युरोपका ४२ प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ताले सन् २०२५ मा अनलाइनमा अपमानजनक वा द्वेषपूर्ण सन्देशको सामना गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
युरोपेली संघको तथ्याङ्क एजेन्सी ‘युरोस्टेट’ ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ईयू क्षेत्रका ४२.३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले कुनै न कुनै समूह वा व्यक्तिलाई लक्षित गरी राखिएका द्वेषपूर्ण सामग्रीहरू देखेको रिपोर्ट गरेका छन् । यो प्रतिवेदन ईयूका २० सदस्य राष्ट्रहरूबाट सङ्कलन गरिएको तथ्याङ्कमा आधारित छ ।
तथ्याङ्कअनुसार हङ्गेरीमा अनलाइन दुर्व्यवहारको दर सबैभन्दा उच्च ६०.९ प्रतिशत रेकर्ड गरिएको छ भने फिनल्यान्डमा ५६.७ प्रतिशत र स्लोभाकियामा ५६.२ प्रतिशत प्रयोगकर्ताहरू यसको चपेटामा परेका छन् ।
अर्कोतर्फ, लाटभियामा सबैभन्दा कम २९.३ प्रतिशत प्रतिशत प्रयोगकर्ताले मात्र यस्ता सामग्री देखेको बताएका छन्, भने ग्रीसमा २९.४ प्रतिशत, जर्मनीमा ३३.७ प्रतिशत र लिथुआनियामा ३३.८ प्रतिशत प्रयोगकर्ताले यस्तो अनुभव गरेका छन् ।
युरोस्टेटका अनुसार राजनीतिक वा सामाजिक विचारका कारण मानिसहरू सबैभन्दा बढी अनलाइन दुर्व्यवहारको सिकार हुने गरेका छन्, जसको हिस्सा ३३.७ प्रतिशत रहेको छ ।
त्यसैगरी, जातीय वा पहिचानका आधारमा २५.५ प्रतिशत, यौनिक अभिमुखीकरणका कारण २३.४ प्रतिशत र धर्म वा आस्थाका आधारमा २२.८ प्रतिशत प्रयोगकर्ताले द्वेषपूर्ण सन्देशहरूको सामना गर्नुपरेको छ ।
लैङ्गिक आधारमा १६.९ प्रतिशत, अपाङ्गताका कारण ११.५ प्रतिशत र उमेरका आधारमा ८.८ प्रतिशत प्रयोगकर्ता अनलाइन दुर्व्यवहारको निशानामा परेको प्रतिवेदनमा उल्लेख छ ।
यो सर्वेक्षण १६ देखि ७४ वर्ष उमेर समूहका र सर्वेक्षण हुनुभन्दा तीन महिनाअघिसम्म नियमित इन्टरनेट प्रयोग गर्ने नागरिकहरूमाझ गरिएको थियो ।
प्रतिक्रिया 4