Comments Add Comment

दशैंमा तासः सेलिब्रेटीको रोचक अनुभव

हिन्दुहरुको महान चार्ड दशैं हामी सबैको घर-आँगनमा आईसकेको छ । वर्ष दिनभरीको दुःख, समस्या, तनाव र व्यस्ततालाई बिर्सेर हामी सबैले दशैंलाई स्वागत गर्न कम्मर कसिसकेका छौं । दशैंमा लामो छुट्टी हुने भएकाले यो समयलाई सबैले आफूले चाहे अनुसार नै बिताउने गर्छन् । आफ्नो काम र पढाईका कारण घर बाहिर बसेकाहरु पनि आफ्ना सम्पूर्ण काम र पढाईबाट फुर्सद लिएर दशैं मनाउन घर आउने गर्छन् ।

दशैंमा कोही पाठ-पूजामा व्यस्त हुन्छन् त कोही चंगा उडाउनमा । कोही पिङ खेल्छन् भने कोही घुम्न जान्छन् । कसैले तास खेलेर पनि दशैंमा रमाइलो गर्ने गर्छन् । दशैं भन्नासाथ राम्रो लगाउने, मीठो खाने र रमाइलोसँग यो समयलाई बिताउने भन्ने बुझिन्छ । त्यसैले दशैं सबै नेपालीहरुका लागि विशेष र महत्वपूर्ण हुने गर्दछ ।

यसै विषयमा केन्दि्रत रहेर हामीले केही कलाकारहरुलाई उनीहरुको दशैं र तासको सम्बन्धका बारेमा जिज्ञासा राखेका थियौं । कलाकारहरुको जवाफ, उनीहरुकै शब्दमा :

उदेश श्रेष्ठ, गायक

प्रायः दशैंको समयमा म सांगीतिक कार्यक्रमहरुमा व्यस्त हुन्छु । अरु बेला मलाई तासमा खासै रुचि लाग्दैन, तर दशैंको बेला साथीभाइहरु तास खेलेेको देखेर आफूलाई पनि खेलौं-खेलौं लाग्छ । त्यसैले कहिलेकाहीँ खेल्छु, तर म तासमा प्रायः हारिरहन्छु ।

यसपटकको दशैंमा मेरो भाइ-बुहारी र आमा अष्ट्रेलियाबाट आउँदै हुनुहुन्छ र तराईबाट दाजु-भाउजु पनि दशैंका लागि काठमाडौं आउँदै हुनुहुन्छ । त्यसैले यो वर्षको दशैं मेरो लागि निकै विशेष हुनेवाला छ । जसका कारण म तास खेल्न भ्याउँदिन होला, तर पनि समय पाएँ भने तास खेल्न पनि सक्छु । २०५५ सालको दशैंमा खेलेको तास म अहिले पनि सम्झन्छु ।

मेरा साथीहरु घट्टेकुलोमा पढ्नका लागि बसेका थिए ।  त्यहाँ तास खेल्ने कुराभयो र म पनि तास खेल्न भनेर बसेँ । प्रारम्भमा कलब्रेक खेल्यौं । कलब्रेक खेल्दा मलाई राम्रो तास परेन र म हार्दै गएँ । त्यसपछि मेरै आग्रहमा किट्टी खेल्न थाल्यौं ।

तर, त्यो खेल पनि मलाई फापेन । म टाट पल्टिसकेको थिएँ । अन्तिममा फ्लास खेल्न थाल्यौं । थोरै रुपैयाँको बोट मैले जितेँ र तास बाँड्ने मौका पाएँ । तास बाँड्दा मैले चलाखी गरेर तास मिलाएर आफूलाई बलियो दाउ राखेर तास बाँडे । तास बाँड्ने क्रममा नै मैले साथीहरुलाई यो अन्तिम गेम हो, मसँग भएको पैसा पनि सकिईसक्यो, अब म खेल्दिन, मसँग भएको पैसा सकाउँछु अनि म घर जान्छु भनेर खेल्न थालेको थिएँ । अन्तिममा सबै पैसा मैले नै जितेँ । आज पनि तास देख्दा मलाई त्यो समय र त्यो खेल सम्झना आउँछ ।

सृष्टि खड्का, अभिनेत्री/मोडल

मलाई पनि दशैंको बिदामा तास खेल्न मन लाग्छ । अरुले तास खेलेको देखेर मलाई पनि तास खेल्न मन लागेको हो । बास्तवमा मलाई तासका धेरैवटा खेल खेल्न आउँदैन । तर पनि रमाइलोका लागि खेल्छु । तास खेल्न नआउने भएकाले म नजिकका साथीभाइसँग मात्र खेल्छु । त्यसरी खेल्दा हारियो भने पनि खासै नमज्जा लाग्दैन ।

स्वरुपराज आचार्य, गायक

मैले जीवनमा जान्दै नजानेको काम भनेको तास खेल्न हो । त्यसैले म यो खेलबाट टाढै छु । किनभने नजानेको खेल खेल्नु हुँदैन भन्ने मेरो मान्यता छ । दशैं-तिहारजस्ता चार्डपर्वमा अरुले तास खेलेको देखेरै रमाइलो मान्छु । म आफैंले चाहिँ आजसम्म तास खेलेको छैन ।

प्राश्ना शाक्य, गायिका

मलाई दशैं-तिहारजस्ता चार्डपर्वमा तास खेल्न निकै रमाइलो लाग्छ । अरु बेला तास खेलेर बस्ने फुर्सद नै हुँदैन र त्यसरी खेल्ने कुरा पनि आउँदैन । तर दशैंको बेला त तास खेलेन भने दशैं नै आएको छैन कि जस्तो लाग्छ । घरकी ठुली छोरी भएकोले आफ्ना भाइ-बहिनीसँग तास खेल्दा एकदम रमाइलो लाग्छ । भाइहरुले तास खेल्दा आफ्नो टिम बनाउँदै झेल्ल पनि गर्छन, तर मलाई उनीहरुको त्यही शैली मनपर्छ ।

हिमाल सागर, गायक

दशैंमा तास खेल्न पाउँदा निकै रमाइलो लाग्छ । दशैंमा घरमा पुगेका बेला म प्रायः तास खेल्न छुटाउँदिन । म प्रायः फ्लास खेल्छु । जुन रमाइलो फ्लास खेल्नुमा छ, त्यो तासका अन्य गेममा हुँदैन ।

५-६ वर्ष अगाडिको दशैंमा फ्लास खेल्दा मलाई ट्रायल परेको थियो, दंगपर्दै खेललाई अघि बढाएँ । तर लामो खेलपछि आफ्नो साथीलाई पनि ट्रायल नै परेको थाहा पाएँ र पैसा पनि नराम्रोसँग हारेँ । दुवैलाई परेको ट्रयालले मेरो खल्ती नै खाली पारिदियो । मैले त्यतिबेला लगभग दश हजार रुपैयाँ हारेँ । यो कुरालाई म सधैं सम्झिरहन्छु ।

आलोकश्री, संगीतकार

म खासै तास खेल्दिन । त्यसैले तासका ठूला-ठूला खेलहरु आउँदा पनि आउँदैन । तर, यसको अर्थ तास खेल्दै नखेल्ने भने होइन । मलाई तास खेलेको हेर्न र सानातिना खेल खेल्न रमाइलो लाग्छ । त्यसैले म जोडा मिलाउने (जुटपत्ति) खेल्छु ।

युवराज चौलागाईं, गायक

अरु समयमा त भ्याउँदिन, तर दशैंमा तास खेल्न रमाइलो लाग्छ । तास रमाइलोका लागि मात्र खेल्छु तर मलाई तासका धेरै खेल खेल्न आउँदैन्, प्रायः तासमा पैसा अर्कै खेलाडीले खाइदिन्छ । तासहरुमा जुटपत्ति र फ्लास खेल्छु । दशैंको बिदामा आफ्ना परिवारका सदस्यहरुसँग तास खेल्नुको रमाइलो नै भिन्दै छ ।

प्रायः सांगीतिक कार्यक्रमहरुमा ब्यस्त हुन्छु, तर दशैंमा समय पाउनासाथ तास खेल्न जाने पनि नजाने पनि रमाइलोको लागि खेल्न छुटाउँदिन । एक पटकको दशैंमा कार्यक्रमका लागि विदेश जानुपर्ने भएकाले डलर साटेर राखेको थिएँ । साथीभाइसँग तास खेल्न बसियो, तर मलाई राम्रो तास परेन म हार्दै गएँ । तास खेल्ने चक्करमा मैले विदेश जान साटेर राखेको डलर समेत हारेको कुरा सधैं सम्झन्छु ।

विशाल भण्डारी, निर्देशक

अरु समयमा त म तास खेल्दिन, अरुले खेलेको पनि मन पर्दैन । तर, दशैं-तिहारमा भने म तास खुलेर खेल्छु । आफ्ना मिल्ने साथीहरुका साथमा तास खेल्न पाउँदा म निकै खुशी हुन्छु । म प्रायः तासमा जित्छु, तर कहिलेकाहीँ हार्छु पनि । एकपटक दशैंमा तीन जना साथीसँग तास खेल्न बसेको थिएँ । मैले उनीहरुसँग भएको सबै पैसा जितेँ ।

जितेको पैसा घर लिएर गएँ अनि अफिसले दशैं बोनस दिएको भने गफ लाइदिएँ । त्यो सम्झँदा आज पनि हाँसो उठ्छ । अर्को एउटा दशैंमा रातिदेखि बिहानको ५ बजेसम्म तास खेल्यौं । त्यो बेला चारजना तास खेल्न बसेका थियौं । त्यो दिन छायाकार हरि हुमागाईंले एउटा टिभिसी छायांकन गरेर ल्याएको पारिश्रमिक नै तासमा हारेका थिए ।

उनीसँग सबै पैसा सकिएर केवल २ हजार रुपैयाँमात्र बाँकी थियो । उनले ‘यो पनि जीत, यो पैसा लगेर के गर्नु ?’ भनेपछि पुनः खेल्न बस्यौं । उसको त्यो २ हजार रुपैयाँ जित्न मलाई बिहान ५ बजेदेखि मध्याहृनको ११ नै बजाउनु परेको थियो ।

क्षितिजा शाक्य, अभिनेत्री/ फेसन डिजाइनर

मलाई तास खेल्न रमाइलो लाग्छ, तर तासका धेरै वटा खेल खेल्न आउँदैन । तासको सबैभन्दा सानो गेम जुटपत्ति मात्र लेख्छु । तर त्यो खेलमा पनि म निकै रमाउँछु । आफ्ना ससुरा र छोरीसँग घरमा त्यही गेम खेलेर रमाउँछु । ससुरा र छोरीसँग तास खेल्दा प्रायः म एकदमै झेल गर्छु । तर उहाँहरुलाई मैले झेल गरेको थाहै हुँदैन । म भने भित्र-भित्रै रमाउँछु । ठूला-ठूला खेल खेल्न नआए पनि दशैंमा म जुटपत्ति नै खेलेर भएपनि तासको मज्जा लिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment