Comments Add Comment

तिलोत्तमा लगानी सम्मेलन : १२ परियोजनामा १५ अर्बको प्रतिबद्धता

१० असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनबाट १५ अर्ब रुपैयाँको लगानी भित्रिने निश्चित भएको छ । काठमाडौं बाहिर स्थानीय तहले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनमा दुईवटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ भने दशवटा परियोजनामा आशयपत्रमा हस्ताक्षर भएको छ ।

एमओयू भएका दुई परियोजनामा यूके एड र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सीप र रोजगार प्रवद्र्धन कोष स्थापना तथा नेपाल बैंक लिमिटेडको सहुलियत कर्जा परियोजना रहेका छन् । सम्मेलनमा नगरपालिकाले २२ वटा र नीजि क्षेत्रले ३१ वटा परियोजना प्रस्ताव गरेका थिए । तीमध्ये सम्मेलनमा २४ वटा परियोजनाको आशयपत्र मात्र खोलिएको थियो ।

प्रारम्भिक लगानी समझदारी भएका परियोजनाहरुमा रिडी हाइड्रो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रालि.,तिलोत्तमा रिङरोडमा रेलवे, तिलोत्तमा–११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, वडा नं. ६ मा दुग्ध प्रशोधन केन्द्र, वडा नंं १४ मा मिनी नेपाल, एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित) रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

पहिलो प्रयासमै निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । ‘तिलोत्तमा लगानीका लागि उपयुक्त थलो रहेछ भन्ने लगानीकर्तामा छाप छाड्न सफल भयौं’, घिमिरेले भने, ‘प्रति कठ्ठा पाँच हजार भाडा दरमा चाहेजति जग्गा ३०–४० वर्षसम्म लिजमा दिने र रोजगारीका आधारमा करमा सत प्रतिशतसम्म छुटको योजनाबाट लगानीकर्ताहरु आकर्षित भएका छन्,बाँकी परियोजनामा पनि छिट्टै लगानी भित्रिने छ ।’

लगानी सम्मेलनबाट ५० अर्ब लगानी भित्रिने आयोजकको अपेक्षा थियो । सम्मेलनमा चीन, भारतबाट समेत लगानीकर्ताहरु आएका थिए । स्थानीय तहमै पहिलोपटक व्यवस्थित ढंगले लगानी सम्मेलन आयोजना गरेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतले तिलोत्तमा नगरपालिकाबाट देशका अन्य स्थानीय तहले सिक्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment