Comments Add Comment

शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो २०७६’ मेला

९ असोज, काठमाडौं । स्वदेशी वस्तु तथा सेवाको प्रबर्द्धन गर्ने उद्देश्यले दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’ हुने भएको छ ।

नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको ७ औं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ को तयारी पूरा भएको मञ्चले जनाएको छ । मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुन लागेको मेलाबारे विस्तृत जानकारी गराएका हो ।

मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रबर्द्धन तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए ।

मञ्चले सन् २००६देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आईरहेको छ । ”आफ्नो भन्या आफ्नै हो” भन्ने नाराका साथ आयोजना हुन गईरहेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने मञ्चले जनाएको छ ।

यस पटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिएको मञ्चले जनाएको छ । त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सृजनामा सहयोग पुर्‍याउने अध्यक्ष पाण्डेले बताए । साना व्यवसायीलाई प्रबर्द्धन गर्न करिब १२ जना उद्यमीलाई निःशूल्क स्टलको व्यवस्था समेत गरिएको पाण्डेले बताए ।

प्रत्येक नेपालीले आफ्नो देशको आर्थिक विकासका लागि आफ्नै देशका सामान र सेवाको प्रयोग गर्ने र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान स्थापित गर्न सके देशको आर्थिक अवस्था सुदृढ तथा सवल हुने विश्वास मञ्चको छ । नेपाली उत्पादन राम्रो र हाम्रो पनि छ भनेर चिनाउन मेलामा आयोजना गरिएको मञ्चले जनाएको छ ।
मेलामा श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठुला वस्तु तथा सेवाका ७० बढी स्टल रहने मञ्चले जनाएको छ । दुई दिन चल्ने एक्स्पोमा २० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ । निःशूल्क प्रवेश दिइने मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरुका लागि खेलकुदको व्यवस्था समेत गरिएको मञ्चले जनाएको छ । मेला यही शुक्रबार र शनिबार हुँदैछ ।

नेपाली युवा उद्यमी मञ्च देशभरिका ४० वर्ष मुनिका युवा उद्यमीहरुको साझा मञ्च हो । मञ्चका विभिन्न जिल्लामा ७ वटा शाखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment