Comments Add Comment

दशैंमा टेलर्सको गुनासो – रेडिमेडले खायो

१३ असोज, काठमाडौं । दशैंका धेरै विशेषताहरुमध्ये एउटा हो– नयाँ लुगा लगाउने । गाउँ होस् वा सहर, सम्पन्न होस् वा विपन्न, हरेक परिवारले दशैंका लागि नयाँ लुगाको जोहो गरेकै हुन्छन् ।

खासगरी गाउँघरका बालबालिकाका निम्ति दशैंको प्रमुख आकर्षण नै नयाँ लुगा हो । पाका उमेरकाहरु पनि दशैंमा नयाँ लुगामै सजिन चाहन्छन् । कतिले रेडिमेड लुगा किन्छन्, त कतिले टेलरमा सिलाउन दिन्छन् । टेलरहरुका लागि दशैं सबैभन्दा ठूलो सिजन हो । सुचीकारहरुलाई दशैं अगाडि भात खानेसम्म फुर्सद हुँदैन ।

दशैं शुरु हुन केही दिनमात्रै बाँकी रहँदा हामीले काठमाडौंका केही कपडा पसल चहार्‍यौं। अधिकांश विक्रेताहरुले यसपालि पहिलेजस्तो व्यापार नभएको गुनासो गरे ।

रेडिमेड कपडा पसलेहरुको यो गुनासो सुनेपछि हामी काठमाडौंका केही टेलर्सहरुमा पुग्यौं । टेलर्सहरुको पनि उस्तै गुनासो सुनियो । उनीहरुले रेडिमेड कपडाको व्यापकताले आफूहरुको ब्यापार खर्लप्पै खाएको बताए ।

विगतमा टेलर्सको व्यापार राम्रो हुने गरेको भए पनि रेडिमेड मार्केटतर्फ मानिसहरु झुम्मिएपछि टेलरको व्यवसाय ओरालो लागेको उनीहरुको भनाइ छ । कपडा किनेर नाप मिलाएर सिउन दिनुभन्दा बजारमा छानीछानी रेडिमेड कपडा किन्न उपभोक्ता अभ्यस्त बनिरहेको उनीहरुले बताए ।

‘व्यवसायबाट पलायन हुने अवस्था आयो’

काठमाडौंको पुतलीसडक, बागबजारलगायतका स्थानमा टेलरिङ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले पलायन हुने अवस्था सिर्जना हुन लागेको बताए । विगत ३० वर्षदेखि यस व्यवसायमा आवद्ध पर्साका रमेश चौधरीले यस वर्षको जस्तै हालत हुने हो भने व्यवसायबाटै हात झिक्नुपर्ने चिन्ता व्यक्त गरे ।
आफू टेलरिङ व्यवसायमा जोडिएयताकै सबैभन्दा कम व्यापार यस वर्ष भएको चौधरीको भनाइ छ । काठमाडौंको पुतलीसडकमा दी टप लाइन कलेक्शन सञ्चालन गर्दै आएका उनले खर्च धान्नसमेत धौधौ परिरहेको बताए ।

‘विगतका दशैं अगाडि भ्याई/नभ्याई हुन्थ्यो, यस वर्ष तपाईले देखिहाल्नुभयो पसल सुनसान छ,’ उनले भने ।

चौधरीले पढ्दापढ्दै टेलर्समा जागिर खान थालेका थिए । लामो अनुभवपछि ९ वर्षअघि आफैंले पसल खोलेका हुन् । ‘मेरो अनुभवमा यस्तो न्यून व्यापार कहिल्यै भएको थिएन । यही गति हो भने व्यवसाय गर्न सकिँदैन,’ उनले भने ।

चौधरीलाई भेटिसकेपछि हामी पुतलीसडकको अर्को टेलर्स ‘स्टाइल टप कलेक्शन’ मा पुग्यौं । प्रवन्ध निर्देशक ताराचन्द्र राय साथीसँग गफमा मस्त थिए ।

‘व्यापार कस्तो छ ?’ हामीले प्रश्न तेर्सायौं ।

प्रश्न भूईमै खस्न नपाउदै उनले भने, ‘भो, व्यापारको कुरा नगरौं ।’

लामो समयदेखि टेलरिङ व्यवसायमा आवद्ध रहेका उनले पुतलीसडकमा पसल खोलेको भने धेरै भएको छैन । पसल खोलेदेखि नै व्यापारले गति नलिएको उनको गुनासो छ ।

‘लामो अनुभव थियो, व्यापार राम्रै हुन्छ होला भन्ने लागेको थियो,’ रायले भने, ‘तपाईले नै देखिहाल्नु भयो, व्यापार छैन । साथीसँग चिया पिएर बसिरहेको छु ।’

पसलमा ग्राहक नै नआएका कारण व्यवसाय धेरै नटिक्ने हो कि भन्ने चिन्ता लागेको उनले सुनाए । सिलाएर लाउनभन्दा सिधै किनेर लगाउँदा सहज ठानेर मानिसहरु रेडिमेड कपडातर्फ आकर्षित भएको रायको अनुमान छ ।

बागबजारको काठमाण्डू टप कलेक्शनका सञ्चालक हरिकृष्ण श्रेष्ठ पनि दशैंको माहोलले आफूहरुलाई खासै नछोएको बताउँछन् । विगतका वर्षहरुमा जति व्यापार यस वर्ष नहुने निश्चित भसइसकेको उनको भनाइ छ । ‘पोहोर परार दशैं शुरु हुनुभन्दा १५ दिन अगाडि नै अर्डर आउन थाल्थे,’ उनले भने, ‘सिलाउने समय पनि चाहिने भएको हँुदा यतिबेलासम्म अर्डर राम्रो आउनुपर्ने थियो, त्यो आएन ।’

दशैं हाम्रो सिजन होइन : व्यापारीहामी पुगेका केही टेलर्स सञ्चालकहरुले दशैं टेलर्सको सिजन नभएको बताए । टेलर्समा कपडा सिलाउन आउनेहरु दशैंमा नभएर तिहारपछि धेरै आउने गरेको उनीहरुको अनुभव छ ।

पुतलीसडकको ग्लोबल टेलर्सका सञ्चालक कृष्ण अर्याल भन्छन्, ‘हाम्रो मुख्य सिजन भनेको तिहार र त्यसपछि हो, तिहारपछि मंसिरमा धेरै बिहेहरु हुन्छन्, त्यसबेला हाम्रो व्यापार फस्टाउँछ ।’

अर्यालले आफ्नो पसलमा अहिले पनि व्यापार निराशाजनक भने नभएको सुनाए । ‘अहिले थोरै भए पनि व्यापार बढेको छ । तर, बिहेको सिजनमा जस्तो दशैंमा हुँदैन’ अर्यालले भने, ‘दशैंमा त रेडिमेड चलिहाल्छ, विवाहको सिजनमा चाहिँ सुट लगाउने चलनले गर्दा त्यसबेला राम्रै व्यापार हुने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment