Comments Add Comment

युनिटीले जस्तै भारतीय ओरियन्स कम्पनीले नेपालीलाई ठग्दै

१४ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेपाल खुला दिसामुक्त घोषणा र सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार प्राथमिकताका साथ छापिएको छ । दशैंमा महंगीको मार र भारतीय ओरियन्स नेटवर्किङबाट नेपालीहरु ठगिँदै गरेको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ ।

नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले युनिटीले जस्तै नेपालीहरुलाई ठग्दै आएको समाचारमा उल्लेख छ । ‘भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चालेको फेला परेको हो,’ समाचारमा लेखिएको छ, ‘युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बीमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो ।’

नागरिकमा सरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदहरुलाई मात्र होइन, उनीहरुको सल्लाहकार र स्वकीय सचिवलाई समेत दशैं खर्च दिने निर्णय मन्त्रिपरिषद बैठकबाट गरेको समाचार पनि छ ।

कान्तिपुर दैनिकले हचुवाको भरमा नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको समाचार छापेको छ । ‘खुलामै शौच, हचुवामा घोषणा’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ, ‘सरकारले पूर्ण सरसफाइका सामान्य मापदण्ड नै पूरा नगरी मुलुकलाई दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरेको छ । सरकारी तथ्यांकहरुअनुसार मुलुकमा १ करोड ४८ लाख ५० हजारभन्दा बढी घरपरिवार रहेकामा करिब ५६ लाख ६० हजार मात्र शौचालय छन् ।’

कान्तिपुरको भित्री पृष्ठमा चिनियाँ राष्ट्रपति सी जिनफिङ, उनकी श्रीमती पेङ लियुआन, विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको समाचार छ । समाचारमा लेखिएअनुसार गृह मन्त्रालयले सेनासँग समन्वय गरेर आन्तरिक सुरक्षा कार्यविधि बनाउँदै छ । ‘राष्ट्रपति सीका लागि चीनबाटै एयर चाइनाका दुई वटा जहाज र एरोहेड कारकेड सेट आउने स्रोतको भनाइ छ । एरोहेड कारकेड एक देशका राष्ट्रप्रमुख अर्को देशको राजकीय भ्रमणमा जाँदा धनुषवाण आकारमा गरिएको भीभीआईपी सवारी सुरक्षा व्यवस्थापन हो,’ कान्तिपुरले लेखेको छ । राष्ट्रपति सीको सुरक्षा व्यवस्थापन र आन्तरिक तयारीलाई सरकारले गोप्य राखेको पनि समाचारमा उल्लेख छ ।

राजधानी दैनिकमा सशस्त्रका २२ पूर्ववरिष्ठ अधिकृतहरुले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेको मुख्य समाचार छ । १२ एआईजी र ११ डीआईजी गरी २२ जनाले सुरक्षा माग गरेको सशस्त्र प्रहरी मुख्यालय स्रोतलाई उद्धृत गर्दै समाचार लेखिएको छ ।

समाचारमा लेखिएको छ, ‘सुरक्षा निकायमा पूर्ववरिष्ठ अधिकृतहरुले कैयौं सुरक्षाकर्मीलाई सुरक्षाको बहानामा घरेलु कामदारका रुपमा राखिरहेको तथ्य सार्वजनिक भएपछि गृह मन्त्रालयले तीन महिनाअघि मात्रै प्रहरीका पूर्वअधिकृतको घरमा राखिएका सबै सुरक्षाकर्मीलाई फिर्ता गरेको थियो । गृह मन्त्रालयले फिर्ता गरेको तीन महिना बित्न नपाउँदै पूर्वअधिकृतले सुरक्षाको बहानामा पुनः सुरक्षाकर्मी माग गरेका हुन् ।’

सुरक्षा माग गर्नेहरुमा पूर्वएआईजीहरु रविराज थापा, रोहित थापा, नारायणराज पाण्डे, कृष्णबहादुर श्रेष्ठ, डाक्टर ठाकुरमोहन श्रेष्ठ, ऋषवदेव भट्टराई, जीवनकुमार थापा, डा. कृष्णकुमार तामाङ, जितबहादुर पुन, प्रेमकुमार शाही, प्रकाश ओझा, निराकारविक्रम शाह छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा राज्यले निजी क्षेत्रसँग सहजीकरण गरी रोजगार सिर्जना, आय विस्तार, उत्पादकत्व वृद्धिमा ध्यान केन्दि्रत गर्नुपर्नेमा उद्यम र व्यवसायलाई नियमन गर्न एकसाथ धेरै नियम ल्याउँदा निजी क्षेत्र त्रसित बनेको समाचार छ ।

गोरखापत्र दैनिकले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको, नेपाल समाचारपत्र दैनिकले ग्रान्डी अस्पतालले बच्चाको उपचारमा लापरबाही गरेको र कारोबार दैनिकले अमेरिकी अनुदानका आयोजना कार्यान्वयनका लागि सम्झौता भएको समाचार छापेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment