Comments Add Comment

अदालतको आदेश : भाले बास्न पाउनुपर्छ

फ्रान्सको एक अदालतले कुखुराको भाले निर्धक्कसँग बास्न पाउने फैसला गरेको छ । माउरिस नामको उक्त भाले बास्दा चर्को आवाजका कारण डिस्टर्ब भएको भनी छिमेकीले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो ।

अदालतको उक्त फैसलासँगै फ्रान्सको ओलेरन टापुका कोरिने फेसेउ नामका व्यक्तिले सो भाले आफ्नो घरमै राख्न पाउने छिन् । तर अदालतको फैसलाको विरुद्धमा उनका छिमेकीहरुले अपिल गर्ने निर्णय गरिरहेका छन् । कुखुराको आवाजले आफूहरुलाई दिक्क बनाएको भन्दै सो कुखुरालाई छिमेकबाट निकाल्नुपर्ने वा चुप बनाउनुपर्ने उनीहरुको माग थियो ।

उक्त भालेको पक्षका वकिलका अनुसार अदालतको फैसलापछि भालेकी मालिक्नी फेसेउ खुसी छिन् ।

अदालतले कुखुराको मामिलामा फेसेउको बेइज्जत गरेको भन्दै उनका छिमेकीहरुलाई १ हजार युरो जरिवानाको फैसला पनि गरेको छ ।

तर छिमेकी पक्षका वकिलले भने फेसेउले नियतबस छिमेकीलाई डिस्टर्ब गर्ने मनसायका साथ झ्यालको नजिकै कुखुरा राख्ने र झ्याल खुला राख्ने गरेको बताएका छन् ।

उता भालेलाई बास्न दिन नहुने भन्दै अदालतमा मुद्दा परेसँगै जनावर अधिकारकर्मीहरुले १ लाख २० हजार हस्ताक्षर संकलन गरे र उक्त भालेलाई स्वतन्त्र रुपमा बास्न दिनुपर्ने माग गरे । गत जुलाईमा अदालतमा भएको सुनुवाइका क्रममा उनीहरुले अदालतमा ठूलो संख्यामा कुखुराहरु भेला गराएका थिए ।

स्मरण रहोस् फ्रान्समा चर्चको घण्टी, गाईको काँधमा बाँधिएको घण्टीले डिस्टर्ब गरेको तथा गाईको गोठबाट गन्ध आएको जस्ता विषयमा समेत अदालतमा मुद्दा पर्ने गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment