Comments Add Comment

बच्चालाई जीवनप्रति आशावादी बनाउनुहोस्

जीवनप्रति सधै आशावादी बन्नुपर्छ । यसले मान्छेमा उर्जा र उत्साह दिलाउँछ । त्यसैले त हरेक आमाबुवा चाहन्छन्, मेरा बच्चा जीवनप्रति आशावादी होस् ।

जीवनमा आउने हरेक चुनौतीहरुलाई डटेर सामना गर्ने हिम्मत आफ्ना सन्तानमा होस् भन्ने पनि उनीहरुको चाहाना हुन्छ । एउटा अध्ययन अनुसार आशवादी बाल-बालिकाहरु पढाई र खेलकुदमा पनि राम्रो प्रदर्शन गर्न सक्छन् । अतः बालबालिकामा यस किसिमको सकारात्मक भाव कसरी विकास गर्ने त ?

नकारात्मक कुरा गर्नु हुँदैन

बाल-बालिकाको अगाडि हामी यो काम कहिल्यै गर्न सक्दैनौं, मेरो काम कहिल्यै सकिँदैन जस्ता कुरा गर्नै हुँदैन । हरेक दिनका यी गुनासाहरुले तपाईंका सन्तानहरुमा सकारात्मकता आउन दिँदैन । बालबालिकाहरुको अगाडि आर्थिक समस्याहरु र दुःखको समयलाई लिएर गुनासो गर्ने गल्ति कहिल्यै गर्नु हुँदैन ।

यसको अर्थ बालबालिकाहरुसंग आफ्नो समस्या भन्दै नभन्नु भन्ने पनि होइन तर उनीहरु भित्र रहेकेा आशा र कुनै पनि समस्यालाई समाधान गर्न सक्ने विचारलाई कमजोर हुन दिनु हुँदैन ।

बालबालिकाहरुको प्रशंसा गर्नुपर्छ

बालबालिकाहरुलाई उनीहरुको उमेर अनुसार घरमा साना-तिना काम सुम्पनु पर्छ र काम पुरा गरेपछि उनीहरुको प्रशंसा पनि गर्नु पर्छ । त्यसो गर्दा तपाईंले उनीहरुलाई आफ्नो महत्व दर्शाउने मौका दिनुहुन्छ र उनीहरु पनि आफुलाई प्रमाणित गर्दै सकारात्मक अनुभव गर्न थाल्छन् ।

वास्तविकतासंग परिचित गराउनुहोस्

बच्चालाई ठुला-ठुला सपना देखाउने अथवा झुठो आश्वासन दिनुभन्दा माया र नरम शब्दले वास्तविकता बताउनु पर्छ । यदि तपाईंले आफ्ना सन्तानहरुलाई स्कुलको पहिलो दिन नै राम्रो साथी बनाउन सफल हुन्छौ भन्नु भयो र उसले त्यसो गर्न सकेन भने उ आफ्नो योग्यतामा नै शंका गर्न सक्ने सम्भावना हुन्छ ।

तपाईंले उसलाई साथी बनाउन केही समय लाग्छ, तर साथी बनेपछि स्कुल रमाइलो लाग्न सक्छ भन्ने जस्ता वास्तविक कुरा गर्नु भयो भने उसले यर्थात के हो बुझ्छ ।

बालबालिकाको दृष्टिकोणमा परिर्वतन ल्याउनुहोस्

बालबालिकालाई हरेक स्थितिमा सकारात्मकता खोज्न सिकाउनु पर्छ । उनीहरुले यदि कुनै बिषयमा राम्रो नम्बर ल्याएनन् भने उनीहरुलाई गालि गर्नु अथवा पिट्नु भन्दा त्यो विषयसंग सम्बन्धित आफ्नो बाल्यवस्थाको अनुभव सुनाउनु पर्छ । आफुले कति संघर्ष गरेर आफ्नो कमजोरीलाई हटाउनु भएको थियो त्यो कुरा आफ्ना सन्तानहरुलाई बताउनु पर्छ ।

उत्सव मनाउनुहोस्

सानो-ठुलो जस्तो अवसर भएता पनि यसलाई रमाइलोका साथ मनाउनु पर्छ । खुशी बाँड्नाले बढ्छ । जीवनको हरेक साना भन्दा साना अवसरलाई स्मरणिय बनाउनु पर्छ । बालबालिकालाई उत्सवको तस्वीर खिच्न अथवा सजाएर राख्नको लागि प्रोत्साहित गर्नुपर्छ । जसले उनीहरु परिवार र सम्बन्धको महत्व बुझ्न सकुन । यसले उनीहरुलाई आफ्नाको साथले उर्जावान भएको अनुभव गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment