Comments Add Comment

एनआरएनए अध्यक्षमा कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा

३ असोज,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तको उम्मेदवारी औपचारिक रुपमा घोषणा भएको छ । दोस्रो कार्यकाल उपाध्यक्ष भइरहेका पन्तले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशन आगामी असोज २८ देखि काठमाडौंमा सुरू हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा विश्वभरका बिभिन्न मुलुकका निर्वाचन पर्यवेक्षण गरी काठमाडौं आएका पन्तले बिगतको सहमति अनुसार आफू सर्वसम्मत अध्यक्ष हुने दावी गरे ।

अघिल्लो पटक अध्यक्षको उम्मेदवार बन्न खोज्दा एनआरएनएका पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने लगायतले उनलाई अर्कोपटक अध्यक्ष बनाउने सहमति गरी उपाध्यक्षमा दोहोर्‍याएका थिए । पन्तले सोही सहमति अनुसार यसपटक आफू सर्वसम्मत हुने बताएका हुन् ।

पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र ब्यापक सहभागिताका पाँच मन्त्र समेत सार्वज्निक गरेका छन् ।

पन्तले गैरआवासीय नेपाली संघको लगानीमा चलिरहेका परियोजनालाई चाँडो सम्पन्न गरी हस्तान्तरण गर्ने कार्यलाई उच्च प्राथमिकता दिने बताए । उनले भ्रमण वर्ष २०२० सफल बनाउन विश्वभरबाट पर्यटक नेपाल भित्र्याउने एजेण्डालाई यो वर्ष मुख्य प्राथमिकतामा राख्ने समेत बताए ।

पन्तले शुक्रबार आयाजना गरेको उम्मेद्वारी घोषणा कार्यक्रममा ‘भिजन २०२०’ को योजना आफ्नो मूल नारा भएको बताए । उनले एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको योजना नै आफ्नो योजना भएको समेत बताए ।

पन्तले एनआरएनए संरचनामा आफू अध्यक्षका लागि बरिष्ठतम र निरन्तर काम गरेको व्यक्ति भएकाले सबैको साथ सहयोग पाउने दावी गरे । १५ वर्षदेखि एनआरएनए अभियानमा रहेका पन्तले यसअघि एक कार्यकाल महासचिवसमेत चलाइसकेका छन् ।

नेपालमा एनआरएनएमैत्री नीति,नियम र संविधान बनाउन तथा लगानी समितिको संयोजकका हैसियतले लगानीको वातावरण निर्माणमा पन्तको भूमिका महत्वपूर्ण रहेको कार्यक्रममा एनआरएनए नेताहरुले बताए ।

भूकम्पलगायत नेपालमा बाढी,पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत,उद्धार तथा पुनर्स्थापनाको अभियानको संयोजन समेत एनआरएनएको तर्फबाट पन्तलेनै गरेका थिए । उनी हाल लगानी सम्मेलनको प्रतिबद्धता बमोजिम १० अर्बको सामुहिक लगानी कोषलाई मूर्त रुप दिने अभियानमा छन् ।

गोर्खाको फुजेलका स्थायी बासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसाय गरेर बसेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment