सडक अवरुद्ध भएको छ । किरण नालामा आएको बाढीले सडक डुबाउँदा सवारी आवागमन ठप्प भएको हो ।

त्यस्तै, मानखोलाको बाढीले सिन्दुरे, दशबिगाहा, आठ बिगाहालगायतका गाउँ पनि जलमग्न भएका छन् । डुबान प्रभावितलाई जनसेवा माविलगायतका स्थानमा राखिएको छ ।

यसैबीच, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारीसहितको टोलीले डबान क्षेत्रको अवलोकन गरेको छ ।

भारतले सीमा क्षेत्रमा कलकलवा बाँध, लक्ष्मणपुर बाँधलगायत संरचना एकतर्फी रूपमा बनाउँदा पानीले निकास नपाउँदा यो जिल्लाका बस्तीहरू हरेक वर्षजसो डुबानमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?