Comments Add Comment

‘सक्किगोनी’ को पहिलो भागले कति हँसायो ?

नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए । तर, त्यही टिमले नयाँ नाममा नेपाल टेलिभिजनबाटै अर्को कमेडी सिरियल सुरु गरेको छ ।

जिग्री-पाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को पहिलो एपीसोड बिहीबार बेलुकी प्रशारण भयो । निकै प्रतिक्षित बनेको यो एपिसोडले दर्शकलाई कति सन्तुष्टी दियो त ? यूट्यूवमा आएका कमेन्टहरु हेर्दा निर्माण पक्ष उत्साहित बनेको हुनुपर्छ ।

यो समाचार तयार पार्दासम्म सक्किगोनीको पहिलो एपिसोड करिब ८ लाखपटक हेरिएको छ भने १० हजारभन्दा बढि प्रतिक्रियाहरु आइसकेका छन् । अधिकांस प्रतिक्रिया सकारात्मक छन् ।

पहिलो एपिसोडको सुरुवातमा पाँडे र जयन्तेले लुडो खेलिरहेको देखाइएको छ । त्यसमा पाँडेले बोलेको पहिलो डाइलग अर्थपूर्ण छ । माथि उक्लिसकेको आफ्नो गोटी साँपको मुखमा परेर तल झरेपछि उनी भन्छन्, ‘कत्रो रगत पसिना लगाएर माथि उकालेको, फेरि तलैबाट सुरु गर्नुपर्ने भयो ।’

जिग्री-पाँडे अहिले ठीक यही अवस्थामा छन् । उनीहरुले सुरुवात गरेको भद्रगोलले निकै उचाई लियो र लोकप्रियता कमायो । तर, अहिले फेरि उनीहरु नयाँ प्रस्थानविन्दूमा आइपुगेका छन् । पहिलो एपिसोडबाट सुरु गर्नुपरेको छ ।

‘सक्किगोनी’मा देखाइएको गाउँ नयाँ भए पनि पात्रहरु सबै पुरानै हुन् । साथै यसअघि भद्रगोलबाट बाहिरिएका कलाकार सीपी पुडासैनी (धतुरे) र शंकर आचार्य (वरिष्ठे) ले पुनरागमन गरेका छन् । कलाकारहरुको भीड धेरै भएकाले पहिलो एपिसोडमा सबैले स्थान पाएनन् ।

पहिलो एपिसोड पाँडे र धतुरेमाथि बढी केन्द्रित छ । साथै नयाँ कलाकार मुन्नी प्रियना आचार्य (मुन्नी) लाई पनि हाइलाइट गरिएको छ ।

भद्रगोलका पछिल्ला दुई एपिसोडमा मात्र अभिनय गरेकी मुन्नी सामाजिक सञ्जालमा चर्चित बनेकी थिइन् । उनले अबका एपिसोडहरुमा राम्रै स्थान पाउने संकेत देखिएको छ ।

डेंगुको विषयवस्तुलाई हास्यास्पद ढंगले पेश गरेर कथालाई समसामयिक बनाउन खोजिएको छ । यही टिमले बनाएका भद्रगोलका पछिल्ला एपिसोडहरु कमजोर स्कृप्टका कारण फितला हुँदै गएका थिए । ‘सक्किगोनी’ को पहिलो एपिसोडमा हेर्दा स्कृप्टमा मिहिनेत गरिएको देखिन्छ ।

धतुरेलाई पाँडेले चौतारीमा लगेर सुताइदिएको र बलेले सन्नी लियोनीको तस्वीरलाई माता भन्दै पूजा गरेका दृष्यहरु रमाइला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment