Comments Add Comment

डोटीमा खुलेनन् सुपथ मूल्यका पसल

१४ असोज, डोटी । जिल्लाका प्रमुख व्यापारी केन्द्र दीपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएभन्दा महँङ्गो मूल्यका सामान किन्न बाध्य छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दीपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । सुपथ मूल्यको पसलमा आवश्यक पर्ने चिनी, नुनलगायतका खाद्यान्न दीपायलका लागि ढुवानी ठेक्का कसैले पनि नहालेका कारण सुपथ मूल्य पसल सञ्चालन गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेशन उपशाखा कार्यालयले जनाएको छ ।

साल्टट्रेडिङ उपशाखाले सुपथ मूल्यको पसल सञ्चालन नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । साल्ट ट्रेडिङले पसल नचलाउने नाममा विभिन्न बाहना देखाउन थालेको पूर्वउद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘ढुवानी ठेक्का नहुँदा पसल नचलाएको भन्नु साल्ट ट्रेडिङ कर्पोरेशनको गैरजिम्मेवार भनाइ हो, नागरिकले पाउने सुविधाबाट बञ्चित गराउनु गलत छ ।’

बजारमा हाल चिनी रु ९५ र नुन रु २५ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । दशैँमा बजारमा व्यापारीले आफूखशी मनपरी रकम असुल गर्न थालेको स्थानीयवासी भरतबहादुर विकले बताए । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुपथ मूल्यको पसल सञ्चालन नभएको विषयमा आवश्यक जानकारी लिई सञ्चालन गर्न पहल गर्ने बताए ।

यतिमात्र नभई गत वर्ष खरीद गरिएको चिनीको मूल्य निर्धारण अर्थात् रकम नतोकिएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनले खरीद गरी ल्याएको चिनीसमेत गोदाममै थन्किएको छ । गत वर्ष यहाँका केही स्थानीय तहले सञ्चालन गरेका सुपथ मूल्य पसल पनि यो वर्ष सञ्चालन हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment