Comments Add Comment

नेकपाको श्रृंखलावद्ध हार : म्यानपावरमा पनि पत्तासाफ !

निजी क्षेत्रको चुनाव जनमतको मापन हो कि अन्तर्घातको ?

८ असोज, काठमाडौं । सत्तारुढ नेकपाप्रति जनताको मत कस्तो छ भनेर बुझ्न मंसिर १४ को उपनिर्वाचन पर्खिनुपर्ला । तर, निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी संगठनहरुका चुनावमा लगातार पराजयले दुईतिहाई जनमतप्राप्त नेकपाका नेताहरुलाई झस्काइ दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा सम्वद्ध प्यानल नै पराजित भएपछि सोही पार्टीका नेता डा.विजय पौडेलले ट्वीट गर्दै भने, ‘माननीय श्रममन्त्री गोकर्ण बिष्टज्यूले बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको गतिलो समीक्षा गरी नैतिक जिम्मा लिनु उपयुक्त हुनेछ ।’

श्रममन्त्री बिष्ट नेकपाको श्रम बैदेशिक रोजगार विभागका प्रमुख पनि छन् । उनी मन्त्री भएपछि कामदारको पक्षमा अडान लिन खोज्दा बैदेशिक रोजगार व्यवसायी रुष्ट बनेका थिए । नेकपाकै व्यवसायीले पनि विष्टको रीस पोख्न कांग्रेसका उम्मेदवारलाई मत दिएको नेकपाभित्र आरोप लागेको छ ।

म्यानपावर व्यवसायी संघमा नेकपाको पराजयले सत्तारुढ पार्टीमा खैलाबैला मच्चिएको छ । साना स्वरोजगार मूलकदेखि ठूला व्यवसायीसमेत आवद्ध निजी क्षेत्र नेकपा सरकारप्रति असन्तुष्ट भएको अर्थमा पनि यी परिणामलाई लिइँदैछ । तीनै तहका सरकारले लगाएको करप्रतिको असन्तुष्टि पनि यी निर्वाचनमा व्यक्त भएको विश्लेषण गर्न थालिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाप्रति निजी क्षेत्र असन्तुष्ट बन्दै गइरहेको परिप्रेक्ष्यमा भएका यस्ता चुनावहरुमा नेकपा निकटस्थले पराजयको श्रृंखला व्यहोरेका हुन् ।

नेपालमा विश्वविद्यालयदेखि सामाजिक तथा व्यवसायिक संस्थासम्म चरम राजनीतिकरण बढ्दो छ । त्यस्तै परे राजनीतिक दलहरु विद्यालयका कक्षाकोठाभित्र हुने मोनिटरको चुनावमा पनि दलीय दलीय उम्मेदवार बनाउन बाँकी राख्दैनन् । टोल सुधार समितिदेखि उद्योग वाणिज्य महासंघमा समेत दलहरुबीच प्रधिस्पर्धा भइरहेका बेला नेकपाका लागि पछिल्ला दुई वर्षका यस्ता सामाजिक संस्थाका चुनावहरु सुखद छैनन् ।

पराजयको श्रृंखला

नेकपाले तीनै तहका चुनाव जितेर सरकार बनाएपछि भएका निर्माण व्यवसायी महासंघ, यातायात व्यवसायी महासंघ लगायतका संस्थामा पनि नेकपा उम्मेवार पराजित भइकेका छन् । तीन महिनाअघि सम्पन्न ठमेल पर्यटन परिषदको चुनावमा समेत दलीय प्यानल हुँदा नेकपाका उम्मेदवार पराजित भएका थिए ।

केही दिनअघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकको उद्योग वाणिज्य संघ चुनावमा नेकपाले पराजय भोगेको एक साता नपुग्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा निर्माण व्यवसायी संघको चुनामामा पनि नेकपा उम्मेदवार पराजित भएका थिए ।

उद्योग वाणिज्य महासंघको केन्द्रीय साधारणसभा अगाडि भइरहेका बिभिन्न नगर तथा जिल्ला उद्योग वाणिज्य संघहरुमा नेकपाका उम्मेदवार धमाधम पराजित भइरहेका छन् । नेकपा पराजित भएका अधिकांश सामाजिक तथा उद्योगी व्यवसायहिरुको संगठनमा कांग्रेसका उम्मेदवारले जितिरहेका छन् ।

विगतमा तत्कालीन एमालेको संगठन र जनमतको आधार नै सामाजिक तथा व्यवसायिक संस्थाहरु थिए । एमालेले स्थानीय तहमा चुनाव जित्ने आधार भनेकै सामुदायिक वन, सहकारी, खानेपानी सम्बन्धी संस्था, विद्यालय व्यवस्थापन समिति, साना उद्यमीहरुका संगठनमा उसको एकल पकड थियो ।

पार्टी एकतापछि नेकपाको शक्ति ती संस्थामा झन् बलियो हुनुपर्नेमा कतिपय संस्थाहरुको पकड गुमाउँदै जाने अवस्थालाई समयमै समीक्षा गरिनुपर्ने तत्कालीन एमालेको अनुशासन आयोगका सदस्य शिव भण्डारी बताउँछन् ।

पार्टीमा अनुशासनहीनता र व्यक्ति तथा शक्ति र पैसा केन्द्रित प्रवृति बढेकाले सामाजिक संस्थाहरुमा पकड गुम्दै गएको भण्डारीको ठम्याइ छ ।

के भएको बुझ्छौं : नेकपा प्रवक्ता

उद्योग व्यवसायी क्षेत्रमा नेकपाको लगातार पराजयलाई पार्टीभित्रैबाट तीन फरक कोणबाट विश्लेषण भइरहेको छ । १– बढ्दो अनुशासनहीनता र अन्तर्घात । २– सरकारको कामप्रति असन्तुष्टि । र, ३– पार्टी एकता भए पनि मनमा एकता नहुनु ।

यस सन्दर्भमा कुरा गर्दा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले निजी क्षेत्रका कतिपय संगठन तथा शाखाहरुमा भएको निर्वाचनको पराजयलाई पार्टीले नीगित विषयका रुपमा समीक्षा नगरेको बताए । उनले ती ठाउँहरुमा के भएको भनेर सम्बन्धित संगठन हेर्ने पार्टीका कमिटीहरुबाट जानकारी भने लिइने बताए ।

प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग भने, यो कुनै नीतिगत विषय होइन । ठोस संगठनहरुमा के भएको हो भनेर समीक्षा गरौंला । तर, केही संस्थामा भएको हार– जितलाई हेरेर आमरुपमा निष्कर्ष निकाल्न मिल्दैन । कुन ठाउँमा के भएको हो भनेर बुझ्नचाहिँ पार्टी नेतृत्वले बुझ्छ ।

उद्योग व्यवसायसँग सम्बन्धित संघ–संस्थाहरुमा भएको पराजयलाई सरकारप्रति जनमत घटेको अर्थमा ब्याख्या गर्न नसकिने श्रेष्ठले बताए । अहिलेसम्म पार्टीमा यसबारे समीक्षा नभएको समेत उनले जानकारी दिए ।

उता, प्रचार विभाग उपप्रमुखसमेत रहेका नेकपा नेता सूर्य थापा भने सरकारप्रतिको अशन्तुष्टिले मात्र चुनाव हारियो भनेर पन्छिने अवस्था नरहेको बताउँछन् । कतिपय संगठनमा हार्ने निश्चित भएका उम्मेदवारलाई पार्टीकै जिम्मेवार व्यक्तिले उम्मेदवार बनाएर बोक्दा पराजय भोगिएको उनको तर्क छ ।

थापा भन्छन्, ‘सरकारप्रतिको असन्तुष्टि कतिपय सेक्टरमा होला, तर टानमा चाहिँ जानी–जानी हार्ने खेल खेलियो । कतिपय ठाउँमा चुनाव हाँक्ने कमाण्डर वा शैली सही नभएर पनि होला, पराजयको समीक्षा हुनुपर्छ । उद्योगी व्यवसायीले सरकारबाट अभिभावकत्व महशुस गर्न नसकेको पो हो कि ? बेलैमा सोच्नुपर्छ ।’

अन्तर्घातको आरोप–प्रत्यारोप

बैदेशिक रोजगार व्यवसायी संघको पराजयभन्दा केही दिनअघिमात्र पर्यटन व्यवसायीहरुको संस्था टानमा पनि नेकपाका अध्यक्ष उम्मेदवार पराजित भएका थिए । हार्ने पक्षले पार्टीकै केही नेता र टानका पूर्व अध्यक्षकै संलग्नताका अन्तर्घात गरिएको उजुरी दिएपछि उद्योग व्यवसाय क्षेत्र हेर्ने इन्चार्ज मुकुन्द न्यौपानेले चित्रगुप्त साँवाको अध्यक्षतामा छानविन समिति बनाएका छन् ।

नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख तथा तत्कालीन एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापा भने खल्तीको संगठन खडा गरेर हार्ने मान्छेलाई टिकट दिँदाको परिणाम टानमा देखिएको बताउँछन् । उनले मुकुन्द न्यौपाने इन्चार्ज भएपछि लगातार उद्योग व्यवसाय क्षेत्रका संगठनमा पराजय भइरहेको भन्दै पार्टी नेतृत्वले विचार गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

थापाले भने, ‘हिजो २५ प्रतिशत हाम्रो शक्ति भएका ठाउँमा धेरै मेहनत गरेर तटस्थ मतलाई आकर्षित गरेर हामीले दुई कार्यकाल जितेका हौं । अहिले इन्चार्ज लगायताका नेता नै गुटबन्दीमा लागेर टानमा कांग्रेसले जित्ने अवस्था बनाए । पार्टी नेतृत्वले उद्योगी व्यवसायी क्षेत्रका संस्थाहरुमा पछिल्ला पराजयको गम्भीर समीक्षा गर्नुपर्छ ।’

जनमतसँग नजोडौं : उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अहिलेसम्म एक सय १२ वटा घटक संगठन (जिल्ला तथा नगर) मा चुनाव भइसकेको छ । के निजी क्षेत्र नेकपा नेतृत्वको सरकारप्रति असन्तुष्ट भएको हो त ? पछिल्ला चुनावी परिणामले सरकार निजी क्षेत्रमा अलोकप्रिय भएको हो ?

अनलाइनखबरले उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठसँग प्रश्न गर्दा उनले त्यसरी नबुझ्न आग्रह गरे ।

हालसम्म चुनाव भएका ११२ कमिटीमा नेकपा र नेकपा इतरका दलसँग नजिक व्यक्तिहरु हाराहारी संख्यामै निर्वाचित भएको तथ्यांक उनले सुनाए ।

श्रेष्ठले भने, ‘जिल्ला तथा नगरहरु र अन्य घटक संगठनमा दलीय आधारमा चुनाव भए पनि त्यहाँको स्थानीय समीकरणले काम गर्छ । दल बलियो भए पनि व्यक्ति हेरेर निजी क्षेत्रको अगुवाका रुपमा जिताउने चलन छ । यसलाई नै लिएर सरकारप्रतिको जनमत भनेर बुझ्न सकिन्न ।’

महासंघ उपाध्यक्ष श्रेष्ठले व्यवसायी संगठनहरुका निर्वाचनमा हार जितलाई निजी क्षेत्र सरप्रति असन्तुष्ट छ भनेर बुझ्न नसकिने बताए । निजी क्षेत्र सरकारलाई व्यवसायीको हितमा दबाव दिने संगठन भएकाले पार्टी भन्दा पनि कुन व्यक्तिले दबाव दिन सक्छ भनेर पनि मत व्यक्त हुने गरेको उनको तर्क छ ।

अन्तरघात र असन्तुष्टि दुबै हो : कांग्रेस

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाको विश्लेषणमा अहिले भइरहेका संघ संस्थाका चुनावलाई राजनीति भन्दा भिन्नै राखेर हेर्न सकिँदैन । डा. कोइराला भन्छन्, ‘नेपालमा अरुतिरको भन्दा फरक छ, यहाँ कहीँ न कहीँ राजनीति जोडिएकै हुन्छ ।’

टान, म्यानपावर व्यवसायी एवं उद्योगी व्यवसायीहरुका देशैभरि भइरहेका चुनावमा नेकपा समर्थित व्यवसायीको हारमा दुईवटा कारणहरु प्रमुख रहेको कांग्रेस नेता कोइराला बताउँछन् ।

‘एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको आन्तरिक असन्तुष्टि र अन्तरघात पनि पराजयको एउटा कारण हो । हारको दोस्रो कारणचाहिँ सरकारको क्रियाकलाप्रति देशैभरि व्यवसायीहरु सशंकित देखिएका छन् र यो त्यसैको परिणाम पनि हो ।’

नेकपाभित्र अन्तरघात चुलिँदै गएका बेला कांग्रेस चाहिँ एकतावद्ध र एक ढिक्का देखिएकाले देशैभरि नेपाली कांग्रेस समर्थित व्यवसायीहरुले जित्न थालेको डा. कोइरालाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment