१५ असोज, काठमाडौं । उपभामुख डा. शिवमाया तुम्वाहाङफेले संविधानको प्रावधान अनुसार आफू उपसभामुख पदमा हुँदाहुँदै नेकपाले सभामुखमा उम्मेदवारी दिन नसक्ने बताएकी छिन् । तर, नेकपाले ‘प्रक्रिया मिलाएर गर्न सक्ने’ तुम्वाहाङफेको भनाइ छ ।
‘संविधानमा जे लेखेको छ, त्यो प्रक्रिया पूरा गर्नुपर्छ,’ उपसभामुख तुम्वाहाङफेले अनलाइनखबरसँग भनिन्, ‘अहिलेको हकमा के हुन्छ भने उपसभामुख पदैमा हुँदाहुँदै चाहिँ सभामुखमा उम्मेदवारी दिन सक्ने अवस्था रहँदैन ।’
संविधानको धारा ९१ (२) ले सभामुख र उपसभामुखमा भिन्नाभिन्नै दल र भिन्नाभिन्नै लिङ्गको प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर, यसअघि नेकपाबाटै सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्वाहाङफे पदमा बहाल थिए । सुरुमा एमाले र माओवादी भिन्नाभिन्नै दलमा रहे पनि पार्टी एकतापछि दुईमध्ये एक जनाले राजीनामा दिनुपर्ने माग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले झिनो रुपमा उठाउँदै आएको थियो ।
महिला कर्मचारीसँगको विवादमा मुछिएपछि मंगलबार सभामुख महराले पदबाट राजीनामा दिएसँगै अब सभामुख र उपसभामुखमध्ये एकजना फरक दलबाट चुन्नुपर्ने संवैधानिक बाध्यता आइलागेको छ ।
र, अब संविधानतः नेकपाको भागमै सभामुख पार्ने हो भने उपसभामुख शिवमायाले राजीनामा दिनुपर्ने हुन्छ । तर, पुरुषका लागि ठाउँ छाडिदिनकै लागि विनाकारण उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा गराउन नहुने माग महिला अधिकारकर्मीहरुले उठाउन थालिसकेका छन् ।
यसै सन्दर्भमा हामीले उपसभामुख तुम्वाहाङ्फेसँग राजीनामाकै प्रशंगबाट प्रश्नोत्तर सुरु गर्यौं-
नयाँ सभामुख नेकपाकै भागमा पार्न अब तपाईले राजीनामा दिनुहुन्छ ?
अहिले यसको प्रतिक्रिया दिने बेलै भएको छैन ।
उसोभए राजीनामा दिन सक्नुहुन्छ ?
अहिले नै यसको प्रतिक्रिया दिने बेला भएको छैन । आजमात्रै हामीले सभामुखको राजीनामा सूचना पत्रमा प्रकाशित गरेका छौं । त्यसैले अहिले नै यसबारेमा कुरा नगर्दा राम्रो ।
राजीनामा गर्नका लागि तपाईलाई प्रेसर आएको छ कि छैन ?
यसको प्रशंग नै उठेको छैन । आज हामीले बल्ल प्रक्रियालाई त्यहाँ (सूचना प्रकाशनमा) पुर्यायौं । अझ अरु प्रक्रिया पनि छा् । ती प्रक्रियामा जब प्रवेश गरिन्छ, अनि यसबारेमा प्रतिक्रिया दिने हो । अहिल्यै प्रतिक्रिया दिनेबेला भएको छैन ।
आजदेखि सभामुखले गर्ने कामको जिम्मेवारी तपाईकै काँधमा आएको छ । त्यसैले यसबारेमा पक्कै सोध्न मिल्छ होला । अब नयाँ सभामुखको निर्वाचन प्रक्रिया कहिलेबाट सुरु हुन्छ ? तिहार र छठ सकिएपछि ?
हो, यस्तोचाहिँ सोध्न मिल्छ । प्रक्रिया प्रारम्भ नभइकन तिमीले के गर्छौ भनेर सोध्न चाहिँ मिलेन क्या अहिले ।
नयाँ सभामुखको चयन संसदले कहिले गर्छ ?
यस विषयमा हामीले सरकारसँग छलफल गरेका छैनौं । दलहरुसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ । अब यो प्रक्रियालाई अघि बढाउन संसदको अधिवेशन नै आह्वान गर्नुपर्ने अवस्था रहन्छ । यो सबै सरसल्लाह गर्न बाँकी छ ।
उसोभए छठ सकिएपछि मात्र सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्छ भनेर अनुमान लगाउँदा हुन्छ ?
अनुमान त्यसरी गर्दा हुन्छ । अहिले तत्कालै हामीले कुनै सल्लाह गरेका छैनौं । दलहरुसँग सल्लाह त गर्नुपर्यो । सरकारसँग पनि सल्लाह गर्नुपर्यो । अनि के गर्ने भन्ने त्यसपछाडि प्रक्रिया सुरु हुन्छ । प्रक्रिया सुरु भएपछि म तपाईको प्रश्नको जवाफ फटाफटी दिइहाल्छु ।
एउटा सैद्धान्तिक प्रश्न- प्रतिनिधिसभा नियमावलीको २११ मा सभामुखले उपसभामुखलाई राजीनामा बुझाउने र उपसभामुखले सभामुखलाई बुझाउने भनिएको रहेछ । सभामुख नै नभएका बेला उपसभामुखले राजीनामा दिने ठाउँ कहाँ छ ? कानूनमा त अब उपसभामुखले राजीनामा दिने ठाउँ नै देखिँदैन…
कसलाई राजीनामा बुझाउने भन्ने हामीले नियमावलीमा लेख्या छौं । सभामुख, उपसभामुख नहुँदा ज्येठ सांसदबाट बैठक सञ्चालन गर्ने अवस्था हुन्छ । व्यवस्था त्यस्तो छ ।
तर, मैले अघि पनि भनें, त्यो प्रक्रिया प्रारम्भ हुँदा हामीले कसरी जाने भनेर दलहरुसँग, सरकारसँग, सबैसँग समन्वयन गर्नुपर्छ, छलफल गर्नुपर्छ, बैठक बस्नुपर्छ भनेको तात्पर्य यो पनि हो ।
अर्को प्रश्न- नेकपाबाटै उपसभामुख पदमा बहाल रहेको अवस्थामा अब नेकपाले सभामुख पदमा उम्मेदवारी दिन सक्छ कि सक्दैन ?
केमा ? सभामुखमा ? यो त प्रक्रिया मिलाएर दिइहाल्छ नि । छेकेको त केहीले छैन । तर, अहिलेको हकमा के हुन्छ भने उपसभामुख पदैमा हुँदाहुँदै चाहिँ सभामुखमा उम्मेदवारी दिन सक्ने अवस्था रहँदैन ।
उसोभए तपाई पदमा रहँदासम्म नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन हैन त ?
संविधानमै लेखेको कुरा नै यही हो नि । पहिले योअनुसारै भएको थियो, अहिलेचाहिँ संविधानमा जे लेखेको छ, त्यो प्रक्रिया पूरा गर्नुपर्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4