Comments Add Comment

कम्युनिष्ट बनेर देखाउन नेकपालाई बिजुक्छेको चुनौती

३ असोज, भक्तपुर । नेपाल मजदूर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट समाजवाद सम्भव नरहेको बताएका छन् ।

शुक्रबारबाट सुरू भएको  पार्टीको सातौं महाविधेशनको उद्घाटन गर्दै बिजुक्छेले नेकपा सरकारमा सामन्तवाद चरित्र देखा परेको बताए । बन्दुक बोक्दैमा कम्युनिष्ट बन्न नसक्ने भन्दै उनले भने, ‘क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्यबाट हुन सक्दैन, नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन नेकपालाई चुनौती दिन्छु ।’

नेमकिपा राजनीतिक चिन्तन बोकेको आफ्नै नीतिमा चल्ने र रचनात्मक आलोचना गर्ने पार्टी भएको बताउँदै उनले नेमकिपाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै आएको बताए ।

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दूरसँग नागरिकता साट्ने गरी नागरिकता विधेयक पारित गर्न नहुने बताए ।

यसअघि भक्तपुरको च्याम्हसिंह, मध्यपुरथिमिको बोडे र काठमाडौंको कोटेश्वरबाट बाजागाजाका साथ शुरु भएको र्याली सल्लाघारीमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । ५ गतेसम्म सञ्चालन चल्ने महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।

विधान संशोधनमार्फत हाल रहेको २५ सदस्यीय केन्द्रीय समितिलाई परिमार्जन गरी सङ्ख्या बढाउने र पार्टीमा महासचिवको व्यवस्था गर्नेबारे छलफल गरिने बताइएको छ । पार्टी स्थापनाकालदेखि हालसम्म बिजुक्छे पार्टीमा अध्यक्ष रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment