Comments Add Comment

रामेछापमा ११ जनामा डेंगु, सचेतना कार्यक्रम सञ्चालन गर्दै

२ असोज, रामेछाप । रामेछापमा ११ जना डेंगुको बिरामी फेला परेपछि जिल्ला भरि नै सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले डेंगु रोगको संक्रमण हुन नदिनका लागि जिल्ला समन्वय समितिले स्थानीय तह सँग समन्वय गरेर सचेतना कार्यक्रम सञ्चालन गरिने बताए । उनले जिल्लाका सबै स्थानीय तहलाई यसबाट जोगिने उपायकाबारेमा नागरिकलाई सचेत गराउन आग्रह गरिने बताए ।

डेंगुको संक्रमणबाट बच्नका लागि चेतना मुलक कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई निर्देशन दिने काम भइसकेको रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी दिइन् ।

भदौ ३१ गतेसम्म रामेछापमा ११ जनामा डेंगुको संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले बताइन् । काठमाडौंस्थित बालमैत्री अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगायतका अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा उनीहरुमा डेंगुको संक्रमण देखिएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापले पनि डेंगुबाट बच्ने उपायबारे सजग गराउन सामुदायीक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले जानकारी दिए । नागरिकलई संकट पर्दा प्रहरी सँधै साथ हुने भएकोले समुदाय सँग मिलेर डेंगु विरुद्ध सचेतना अभियान सञ्चालन गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment