Comments Add Comment

दशैंमा शान्ति सुरक्षा सुदृढ बनाउँछौं : गृहमन्त्री थापा

६ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको पनि उनले जानकारी दिए ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताएका हुन् ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन् । उनले भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने पनि बताए ।

गृहसचिव प्रेमकुमार राईले नेपालमा पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नचल्ने भएकाले ती नोट बोक्नेहरुले दुख पाउने सम्भावना रहेको बताए । ती नोट नेपालमा प्रचलन गर्न पाइने हो कि होइन भन्ने विषय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रष्ट नपारेकाले समस्या हुन सक्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment