Comments Add Comment

कटारीमा एउटै धाराको महशुल १७ हजार

७ असोज, उदयपुर । एक महिना धाराको पानी प्रयोग गरेको बिल १७ हजार बढी आयो भन्दा पत्याउन गाह्रो छ । तर उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको नयाँ धाराको महशुल एकै महिनामा १७ हजार रुपैयाँ उठेपछि उपभोक्ता आश्चर्यमा परेका छन् ।

कटारी ३ का कैशालप्रसाद साहको खानेपानीको महशुल १७ हजार ४ सय २ आएको छ । त्यसैगरी कटारी ३ कै रुकमणी घिमिरेको नाममा रहेको बर्रेली होटल सञ्चालक पियुमती गिरीले सञ्चालन गर्दै आएको धाराको महशुल पनि १५ हजार २ सय ७४ रुपैयाँ उठेको छ ।

‘मोटर चल्दा सबै मोटरबाटै काम चलाउँछौं तर कहिलेकाहीँ मोटर नचल्दा पिउने र भाँडा धुनेबाहेक पानी प्रयोग गरेका छैनौं तर पनि यत्रो बिल आयो’ गिरीले भनिन् ‘यो धारा नहुँदा यति नै कामका लागि ७ हजारको मिनरल वाटरले पुग्थ्यो ।’

एउटा सामान्य परिवारलाई पुरै घरपरिवारको घरखर्च धान्ने रकम बराबरको पानीकै महशुल आएपछि उपभोक्ताहरु अन्यौलमा छन् । २८ सय ५० धाराको लक्ष्य रहेकोमा आयोजनाले हाल १४ हजारमा १८ सय ३९ र गरिबीका रेखामुनि रहेका १ सय ८३ लाई निशुल्क धारा वितरण गरेको छ । अधिकांश उपभोक्ताको गुनासो महशुल चर्को भएको भन्ने छ ।

धारा जडानमा सिण्डिकेट

४ वर्ष पहिले प्रतिधारा १४ हजारका दरले रकम संकलन गरिएको थियो सो नयाँ धारा अहिले जडानको अन्तिम चरणमा छ । आयोजनामा अहिले नयाँ धारा खरिदमा भने सिण्डिकेट छ । ४ वर्ष पहिले कटारीका व्यापारी, व्यवसायीहरुले प्रतिव्यक्ति एकभन्दा बढी एकैजनाले २५ वटा धारासम्मको पैसा जम्मा गरेर राखेका थिए । सोही धारामात्रै नयाँ उपभोक्ताहरुले व्यक्तिसँग खरिद गर्नुपर्ने बाध्यता छ ।

त्यतिबेला प्रतिधारा १४ हजार रुपैयाँ तिरेर लिएका व्यक्तिले अहिले ४० हजारसम्ममा बिक्री गरिरहेका छन् । त्यतिबेला पैसा तिर्न सक्नेहरुले अतिरिक्त राखेका धाराको संख्या ५ सय ५० रहेका छन् । उक्त धाराहरु बिक्री नभएसम्म समितिले अन्य धारा बिक्री नगर्ने भएपछि नयाँ धारा जोड्नुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

कुल ५३ करोड ७६ लाख ५९ हजार रुपैयाँको उक्त योजनाका लागि नेपाल सरकारले ७० प्रतिशत, नगर विकास कोषले २५ प्रतिशत अनुदान सहयोग गरेको थियो । आयोजना संञ्चालन गर्न उपभोक्ता समितिले २ करोड ५८ लाख संकलन गर्नुपर्ने थियो ।

उपभोक्ताबाट त्यति रकम जुटाउन नसक्ने भएपछि समितिको आग्रहमा सहयोग स्वरुप अतिरिक्त धारा दिने र धारा सञ्चालनमा आएपछि ४० हजारमा बेच्ने र ती धारा नबिकेसम्म अन्य वितरण नगर्ने निर्णय नै भएको उपभोक्ता समितिका सचिव बेदविक्रम कार्कीले बताए ।

समिति स्थापना भएको एक दशक भए पनि साधारणसभा नैभएको छैन । सचिव कार्कीले आयोजना सफल पारेपछि मात्रै साधारण सभाको तयारी गर्ने बताए ।

रेनु पराजुलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment