Comments Add Comment

पर्वतारोहीको उद्दार अगाडि विभागमा खबर नगरे कारबाही

८ असोज, काठमाडौं । ‘फेक रेस्क्यू’ निरुत्साहित गर्न सरकारले बनाएको कार्यविधि विपरित उच्च हिमाली भेगबाट उद्दार सम्बन्धी काम भइरहेको पाइएको छ । पर्यटक खोज, उद्दार, उपचार तथा अनुमगन सम्बन्धी कार्यविधि २०७५ अनुसार पर्वतारोहीको उद्दार गर्नु अगाडि पर्यटन विभागलाई अनिवार्य जानकारी गराउनु पर्ने प्रावधान छ ।

यो प्रावधान सन् २०१८ को शरद ऋतुबाट थालनी भएको थियो । तर, यो प्रावधानको प्रभावकारी कार्यान्वयन हुन नसकेको विभागले जानकारी दिएको छ ।

विभागले पर्वतारोहीसहित अनुमति प्राप्त सदस्य, सरदार, पथप्रदर्शक, उचाईका कामदार, आधार शिविर र स्थानीय कामदार, पदयात्री तथा पदयात्रीका सहयोगीलाई उद्दार गर्नु अगाडी अनिवार्य रुपमा विभागमा जानकारी गराउन सरोकारवालालाई सचेत गराएको छ । अब हिमाली भेगबाट कुनै पनि व्यक्तिलाई उद्दार गर्नु अगाडी विभागमा जानकारी नगराए कानून बमोजिम कारवाही हुने विभागको होटेल तथा पर्वतारोहण शाखाले जनायो ।

हिमाली भेगमा अधिक नक्कली उद्दार हुने गरेको गुनासोपछि गत वर्ष सरकारले छानविन समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनको सिफारिसका आधारमा सरकारले कार्यविधि बनाएर लागु गरेको छ । कार्यविधि अनुसार अब हरेक प्रकारको रेस्क्यू अगाडी त्यसको जानकारी सरकारी निकायलाई दिनुपर्ने छ । उच्च हिमाली भेगमा अब पदयात्राको मौसम प्रारम्भ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment