Comments Add Comment

स्वस्तिमासँग स्वास्थ्यको कुरा : कमै मात्र औषधी खाने गर्छु

पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन्, स्वस्तिमा खड्का । फरक-फरक भूमिकामा आफुलाई अब्बल सावित गरेकी उनले चलचित्र बुलबुलबाट निकै तारिफ बटुलिन् । बुलबुलमा उनले निर्वाह गरेको रणकलाको भूमिका शक्तिशाली थियो ।

करियरको पूवार्द्धमा निर्देशक निश्चल बस्नेतसँग विवाह गरेपछि उनले करियरलाई बिट मार्नेछन् वा अरु सशक्त रुपमा आउनेछन् ? चासो थियो । घरजाम गरेपछि अभिनेत्रीहरु प्राय चलचित्र क्षेत्रबाट ओझेल हुन्छन् । यद्यपि ‘लुट’ जस्तो चलचित्र बनाएर वाहवाही कमाइरहेका निर्देशक वस्नेतकी श्रीमती भएकै कारण उनले चलचित्रमा राम्रो मौका पाउँछ भन्ने लख पनि काटिएको थियो । अर्थात निर्देशक बस्नेतकै कारण उनी पनि चल्नेछिन् भन्ने लागेको थियो । यद्यपि स्वस्तिमा न त घर गृहस्थीमा थन्को लागिन् न निर्देशक निश्चल बस्नेतकै पछि लागिन् । आफ्नै बलबुतोमा उनले आफुलाई अब्बल सावित गरिन् र फिल्ममा छाइरहिन् ।

अहिले अवस्था कस्तो छ भने, स्वस्तिमालाई भ्याई नभ्याई छ । एकपछि अर्को चलचित्रको छायांकनले उनलाई र्फसद दिएको छैन । यस्तो व्यस्ततामा उनले आफुलाई कसरी फिट एन्ड फाइन राखेका छन् ? कसरी आफ्नो स्वास्थ्यको ख्याल राखेका छन् ? यसै सेरोफेरोमा गरिएको छोटो वार्तालाप ।

तपाईंले कुनै रोग विरुद्ध औषधी खाइरहनुभएको छ ?

अहिलेसम्म छैन ।

तपाईंको स्वास्थ्य समस्या केही छ ?

त्यस्तो समस्या त छैन । अलि अलि ग्याष्ट्रिक छ ।

अस्पताल धाउनुपर्दा कस्तो महसुष हुन्छ ?

हस्पिटल पनि खासै गएको छैन । धउनु पर्यो भने त पक्कै राम्रो लाग्दैन नि ।

आफुलाई केही रोग लागेको छ कि भनेर कति भयभित रहनुहुन्छ ?

अरुलाई रोग लागेको देखेर चाहीँ डर लाग्छ । अनि चेकअपको लागि पनि जाउँ कि भन्ने लाग्छ ।

नियमित स्वास्थ्य जाँच गराउनुहुन्छ ?

नियमित चेकअप गराउदिन ।

रोग लागेमा उपचार गर्न कहाँ जानुहुन्छ ? नियमित चिकित्सक छन् ?

यहीँ हस्पिटल जाने भन्ने हुदैँन । रोग हेरेर हस्पिटल छानिन्छ । डक्टरको कुरामा पनि त्यहीँ हो ।

आफुलाई स्वस्थ्य राख्न के गर्नुहुन्छ ?

औषधीले आफ्नो शारीरिक शक्तिलाई कमजोर बनाउँछ । त्यसैले म कमै मात्र औषधी खाने गर्छु । सामान्य रुघाखोकी लाग्यो भने आफैँ घरयासी उपचार गर्छु ।

खानेकुरा खाइरहँदा स्वास्थ्यको ख्याल गर्नुहुन्छ ?

खानेकुरामा चाहीँ विषेश ध्यान दिन्छु । सकेसम्म फलफुल खाने गर्छु ।

अस्पतालमा अरुको लागि कुरुवा बस्नुभएको छ ?

अहिलेसम्म एकचोटी मात्र । मेरो सासु आमा बिरामी हुनुभएको बेला ।

 नेपालको स्वास्थ्य क्षेत्र कति सुलभ र छरितो लाग्छ ?

नीजि क्षेत्रका हस्पिटलहरु ठिकै छन् । सरकारी हस्पिटलहरुमा अझै केही ढिलासुस्ती हो कि जस्तो लाग्छ ।

प्रस्तुती :  दिप्सन लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment