+
+
Shares

त्रिविको क्याफ्टेरिया निर्माणमा विद्यार्थीको विरोध किन ?

ठेकेदार पक्षबाट अखिल क्रान्तिकारी निकटका विद्यार्थी नेताहरू शिवराज भट्ट, प्रदीप भट्ट, लोकेन्द्र यरी र त्रिविका कर्मचारी शालिकराम सापकोटामाथि पनि हातपात भएको विद्यार्थीहरूको दाबी छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ कात्तिक १८ गते २१:५३

१८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयले कीर्तिपुर परिसरमा क्याफ्टेरिया बनाउन थालेपछि विद्यार्थीले विरोध जनाएका छन् । विदेशी पाहुना आउँदा खाने-बस्ने ठाउँ नभएपछि त्रिविले क्याफ्टेरिया बनाउन लागेको हो । तर क्याफ्टेरिया बनाउन सुरु भएसँगै विवाद पनि चुलिएको छ ।

यतिसम्म कि, मंगलबार बिहान क्याफ्टेरिया निर्माणस्थलमा ठेकेदार पक्ष र विद्यार्थीबीच झडपको अवस्थासमेत बन्यो ।

त्रिविको स्वतन्त्र विद्यार्थी युनियनले क्याफ्टेरिया बनाउन लागिएको स्थानमा सोमबार कालो ब्यानर टाँगेको थियो । तर मंगलबार ठेकेदार पक्षले ब्यानर उठाएर काम सुरु गरेपछि तनावको स्थिति बनेको हो ।

ठेकेदार पक्षबाट अखिल क्रान्तिकारी निकटका विद्यार्थी नेताहरू शिवराज भट्ट, प्रदीप भट्ट, लोकेन्द्र यरी र त्रिविका कर्मचारी शालिकराम सापकोटामाथि पनि हातपात भएको विद्यार्थीहरूको दाबी छ । सुरुमा अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष शिवराज भट्टमाथि आक्रमण भएको र त्यसपछि प्रदीप र लोकेन्द्रमाथि हातपात भएको हो ।

‘ब्यानर किन माथि उठाएको भनेर सोधखोज गर्दा ठेकेदार पक्षबाट कुटपिट भयो,’ अखिल क्रान्तिकारी त्रिविका पूर्वइन्चार्ज लोकेन्द्र यरीले भने । उनका अनुसार ठेकेदार पक्षमा १४ जनाको समूह थियो ।

‘विद्यार्थीको संख्या थपिन लागेपछि ठेकेदारको टोली त्यहाँबाट गयो,’ यरीले भने, ‘स्ववियुले कालो ब्यानर राखेको हो । त्यो ब्यानर किन माथि सारेको भनेर सोध्दा हामीमाथि आक्रमण भयो ।’

झडपको स्थिति बनेपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । कालो ब्यानर आफूहरूले राखेको स्ववियुका पदाधिकारीले स्वीकार गरेका छन् । तर कुटाइ खानेमा भने अखिल क्रान्तिकारीका विद्यार्थी परेका छन् । कीर्तिपुर प्रहरीका अनुसार केहीबेर विवाद भएको थियो । प्रहरीको टोली खटिएपछि स्थिति सामान्य भएको हो ।

के हो विवाद ?

त्रिविको केन्द्रीय कार्यालयले सुविधासम्पन्न क्याफ्टेरिया बनाउन लागेको हो । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार कार्यालयको बीचमा पर्ने गरी क्याफ्टेरिया बनाउने प्रक्रिया साउनदेखि सुरु भएको हो ।

क्याफ्टेरिया बनाउन लागेपछि सो क्षेत्रमा वन कार्यालयबाट अनुमति लिएर रुख कटान गरियो । तर विद्यार्थीहरूले रुख नकाट्न र सो क्षेत्रमा क्याफ्टेरिया नबनाउन त्रिवि प्रशासनलाई दबाब दियो । तर आफूहरूको विरोधका बीच क्याफ्टेरिया बनाउन लागेपछि निर्माणस्थलमा कालो ब्यानर टाँगिएको स्वयिुका उपाध्यक्ष सनम ओलीले बताए ।

‘साउनदेखि क्यान्टिन बनाउने प्रक्रिया अगाडि बढाइयो । विश्वविद्यालयमा अन्य संरचना आवश्यक छन् । २०७२ मा भूकम्पले भत्किएको भवन बनेको छैन । विद्यार्थीलाई चाहिने कक्षाकोठा, ल्याब, भौतिक पूर्वाधार छैन । अहिले क्यान्टिन आवश्यक छैन,’ स्ववियुका उपाध्यक्ष सनम ओलीले भने, ‘बनाउने हो भने जहाँ रुख काट्नु पर्दैन त्यो ठाउँमा बनाउनुहोस् भनेको हो ।’

तर, दशैं-तिहारमा कोही नभएको समयमा रुख काटेर क्याफ्टेरिया बनाउन थालिएकोमा आपत्ति जनाएको उनले बताए । ‘हामी कोही पनि काठमाडौँमा थिएनौं । त्यो बेलामा उहाँहरूले रुख कटान गर्नुभएछ,’ उनले भने ।

वार्ताका लागि आग्रह गरे पनि ठेकेदारले निर्माण प्रक्रिया अगाडि बढाएको विद्यार्थीहरूको गुनासो छ । ‘हाम्रो विषय ठेकेदारसँग थिएन । विश्वविद्यालय प्रशासनसँग हो । तर हिजो राति ठेकेदारले फेसकुबकमा स्ट्याटस लेख्नुभयो,’ उपाध्यक्ष ओलीले भने ।

सोमबार राति ठेकेदार समन महर्जनले विद्यार्थीले काम गर्न नदिएको र उपकुलपति कार्यालयमा आउन स्थानीयलाई गुहारेका थिए ।

‘म कीर्तिपुरवासी, आज मलाई त्रिविका घुसखोर विद्यार्थीहरूले काम गर्न दिएनन् । मलाई साथ दिन भोलि को–को कीर्तिपुरवासी उपकुलपति कार्यालय आउनुहुन्छ ?,’ ठेकेदार महर्जनले लेखेका थिए । उनको यो स्टाटसले विद्यार्थीहरू झन् आक्रोशित भएका हुन् । ‘हाम्रो लडाईँ प्रशासनसँग हो तर ठेकेदारको त्यस्तो स्ट्याटस आयो,’ उनले भने ।

त्रिविको स्ववियुले व्यापारिक कम्प्लेक्स जस्तो बनाउन नुहने र मास्टर प्लान बनाएर भवन बनाउन माग गरेको छ । ‘मास्टर प्लान छैन । बिजनेस कम्प्लेक्स जस्तो बन्न लाग्यो । संस्कृति झल्काउने भवन बनाउनुपर्छ,’ स्ववियु अध्यक्ष दीपक जोशीले भने ।

त्रिविका प्रशासनका अनुसार विद्यार्थीको लागि घण्टीघर अगाडि क्यान्टिन बनेको छ । केन्द्रीय कार्यालयमा आउने पाहुना र कर्मचारीको सहजताको लागि क्याफ्टेरिया बनाउन लागिएको हो ।

‘राम्रो सोचेर नै क्याफ्टेरिया बनाउन लागेको हो तर विद्यार्थीबाट अवरोध भइरहेको छ,’ त्रिवि प्रशासनका एक अधिकारीले भने । ८ करोड बजेटमा क्याफ्टेरिया बनाउन लागिएको हो ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?