Comments Add Comment

संविधानले दिएको अधिकार जनताले पाए संविधान दिवस सार्थक : मुख्यमन्त्री भट्ट

३ असोज, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले परिकल्पना गरेको जनताका अधिकार सुनिश्चित गर्न सकेमात्र संविधान दिवसले सार्थकता पाउने बताएका छन् । नेपालको संविधान संसारकै उत्कृष्ट संविधान रहेको उल्लेख गर्दै उनले यसको पालना गर्नका लागि सबै राजनीतिक दल, सरकार नागरिक दृढ हुनुपर्ने बताए ।

संविधान दिवसका अवसरसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले राष्ट्र र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै यो प्रदेशलाई सबैको साझा फूलबारीको रुपमा अघि बढाउन सरकार कटिबद्ध रहेको पनि बताए ।

शुक्रबार विहान धनगढीको ट्राफिक चोकबाट बाजागाजा र झाँकीसहितको प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक विद्यार्थीलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसर पारेर असल चालचलन, आचरण सुधार र ४० प्रतिशत कैद भुक्तान गरेका ४ जना कैदी बन्दीहरुलाई जिल्ला कारागार कैलालीले रिहा गरेको छ । रिहा हुनेहरुमा एउटा ज्यान मार्ने उद्योग र बाँकी सवारी मुद्धामा जेल जीवन बिताइरहेका कैदीहरु थिए ।

ज्यान मार्ने उद्योग अन्तर्गत कैद जिवन विताइरहेका कैलालीका विपतराम चौधरी, सवारी ज्यान उद्योगका टीकापुर नगरपालिका ४ का राजाराम थारु, कञ्चनपुर भीमदत्त नगरपालिका ८ का मोती उराउ र सोही मुद्धाका बर्दीयाका हस्तबहादुर शाही रिहा भएका हुन् ।

त्यस्तै संविधान दिवसकै अवसर पारेर सामाजिक विकास मन्त्रालयले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा १९ जनाले रगतदान गरेको रक्तसञ्चार केन्द्र धनगढीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment