Comments Add Comment

प्रधानमन्त्री निवासको शिलान्यास गर्दै ओली भने- यो मेरा लागि मात्र होइन

कस्तो बन्नेछ प्रधानमन्त्री निवास ?

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गरे । त्यस क्रममा उनले आफ्ना आलोचकहरुलाई जवाफ दिन पनि भ्याएका छन् ।

संसद भवनका लागि किन धेरै खर्च गरेको भन्दै आलोचना भएकोमा प्रधानमन्त्री ओलीले गुनासो गरे । उनले भने, ‘नबनाउँदा किन नबनाएको भनेर आलोचना गर्नु र बनाउन लाग्दा किन चाहियो भनेर आलोचना गर्नु मानिसहरुको नकारात्मक मानसिकताको उपज हो ।’

प्रधानमन्त्री ओलीले नयाँ निवास आफ्नो लागि नभएको बताए । उनले भने, ‘म अहिले ४१ औं प्रधानमन्त्री छु । यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

अबका प्रधानमनत्री छिटोछिटो परिवर्तन नहुने भन्दै उनले त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले यस भवनमा आफ्नो कार्यकाल गुजार्ने दावी गरे । ‘मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो । छेउमा राष्ट्र बैंक बन्दैछ । त्यसको ठाङठाङ ठुङठुङ, यता आफ्नै भवनको ठाङठाङ ठुङठुङ । राति पनि दिउँसो पनि मैले ठाङठाङ ठुङठुङ सुन्नुपर्छ ,’ प्रधानमन्त्री ओलीले भने, अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ । किनकी त्यतिबेला सबै बनिसकेका हुन्छन् ।’

कस्तो बन्नेछ प्रधानमन्त्री निवास ?

हालको बालुवाटारस्थित हालको निवास परिसरभित्रै नयाँ भवनको शिलान्यास गरिएको छ । ४० करोड रुपैयाँ (भ्याटबाहेक) खर्च गरेर नयाँ भवन बनाउन लागिएको हो ।

प्रधानमन्त्री निवासका लागि दुईवटा नयाँ भवन बन्ने छन् । साढे दुई तलाको एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि हुने छ भने तीन तलाको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोग गरिने छ । निजी भवन बनाइसकेपछि मात्रै सार्वजनिक भवन बनाउन थालिने छ ।

निजी भवनमा के–के हुन्छ ?

प्रधानमन्त्रीले मात्रै प्रयोग गर्ने भएकाले यो भवनलाई निजी भवन भनिएको हो । करिब एक रोपनी क्षेत्रफलमा फैलिने यो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० युनिट निर्माण गरिनेछ । जहाँ पाहुना रुम, लिभिङ रुम, किचन र डाइनिङ, लुगा धुने लाउन्ड्री, सुरक्षा कोठालगायतका संरचना हुने छन्  ।

भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ युनिट बनाइनेछ । यो तलामा प्रधानमन्त्री सुत्ने कोठा, पढ्ने कोठा, पूजा कोठा र खाना खाने कोठा हुनेछन् ।

दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि छुट्याइने छ । जहाँ विभिन्न ११ युनिट निर्माण गरिनेछ ।

यस्तो हुने छ सार्वजनिक भवन

तीन तलाको सार्वजनिक भवन करिब दुई रोपनी क्षेत्रफलमा निर्माण हुने छ । भवनको बीचमा नेपाली परम्परागत शैलीको चोक हुने छ । चोकमा नेपालको संस्कृति झल्कने कला र मुख्य धरोहरको नमूनासमेत निर्माण गरिनेछ ।

भुइँतलामा अति विशिष्ट व्यक्तित्वसँगको भेटघाट कक्ष हुने छ । भुइँ तलामै आपतकालीन समयमा मन्त्रिषरिषद बैठक बस्नका लागि क्याबिनेट हल पनि बनाइने छ । प्रधानमन्त्रीसँग मन्त्रीहरूसँगको भेटघाट पनि यहीँ हुनेछ ।

४० जना क्षमताको डाइनिङ हल, भान्सा कोठा र सञ्चार कक्ष पनि हुने छ । सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष पनि भुइँ तलामै हुनेछ ।

पहिलो तलामा सार्वसाधारणसँग भेटघाट गर्ने र भोजभतेर गर्ने लगायतका कोठा हुने छन् । पहिलो तलामै प्रधानमन्त्रीले विभिन्न संस्था, व्यक्ति र देशबाट पाएका उपहार राख्ने ठाउँ पनि हुने छ । यो तलामा दुईवटा प्रतीक्षा कक्ष र एउटा होल्डिङ हल हुनेछ । होल्डिङ हलमा प्रतीक्षा कक्षबाट प्रधानमन्त्रीलाई भेट्ने कोठासम्म जाने आगन्तुकलाई केहीबेर पर्खाइने छ ।

प्रधानमन्त्रीको पीएको कोठा, सैलुन, डाक्टर रुम, डेन्टल रुम, भान्सा र भान्साको सामान राख्ने कोठा पनि पहिलो तलामै हुनेछन् ।

भवनको तेस्रो तलामा प्रधानमन्त्री कार्यालय कक्ष, पुस्तकालय, स्टुडियो, लबीलगायत संरचना हुनेछन् । दुबै भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment