Comments Add Comment

संविधान दिवसमा सुन्दरका विद्युतीय बसमा निःशुल्क सेवा

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा दिएको छ । कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

‘संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा विद्युतीय बसमा यात्रुलाई निःशुल्क यात्रा गराएका हौं,’उनले भने,’यसले विद्युतीय बसप्रति नागरिकको सकारात्मक भावना जागृत गर्न पनि सहयोगी पुग्ने विश्वास हामीलाई छ ।’

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको थियो ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको थियो । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।

यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो । तर, सञ्चालन सुरुआत नहुँदै मापदण्डअनुासरको बस नआएको भन्दै फिर्ता पठाइएको थियो ।

सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ५० वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment