+
+

पोखराको ‘पप्पु’ : न ठेक्का समयमा सक्छ, न भवनको भाडा बुझाउँछ

विकास रोकामगर विकास रोकामगर
२०७६ असोज ८ गते १४:२१

८ साउन, पोखरा । सिर्जना चोकमा रहेको पोखरा महानगरपालिकाको तीन तले भवन २०७३ सालदेखि जस्ट इन टाइम नामक कम्पनीले भाडामा लिएको छ । पाँच वर्षका लागि भाडा सम्झौता गरेको उसले महानगरलाई भाडा भने तिरेको छैन ।

भाडा नतिरेको भन्दै महानगरले एक करोड बैंक ग्यारेन्टी जफत गरिसकेको छ । तर महानगरपालिकाले भाडा र जरिवाना गरी एक करोड भन्दा बढी असुल गर्न बाँकी छ । जस्ट इनले भदौसम्मको बुझाउन बाँकी भाडा ९४ लाख हुन्छ । यसमा समयमै भाडा नतिर्दा लाग्ने थप १० प्रतिशत दस्तुर जोड्न बाँकी नै छ ।

महानगर र ठेकेदार कम्पनी जस्ट इन टाइमसँग २०७३ फागुन ४ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पोखरा सिर्जनाचोकमा रहेको सपिङ कम्प्लेक्सको कम्पनीले वार्षिक ७६ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । साथै समयमा भाडा नबुझाए सम्झौता तोडिने र कारबाही गर्न सकिने प्रष्ट व्यवस्था छ ।

‘दोस्रो पक्षले प्रथम पक्षलाई जम्मा भाडाको ५० प्रतिशत र बाँकी रकमको बैंक दाखिला प्रत्येक वर्ष अग्रिम रुपमा एकैचोटी बुझाउनु पर्नेछ । यदि नबुझाएमा यो कारनामामा स्वतः तोडिने तर्फको कारबाही पहिलो पक्षले गर्न सक्नेछ,’ सम्झौताको दोस्रो बुँदामा उल्लेख छ । तर महानगरले त्यसो गरेको छैन ।

उल्टो महानगरबाट कम्पनीलाई हुने भुक्तानीको २५ प्रतिशत रकम कटाएर दिने गरी सहुलियत दिएको छ । यति मात्र होइन, महानगरबाट पटकपटक अन्य ठेक्का पाएको छ ।

कम्पनीले महानगरसँग पोखरा महानगरको सरसफाइ, बाटो निर्माणसहित ८ वटाभन्दा बढी टेन्डर हात पारेको छ, जसमध्ये तीन वटा ठेक्का भने भाडा नतिर्दा नतिर्दै दिइएको हो । यो ठेक्कामा पनि जस्ट इन कम्पनीले समयमा काम भने गरेको छैन ।

कम्पनीले ठेक्का लिएको जियपुर सुर्के मैदान बाटो सुधार कार्य अहिले पनि अलपत्र छ, जबकी ठेक्का अवधि भदौमा सकिएको छ । महानगर योजना महाशाखाका वरिष्ठ इन्जिनियर राजु रेग्मीका अनुसार हालसम्म ७० प्रतिशत काम भएको छ । ‘सम्झौता सकिइसक्यो । ६४ प्रतिशत भुक्तानी पनि भइसक्यो,’ उनले भने ।

जस्ट इन टाइमले ठेक्का लिएको मोहरिया, लामस्वारा, स्याङखुदी, आनन्दज्योति, लप्सीडाँडा सडकखण्डको काम पनि अझैसम्म सुरु गरेको छैन । कात्तिकभित्र काम सक्नुपर्ने भएपनि अहिलेसम्म सिन्को समेत भाँचिएको छैन ।

चापापानी सडकखण्डको काम पनि अलपत्र छ, जबकी सम्झौता अनुसार गत वैशाखमै काम सक्नुपर्ने थियो । चापापानी रोड वडामार्फत काम भएको भन्दै रेग्मीले भने, ‘पेनाल्टी गरेरै भए पनि समयमै काम सिध्याउँछौं ।

कानुनअनुसार म्याद सकिएको २ सय दिनसम्म टेन्डर मूल्यको ०.५ प्रतिशत जरिवाना लगाइन्छ । त्यसपछि पनि काम पूरा नभए सम्झौता खारेज हुने व्यवस्था छ ।

अधिकांश ठेक्का पट्टामा काम नगरेको कम्पनीले भने सिर्जना चोकको भवनको ९ महिनाको भाडा नबुझाउने हाकाहाक्की बताउँछ । ‘मैले सम्झौता भएको ९ महिनापछि मात्रै भवन पाएँ । त्यसअवधिमा मेरो थुप्रै नोक्सानी भएको छ । त्यसवापत छुट पाउन निवेदन दिएको छु,’ कम्पनीका सुरेन्द्र बस्नेत भन्छन् ।

सम्झौता रद्द गर्ने प्रक्रियामा गइसक्यौं : अधिकृत शर्मा

महानगरका कर अधिकृत छवि शर्मा कम्पनीले सिर्जना चोकमा बनेको व्यापारिक भवन प्रयोग गरेवापत नतिरेको भाडा असुल गरेर सम्झौता रद्द गर्न लागेको जानकारी दिए । ‘कम्पनीको महानगरसँग धेरै वटा कारोबार छ । तिनै कारोबारबाट भाडा असुलउपर गरी सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने ।

कम्पनीले तिर्न बाँकी र महानगरबाट जाने भुक्तानीबारे अध्ययन गरेर सम्झौता रद्द गरिने उनले बताए । ‘मंगलबारमात्रै यस विषयमा बृहत छलफल ग¥यौं । छलफलबाट कम्पनीसँग सम्झौता रद्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अब सम्पूर्ण कारोबार हिसाबमिलान गरेर सम्झौता रद्द गर्ने भएका छौं ।’

पोखराका मेयर जिसीले पनि जस्ट इन टाइम कम्पनीले महानगरका कुनै पनि आयोजनामा सहभागी हुन नपाउने गरी निर्णय गर्न लागेको जानकारी दिए । उनले भने, ‘महानगरले सबै भाडा असुलउपर गर्छ । त्यसपछि बाँकी प्रक्रिया अघि बढ्छ ।’

ठेक्का लिने तर समयमा काम पूरा नगर्ने, गरे पनि गुणस्तरहीन गर्ने भनी हाल नेपालमा पप्पु कन्स्ट्रक्सन बदनाम छ । जस्ट इन टाइम कम्पनीलाई पनि कतिपयले पोखराको ‘पप्पु’ भन्ने गरेका छन् ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?